७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस समुदायमा नजाने

नेपाली कांग्रेसले भदौ १० गतेका लागि तय गरेको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गरेको छ। सभापति शेरबहादुर देउवानिवासमा मंगलबार पदाधिकारी बैठकले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको अभियान स्थगन गर्ने निर्णय गरेको छ। त्यसको जानकारी दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रचार समितिले पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको हो।

आन्तरिक किचलो र गुटगत विवाद तल्लो तहसम्म थिलथिलो हुँदा साउन २० देखि ३० गतेसम्मको अभियान पनि प्रभावकारी हुन नसकेपछि कांग्रेसले अभियन स्थगन गरेको निकट स्रोतको दाबी छ। तर कांग्रेस प्रचार विभागले भने अविरल वर्षा, बाढीपहिरोसहित विषयलाई देखाएको छ। ‘अविरल वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनलाई आह्वान गर्ने र भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको समुदायमा कांग्रेस कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,’ प्रचार विभागप्रमुख मीन विकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचनपछि लामो समयसम्म पार्टीका कार्यक्रम नहुँदा संगठनमा कमीकमजोरी देखिएको कांग्रेसले स्वीकार गरेको छ। यद्यपि कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको अभियानले पार्टीलाई चलायमान बनाएको दाबी गरिएको छ। औपचारिक रूपमा बोल्ने अवसर नपाएको र पार्टीबारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै उसले भनेको छ, ‘यसले पार्टी पंक्तिमा निराशा फैलिएको थियो भने यो अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको छ।’  

 

प्रकाशित: ६ भाद्र २०८० ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App