४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर मर्ने सपना छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जीवनको उत्तरार्धमा केही राम्रा कामहरु गरेर जाने र नेपाली जनताले सम्झिने गरि ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताएका छन्।

शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। ‘मेरा कामहरु आउने पिढिले याद गरुन् र अब त ढुक्कसँग मर्ने मात्रै रहर छ’ उनले भने।

प्रधानमन्त्री दाहालले सभालाई सम्बोधन गर्दै मधेस प्रदेश र कर्णाली प्रदेशमा विकाश गरिए मात्र नेपाल विकसित हुने बताए। उनले सुदूर पश्चिम र मधेसको विकासमा आफ्नो विशेष ध्यान रहेको उल्लेख गरे।

मधेस प्रदेशमा धेरै वर्ष काम गरेको र यहिका जनताको भोटबाट चुनाव जितेर प्रधानमन्त्री बनेकाले यस प्रदेशका लागी गर्न पर्ने कामको जिम्मेवारी आफूलाई जानकारी भएको उनले बताए। अहिले मधेस प्रदेशको सिँचाइको निम्ति मरिन डाइभर्सनको कार्य तीव्र गतिमा अगाडी बढाउने र चुरेको दोहन प्रक्रिया रोक्न आफू गहिरो अध्ययनमा रहेको प्रधानमन्त्री दाहालले बताए।

‘विगतमा भएको अध्ययन प्रतिवेदनको म आफै प्रतिवेदन अध्ययन गर्दैछु र तराइ मधेसलाई मरुभुमीकरण हुनबाट कसरी रोक्ने भन्ने कुरामा मेरो गम्भीर ध्यान भएको छ’ उनले भने ‘मधेसलाइ सुख्खा क्षेत्र घोषणा गरी राहत तथा क्षतिपूर्ति दिन क्याबिनेटको बैठकमा मुख्य प्रस्ताव बनाएर मुख्यसचिवलाइ दिएकै दिन मधेसमा पानी आएर अहिले बाढी आएको छ।’  

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा ठोस र उल्लेखनीय काम गरेको दाबी गरे। नेपालको शैक्षिक अवस्था सुधार गर्नका लागी अबको सरकार शिक्षा ऐनमा नयाँ ढङ्गले जाने आगामी योजना रहेको उनले बताए।

साथै नर्सिङ्ग कलेज बन्द गराउने तथा नेपाललाई केही वर्षमा नर्स विहीन बनाउनेका विरुद्ध एउटा योजना र अभियानको सुरुवात गरिने उनले बताए।

प्रधानमन्त्री दाहालले भारत भ्रमणको समयमा आफ्नो नेतृत्वको सरकारले तराई मधेसको सिमानाका समस्या समाधान गरेको, नेपालको अर्थतन्त्र सुधार गर्न भारतसँग विद्युत् व्यापार गर्ने सहमति गरिएको, जोखिम उठाएर पनि नागरिकता विधेयक ल्याइएको, मिटरब्याज पीडित, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, ललिता निवास प्रकरण लगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम गरिएको जिकिरे गरे।

उनले समृद्धिका निम्ति केही ठोस काम सुरु गरिए पनि सरकारले गरेका कामबारे भन्न मानिसहरू डराउने र जति राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको समेत बताए।  

उनले राजा महाराजा देखी थुप्रिएको फोहोर एकै पटक हटाउन नसकिने र अब समाजवादी मोर्चाको माध्यमबाट मिलेर अगाडी बढे मात्र नेपालको विकासलाई गति दिन सकिने बताए। दाहाल नेतृत्वको सरकार सिध्याउन अनेकन चलखेल सुरु भएको अहिले सुन पक्राउ बापत आफुनै दण्डित हुने अवस्था सृजना भएको उनले बताए।

देशको विकासका निम्ति मोर्चा र गठबन्धनको माध्यमबाट धेरै राम्रा कामहरु गर्न सकिने र यसलाई अगाडि लैजान सबैको सहयोग आवश्यक रहने उनको भनाइ थियो।

प्रकाशित: ८ भाद्र २०८० १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App