१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

उदयपुर- जिल्ला समन्वय समिति ९ सदस्यीय गठन हुने भएको छ। स्थानीय तहको चुनाव सम्पन्न भएको एक महिनापछि आइतबार बसेको पहिलो जिल्लासभाको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

स्थानीय निकायहरुमध्ये गाउँ विकास समिति र नगरपालिकाभन्दा शक्तिशाली संयन्त्र र विकासे अड्डाको केन्द्रविन्दु रहँदै आएको आएको जिल्ला विकास समिति स्थानीय तह पुनर्संरचनापछि समन्वय समितिको हैसियतमा परिणत भएको हो। चुनावपछि स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुख र उपप्रमुख सदस्य रहने सभाले निर्वाचन प्रक्रिया बमोजिम समन्वय समिति गठन गर्ने प्रावधान छ।

सो प्रावधान अनुसार समन्वय समिति गठन गर्ने सभाले निर्णय गरी मुख्य निर्वाचन अधिकृतलाई कार्यतालिका बनाउने अख्तियारी दिइएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताए। उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीपछि स्थानीय तहको पुनर्संरचनासँगै गाउँपालिका, नगरपालिका, प्रदेश र संघीय संरचनालाई जिल्ला विकास समितिले समन्वय गर्नेछ। अव गठन हुने समितिले स्थानीय तह, प्रदेश प्रतिनिधिसभा र संघीय प्रतिनिधिसभाबीच समन्वय गर्दै अनुमगन, निरीक्षण र आवश्यक निर्देशन दिने कानुनी व्यवस्था गरिएको छ।

आइतबारको सभा बैठकले दिएको अख्तियारीपछि मुख्य निर्वाचन अधिकृतको कर्यालयले समिति गठनको कार्यतालिका बनाउने समितिले जनाएको छ। बैठकमा जिल्ला समन्वय समिति गठन विधिलगायत बिभिन्न विषयमा छलफल जिल्लाका ४ नगर र ४ गाउँपालिकाबाट निर्वाचित मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षको सहभागिता थियो।

संघीय नेपालको संविधान ०७२ ले स्थानीय तह, प्रदेश र संघीय संरचनाबीच समन्वयकारी भूमिका निर्वाह गर्न हरेक जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान गरेको छ। स्थानीय तहबाट निर्वाचित भएर आएका सदस्यमध्येबाट १ जना संयोजक, १ सहसंयोजक तथा बाँकी सदस्य रहने समिति गठनको व्यवस्था छ। उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तहबाट १६ जना पदाधिकारीबाट समन्वय समिति चयन हुनेछ।

८ स्थानीय तहमध्ये २ वटाबाहेक ६ तहमा नेकपा एमालेले प्रमुख उपप्रमुख जितेको छ। एमालेले ३ नगरपालिका र ३ गाउँपालिका प्रमुखसहित ११, कांगे्रसले १ नगरप्रमुख, २ नगर उपप्रमुख र १ गापा उपप्रमुख गरी ४ तथा माकेले १ गाउँपालिका प्रमुख जितेको छ। त्रियुगा नगरपालिकामा मेयर, कटारी र बेलका नगरपालिकामा मेयर र उपमेयर जितेको भने रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष एमालेको पोल्टामा गएको छ। नेपाली कांगे्रसले चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर, त्रियुगा नगरपालिकामा उपमेयर र सुनकोसी गाउँपालिका उपाध्यक्षमा जितेको छ। नेकपा माओबादी केन्द्रले सुनकोसी गाउँपालिकामा अध्यक्ष जितेको छ।

जिल्लासभाका १६ सदस्यमध्ये एमाले ११, कांग्रेसका ४ र माकेको १ सिट छ। गणितीय हिसावले हेर्दा एमालेले समन्वय समिति गठन गर्दा एक्लौटी गर्ने देखिएको छ। तर, कांग्रेस या माओबादीसँग तालमेल गरेर वा समन्वय गरेर समिति गठन गर्ने भन्ने विषयमा निश्कर्ष निकालिसकेको छैन।

एमालेले सदरमुकामस्थित त्रियुगा नगरकार्यपालिका गठन गर्दा माकेसँग तालमेल गरेको छ। त्रियुगा नगर कार्यपालिका गठन गर्दा निर्वाचित महिलामध्येबाट छान्नुपर्ने ५ र अल्पसंख्यक र दलितबाट छान्नुपर्ने ३ गरी ८ कार्यकारी सदस्य छान्दा उदारताका साथ माकेलाई ५ कार्यपालिका सदस्य दिएर आफुले ३ जना मात्र राखेको छ। जिल्ला समन्वय समिति गठन गर्दा पनि यस्तै उदारता देखाउने हो भने मिलिभगतमा गठन हुने अन्यथा एमालेले एक्लौटी समन्वय समिति बनाउने स्थानीय बताउँछन्।

एमालेले एक्लौटी समिति बनाउने हुँदा संयोजकका लागि प्रवल दावेदारका रुपमा एमालेभित्र दुईजना सदस्य देखिएका छन्। त्रियुगा नगरपालिका १३ बाट विजयी वडा सदस्य शिव रेग्मी र कटारी १ बाट वडाध्यक्ष विजयी शम्भु पोखरेललाई भावी संयोजकका रुपमा हेरिदैछ। अन्तरपार्टीबीचको समन्वय नभएमा यी दुईमध्ये १ जना संयोजक र अर्का सहसंयोजक हुने छन् भने तालमेल भएको खण्डमा २ मध्ये १ जना संयोजक हुने पार्टी पंतिभित्र छलफल चलिरहेको बताइएको छ।  

प्रकाशित: १६ श्रावण २०७४ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App