५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुर १९ : मौन अवधिमा चहलपहल

चितवन- मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार  फेरि मतदान हुँदैछ। महानगरको एउटा वडामा मात्र मतदान हुन लागेको भए पनि मतदाता  आफ्नो पक्षमा तान्न जिल्ला नेता मात्र होइन, केन्द्रीय नेता जुटेका छन्। कुल ३ हजार ७ सय ९७ मतदाता रहेको उक्त वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो।

अबको मतदानमा अधिकतम मत खसे कांग्रेस–माओवादी केन्द्र गठबन्धन पक्षधर उम्मेदवारलाई फाइदा पुग्नेछ। भरतपुरमा मेयर/उपमेयरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार छिन्। उनको प्रतिस्पर्धा एमाले उम्मेदवार देवीप्रसाद ज्ञवालीसँग छ। जित निश्चित गर्न कांग्रेस पक्षधर सबै मतदाताले दाहाललाई मत हाल्नु आवश्यक हुन्छ।

 तालमेल भए पनि दाहाललाई कांग्रेस पक्षधर धेरैले मत नहालेको अवस्था थियो। वडा नं. १९ मा यसअघि भएको मतदानमा पनि त्यो अवस्था देखिएको थियो। त्यस्तो अवस्था नदोहरियोस् भनेर माओवादी र कांग्रेसका जिल्लास्तरका नेताहरूले पनि कार्यक्रम र योजना बनाएर संयुक्त अभियान चलाएका छन्। तर, जिल्ला नेताको अभियानले मात्रै उनीहरू ढुक्क हुन नसकेको देखिएको छ।

 बुधबार नारायणगढ–मुग्लिन सडक खण्ड अनुगमनका लागि प्रधानमन्त्रीसहितको टोली चितवन आयो। सो टोलीमा कांग्रेस नेता तथा पूर्वमन्त्रीहरू प्रकासशरण महत र बालकृष्ण खाँड पनि थिए। देउवाको टोली आँपटारीबाटै हेलिकोप्टर चढेर काठमाडौं फर्कियो। तर, महत र खाँड चितवनमै रोकिए। उनीहरू वडा नं. १९ पुगेको एमालेको दाबी छ। तर, कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले भने यो कुरालाई अस्वीकार गरे।

 'उहाँहरू मतदान हुने वडामा आउनुभएको छैन। भरतपुरमै बस्नु भएको छ। भरतपुर बसाइमा चुनावी माहोलका बारेमा चासो लिने काम स्वाभाविक रूपमै हुन्छ,' श्रेष्ठले भने। उनले एमालेका केन्द्रीय नेता वडामा आएर कार्यक्रम नै गरेको आरोप लगाए।

 एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का चितवन घर भएका पार्टीका नेता तथा सांसद सुरेन्द्र पाण्डे र काशीनाथ अधिकारी वडामा आएको स्वीकार गरे पनि कुनै कार्यक्रम नगरेको बताए। 'जिल्लाकै नेता भएका कारण उहाँहरू आउनुभयो। केही बेर डुलेर फर्कनुभयो। कुनै कार्यक्रम वा भेटघाट गर्नुभएको छैन,' उनले भने।

 मतगणना चलिरहँदा जेठ १४ गते मध्यरातमा भरतपुर १९ का मतपत्रहरू च्यातिएका थिए। मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका गणना प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समातेको थियो। उनीहरुविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

 मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो। एमालेले तत्काल मतगणना गर्न अडान लिएको थियो भने माओवादी–कांग्रेस गठबन्धनले वडा नं. १९ मा फेरि चुनाव गराउन माग गरेको थियो। निर्वाचन आयोगले पनि मतदानकै निर्णय गर्‍यो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। अदालतले आइतबार निर्वाचन आयोगकै निर्णय सदर गरेपछि अढाइ महिनापछि दोहोर्‍याएर चुनाव हुन थालेको हो।

 भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मंगलबार सर्वदलीय बैठक राखेर २० गते मतदान हुने घोषणा गरेका थिए। मतदानअघि बुधबारबाटै मौन अवधि लागू हुने उनको भनाइ थियो। त्यसैले दलहरूले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक भेटघाटलाई भने तीब्र बनाएका छन्। जितका लागि आवश्यक मत नआएपछि दोहोर्‍याएर मतदान गरे धेरै मत तान्न सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेको आरोप छ। मतगणना हुँदा वडा नं. १९ मा माओवादीले सोचेजस्तो मत आएन। भरतपुरमा कांग्रेस र माओवादीबीच केन्द्रीय तहबाटै चुनावी तालमेल हुँदा जिल्लाका कार्यकर्ता रुष्ट थिए। तालमेलबाट असन्तुष्ट कांग्रेस कार्यकर्ताले दाहाललाई मत दिएनन्।

 कुल २९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाका मत गनेर नतिजा घोषणा भएको थियो। जसअनुसार मेयरमा एमालेका ज्ञवाली अगाडि थिए। उनले कुल ४० हजार ९८० मत ल्याए। दाहालले ४० हजार १९६ मत ल्याएकी थिइन्। मत गन्न १९ र २० नम्बर वडा मात्रै बाँकी थिए। यी वडा कांग्रेसका परम्परागत मतदाता धेरै छन्।

 वडा नं. १९ मा मेयरमा दाहालले राम्रो मत ल्याउने अपेक्षा थियो। दाहाल ज्ञवालीभन्दा ७८४ मतले पछाडि थिइन्। १९ को गणना सकिँदा यो अन्तर तीन सयदेखि पाँच सयसम्म भए २० नम्बरको मत गन्दा दाहालले ज्ञवालीलाई जित्ने सम्भावना प्रबल हुन्थ्यो। तर, १९ को मत गन्न थालेपछि गठबन्धनले सोचेअनुरुप भएन। दाहाललाई कम मत आउन थाल्यो।

 मतपत्र च्यातिनुअघि वडा नं. १९ का एक हजार ८०९ मत गणना भएको थियो। जसबाट ज्ञवालीको कुल मत ४१ हजार ६४१ र दाहालको मत ४० हजार ९०८ पुग्यो। दाहाल र ज्ञवालीबीच मतान्तर ७३३ मात्रै रह्यो। यो वडामा मत अनुपातका आधारमा गणना सकिँदा ज्ञवाली दाहालभन्दा ६५० मतले अगाडि हुने सम्भावना थियो। यसले गर्दा २० को गणनापछि ज्ञवालीले नै जित्ने बलियो अवस्था बन्थ्यो।

 वडा नं. १९ मा एक हजार ८०९ मत गन्दा ज्ञवालीले ६६१ मत ल्याए। दाहालको ७१२ मत आएको थियो। ज्ञवालीले योे वडाका आफ्नै पार्टीका वडाध्यक्ष उम्मेदवारभन्दा छ मत बढी ल्याए। तर, दाहालले वडाध्यक्षमा कांग्रेस उम्मेदवारभन्दा कम मत ल्याइन्। यो वडामा वडाध्यक्षमा कांग्रेसले ८१८ र माओवादीले १३५ मत ल्याए।

 अर्थात् कांग्रेस र माओवादीका वडाध्यक्षले पाएका मत ९५३ थियो। मेयरमा दाहाललाई जम्मा ७१२ मत आयो। वडा नं. १९ को गनिएको मतको ४० प्रतिशत मत उनलाई परेको थियो। ३७ प्रतिशत मत ज्ञवालीले पाए। वडामा कांग्रेस र माओवादीले पाएको मत जोड्दा गनेको मतको ५३ प्रतिशत हुन्थ्यो। अहिले हुने चुनावमा कम्तीमा ५३ प्रतिशत मत रेणुको पक्षमा पार्ने गठबन्धनको योजना छ।

 पहिलेको मतदानमा दाहाललाई मत नहालेका कांग्रेस समर्थक मतदातालाई अब उनको पक्षमा मतदान गर्न माओवादी र कांग्रेसका नेताहरू छन्। उनीहरू जेठ २० मै संयुक्त कार्यालय खोलेर चुनावी अभियान चलाएका थिए। २७ वटा वडाको मतपरिणामअनुसार ज्ञवालीको पक्षमा रहेको ७८४ को मतान्तर कम गर्न अब कांग्रेसका धेरै मतदाताले दाहाललाई मत दिनुपर्छ। यसअघिको मतदानभन्दा बढी संख्यामा मतदाताले भोट खसाए गठबन्धनलाई नै फाइदा पुग्नेछ। कम्तीमा तीन हजार मतदाताले यो पटक मतदान गरेमा र साथै पहिला कांग्रेस र माओवादीका वडाध्यक्ष उम्मेदवारले पाएको झैं ५३ प्रतिशत मत दाहालको पक्षमा परे उनको जित्ने सम्भावना कायम रहन्छ। वडामा माओवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। त्यसैले कांग्रेसले मत हाल्न यो पटक गाह्रो नमान्ने विश्वास गठबन्धनको छ।

 मतपत्र च्यातेको घटनाले माओवादीप्रति मतदाता रुष्ट भएको एमाले नेताहरू बताए। एमालेका वडाध्यक्षका उम्मेदवार प्रकाश तामाङ मतपत्र कस्ले च्यात्यो, किन च्यात्यो भन्ने विवरण मतदाताको घरघरमा पुर्‍याएकाले ज्ञवालीको पक्षमा झन् धेरै मत आउने दाबी गरे। तर, मतदानलाई लिएर कुनै पनि पक्ष ढुक्क छैन। मतदानअघिको समय मतदातासँग भेट्नमै बिताइरहेका छन्।  

प्रकाशित: १९ श्रावण २०७४ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App