७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संशोधनबाहेक अन्य मागमा सरकार सकारात्मक

काठमाडाैँ – असोज २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहभागी गराउन सरकारले संविधान संशोधनबाहेक उसले राखेका माग पूरा गर्न प्रक्रिया थालेको छ । 

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संशोधनबाहेकका अन्य माग पूरा गर्ने काम सुरु भएको बताए । 

महान्यायाधिवक्ता रमण श्रेष्ठले सर्वोच्च अदालतको प्रक्रिया, कार्यविधिलगायतको अधीनमा रही मुद्दा फिर्ता र बन्दी रिहा गर्ने प्रक्रिया सुरु भएको बताए । ‘केही मुद्दाको टुंगो लागिसकेको छ भने केही मुद्दा फिर्ता हुने प्रक्रियामा छ,’ श्रेष्ठले भने, ‘सर्वोच्चको प्रक्रिया, कार्यविधिलगायतका अधीनमा रही मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको हो,’ उनले भने ।

सरकारले राजपाका कार्यकर्तामाथि लागेका  २ सय २ मुद्दामध्ये अदालतबाट १ सय ३० वटा मुद्दाको  टुंगो  लागेको छ । सरकारले दायर गरेका ती मुद्दामा मुछिएका २ सय ५१ जनाले सफाइ पाएका छन् । उनीहरूले सफाइ पाए पनि अदालतले ७३ हजार रुपैयाँ जरिबाना तोकेको छ । जरिबाना पनि सरकारले तिरिदिने वचन दिएको राजपा नेताले बताएका छन् । बाँकी ७३ मध्ये ५२ मुद्दाका अभियुक्त फरार रहेको सूची सरकारले राजपालाई बुझाएको छ । 

‘केही मुद्दाको टुंगो लागिसकेको छ भने केही मुद्दा फिर्ता हुने प्रक्रियामा छ । सर्वोच्चको प्रक्रिया, कार्यविधिलगायतका अधीनमा रही मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको हो ।’ 
—रमण श्रेष्ठ, महान्यायाधिवक्ता

गृह मन्त्रालयका अनुसार ती मुद्दामा मुछिएका राजपाका २ सय ७२ कार्यकर्ता फरार छन् । ५२ थान मुद्दामध्ये २० थान सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट फिर्ता लिने प्रक्रिया सुरु गरेको राजपाका नेताहरूले जनाएका छन् । 

अभियुक्त फरार रहेको मुद्दा फिर्ता लिन फरार रहेको भनिएका अभियुक्त जिल्ला प्रशासन कार्यालय वा अदालतमा हाजिर हुनुपर्ने कानुनी बाध्यता छ । फरार अभियुक्तलाई जिल्ला प्रशासन कार्यालय अथवा जिल्ला अदालतमा हाजिर गराई मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको सरकारी पक्षको भनाइ छ ।

राजपा स्रोतका अनुसार सरकारले २०७२ सालमा भएको टीकापुर घटना र महोत्तरीमा सई थमन विकको हत्या घटनाको मुद्दा तत्काल फिर्ता नलिने भएको छ । यी दुई घटना गम्भीर प्रकृतिका भएकाले विशेष निर्णय गरेर मात्र फिर्ता लिने सरकारी तयारी छ । राजपाले भने टीकापुर घटना र थमन हत्या घटनाको मुद्दा सँगसँगै फिर्ता लिनुपर्ने अडान राखेको छ ।

सरकारले टीकापुर घटनामा मुछिएका रेशम चौधरीलाई क्षतिपूर्ति दिने निर्णय केही दिनअघि गरे पनि मुद्दा फिर्ता लिन मानेको छैन । टीकापुर घटनामा २२ जना पक्राउ परेका छन् भने ५८ जनामाथि मुद्दा लगाइएको छ । यसैगरी थमन हत्या आरोपमा २२ जना पक्राउ परेका छन् ।

फरार सूचीमा केन्द्रीय नेता
टीकापुर घटना र थमन हत्या आरोपम लागेका राजपाका केही केन्द्रीय नेताहरू फरार सूचीमा रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।  यसैगरी अन्य केही मुद्दामा पनि राजपाका जिल्ला तहका नेताहरू फरार छन् । फोरम नेपालका नेता कौशल यादव, राजपाका नेता रेशम चौधरी, महोत्तरी राजपा अध्यक्ष अभिराम शर्मा, देवेन्द्र यादवलगायत फरार सूचीमा रहेको स्रोतले जनाएको छ । 

मधेस आन्दोलनका क्रममा सरकारले राजपाका कार्यकर्तालाई कर्तव्य ज्यान, आगजनी, डाँका, लुटपाट, चोरी, सार्वजनिक अपराध, प्राचीन स्मारक तोडफोडलगायतका मुद्दा लगाएको थियो ।

राजपाले  करिब एक सयजना कार्यकर्ता बन्दी रहेको सूची गृह मन्त्रालयमा बुझाएको छ । बन्दीको रिहाइ प्रक्रिया सुरु भएको  मन्त्रालयले जनाएको छ । 

यसैगरी सरकारले मधेस आन्दोलनका क्रममा गम्भीर घाइते भएका ४३ जनालाई जीवनभर भरणपोषण गर्ने प्रतिबद्धता जनाएको छ । 

थप ९ जना सहिद 
राजपाले बुझाएका १२ मध्ये ९ जनालाई सरकारले सहिद घोषणा गरेको छ । राजपा नेता केशव झाले गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजपाले बुझाएको १२ जनाको सूचीमध्ये ९ जनालाई सहिद घोषणा गरेको जानकारी आएको बताए । ‘सरकारले ९ जनालाई सहिद घोषणा गरिसकेको छ । अन्य ४ जनालाई  सहिद घोषणा गर्न बाँकी छ,’ झाले भने । राजपाले सप्तरीका जितेन्द्रनारायण यादवलाई पनि सहिद घोषणा गर्न सरकारसमक्ष सूची बुझाएको छ । 

राजपा नेता झाले मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा तथा क्षतिपूर्ति दिने सहमति कार्यान्वयन गरेमा संशोधन नभए पनि आफूहरू  चुनावमा जाने बलियो सम्भावना रहेको बताए । 

प्रकाशित: १५ श्रावण २०७४ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App