४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै कार्यशैलीले एक्लिए भट्टराई

काठमाडौं- डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराई पार्टीमा एक्लिँदै गएका छन्। अहिले  प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन्। सोमवार नयाँ शक्तिको संघीय परिषद्का करिब सय सदस्यले नयाँ शक्ति छाडी देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन्। यसैगरी आइतबार संघीय परिषद्का दुई सय ६ सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए। हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पार्टीमा प्रवेश गर्न ध्रुव्रीकरण संयोजन समिति गठन गरेका छन्।

नयाँ शक्तिमा करिब ९ सय सदस्यीय संघीय परिषद् छ।  केन्द्रीय समिति भने गत साउन १३ गतेको निर्णयबाट भंग भएको छ।  संघीय परिषद्मा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन्।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया भंग भएपछि नयाँ शक्तिमा पार्टी छाड्ने क्रम बढेको छ। नयाँ शक्तिका संयोजक भट्टराईले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्व स्वीकार गर्न नसक्ने र यादवले भट्टराईको नेतृत्व स्वीकार गर्न नसक्ने स्थिति आएपछि दुई पार्टीबीच एकता हुन सकेको थिएन। एकीकृत पार्टीको अध्यक्षमा दुई नेता राख्ने सहमति भए पनि एक नम्बरमा कसलाई राख्ने भन्ने विवाद टुंगो लाग्न नसकेपछि एकता प्रक्रिया रोकिएको थियो।

नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा र नेता रामकुमार शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यसैगरी देवेन्द्र  पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, तिलक थापालगयतका १५ नेता पनि माओवादी केन्द्रमा फर्कने तयारीमा छन्। पौडेलले माओवादी केन्द्रमा फर्कन पासाङ शेर्पाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन्। पौडेलले भट्टराईसँग संगठनात्मक व्यवस्थापनको कमजोरी र विचारमा प्रस्ट हुन नसकेको आरोप लगाएका छन्। 'उहाँ (भट्टराई)  विचारमा प्रस्ट हुन सक्नुभएन।  संगठनात्मक कार्यशैली पनि चित्त बुझेन। त्यसैले पार्टी छाड्नुपर्ने स्थिति आयो,' पौडेलले भने।

स्रोतका अनुसार नयाँ शक्तिका जिल्ला तहका नेताले पनि पार्टी छाड्ने क्रम जारी छ। पार्टी छाड्नेमध्ये अधिकांश माओवादी केन्द्रमा फर्केका छन्। केही नेता निष्त्रि्कय भएका छन् भने केही अन्य पार्टीमा प्रवेश गरेका छन्। नयाँ शक्तिका प्रभावशाली नेता महेश कोर्माचा विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा केही दिनअघि प्रवेश गरेका छन्।

नयाँ शक्तिबाट यसअघि नै मुमाराम खनाल, निर्मल भट्टराई, रामेश्वर खनाललगायतका नेताले यसअघि नै पार्टी छाडिसकेका छन्। पार्टी छाड्नेमध्ये प्रायः सबैले भट्टराईको कार्यशैली ठीक नभएको बताएका छन्। भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी नेपाल गठन गरेका थिए।

नयाँ शक्तिका नेता पर्शुराम खापुङले एउटा राजनीतिक दलमा छाड्ने र प्रवेश गर्ने क्रम जारी रहने भन्दै यसलाई स्वाभाविक मान्नुपर्ने बताए। 'पार्टीमा  छाड्ने क्रम र नयाँ  मान्छे आउने क्रम स्वाभाविक हो। यसलाई ठूलो नमानौं', उनले भने। नयाँ शक्तिमा अन्य पार्टीबाट पनि ठूलो संख्यामा मान्छे आएको बताए पनि खापुङले नाम भने दिन मानेनन्। 'नाम नभनौं तर हाम्रो पार्टीमा प्रवेश गर्ने क्रम पनि जारी छ,' उनले भने। खापुङले अब केही दिनमा संयोजक भट्टराईले नयाँ ढंगबाट केन्द्रीय समिति गठन गर्ने तयारी भएको पनि बताए।

नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने

असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ। नयाँ शक्तिका नेता खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए।

फोरम नेपालले आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि नयाँ शक्ति अप्ठेरोमा परेको थियो। यसअघिका चुनावमा नयाँ शक्तिले फोरम नेपालको चिह्न प्रयोग  गरेको थियो। निर्वाचन आयोगले नयाँ शक्तिलाई दलीय हैसियतमा चुनाव चिह्न प्रयोग गर्न दिएको छैन।

प्रकाशित: ६ भाद्र २०७४ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App