३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

इराकको भिसा पनि नक्कली

काठमाडौं- वैदेशिक रोजगारीको आवरणमा खाडी मुलुकमा मानव तस्करी गर्ने समूह पक्राउ परिरहे पनि उनीहरूको सक्रियता घटेको छैन। रोजगारीको प्रलोभनमा अवैध रुपमा कुबेत, दुबई पुगेर अलपत्र परेपछि उद्धारका लागि प्रहरीको सम्पर्कमा आउनेको संख्या उस्तै छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा हरेक वर्ष आर्थिक अपराधको संख्या बढ्दो छ। आर्थिक वर्ष २०७३/०७४ मा आर्थिक अपराधसम्बन्धी करिब ४ सय घटना प्रहरीसमक्ष पुगेका थिए। ठगिएको रकमको बिगो अर्ब टेक्छ। यसमा अधिकांश वैदेशिक रोजगार ठगीका घटना छन्।

वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदार्ता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय।

ठगीमा सक्रिय समूहले युरोपको सपना देखाएर नक्कली भिसामा इराकसमेत पुर्‍याउने गरेको खुलेको छ। पछिल्लो समय युरोप र अमेरिकाको सपना देखाएर ठगी गर्ने थप सक्रिय देखिएका छन्।

यस्तो ठगीमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदार्ता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय देखिएका छन्।

युरोप, अमेरिका पठाउने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले विद्यार्थी राजनीतिमा सक्रिय ऋषिकेजजंग शाह, ट्राभल्स सञ्चालक जयप्रकाश बुढामगर, अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव लोकबहादुर शाही, शैक्षिक परामर्शदाता विदुरकुमार अर्याललाई पक्राउ गरिसकेको छ।

जापानमा आकर्षक रोजगारी लगाइदिने प्रलोभनमा २३ जनासँग २ करोड ठगी गरेको अभियोग लागेका गोविन्दप्रसाद तिवारीलाई जापानबाट नेपाल ल्याउने प्रयासमा प्रहरी सक्रिय छ।

महानगरीय प्रहरी अपराध महाशाखाको रेकर्ड अनुसार वैशाखयता पोर्चुगल, क्यानडा, अस्ट्रेलिया, अमेरिका र जापान पठाउने प्रलोभन दिएर ठगी गरेका उजुरी आउनेक्रम बढेको छ।

यस्तो ठगीमा वैदेशिक रोजगारीमा पठाउने अनुमति नै नलिएको समूहको संख्या बढेको वैदेशिक रोजगार ठगीसम्बन्धी अनुसन्धानमा संलग्न महाशाखाका एसपी श्याम ज्ञवालीले बताए।

पोर्चुगल देखाएर इराक

महाशाखाले बिहीबार पोर्चुगल पठाउँछु भनेर इराक पठाउन सक्रिय ट्राभल्स एजेन्सीका सञ्चालक बुढामगरलाई पक्राउ गर्‍यो। उनले पोर्चुगलको आस देखाएर नक्कली भिसामा इराक पठाएको खुलेपछि महाशाखाले पक्राउ गरेको हो।

पक्राउ परेका बुढामगर गोंगबुमा रहेको गामा ट्राभल्स एन्ड टुर्सका सञ्चालक हुन्। पोर्चुगलको लोभ देखाएर दुबई पुर्‍याएर त्यहाँबाट नक्कली भिसामा इराक पठाउँदा पक्राउ परी नेपाल डिर्पोट भएकाहरूको सूचना आधारमा उनी पक्राउ परेका हुन्।

वैदेशिक रोजगारीमा पठाउने अनुमति नपाए पनि उनले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएर मासिक ८० हजार रुपैयाँ आम्दानी हुने लोभ देखाएर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेकााई ठगी गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए।

उनले नेपालबाट भारत हुँदै दुबई पुर्‍याएर त्यहाँबाट इराक पठाउने गरेका थिए। अहिले प्रहरीको सम्पर्कमा एक पीडित आएका छन्। बुढामगरबाट ठगिनेको संख्या धेरै भएको अमात्यले बताए।

कहिले खेलाडी, कहिले इन्टर्नसिप

प्रहरीले असारमा एन्फाका पूर्वमहासचिव शाहीलाई खेलाडीका नाममा क्यानडा पठाउँछु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरेको थियो। क्यानडामा हुने फुटबल खेलमा स्पोर्टस फर अल क्लबको नाममा पठाउने प्रलोभनमा पारेर १९ लाख ठगी भएको उजुरीको आधारमा उनी पक्राउ परेका थिए।

असारमै अमेरिका र जापान पठाउने आवरणमा एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कांग्रेस महासमिति सदस्य समेत रहेका  शाह पक्राउ परेका थिए। असार २६ मा महाशाखाले शाहसहित चारजनालाई पक्राउ गरेको थियो।

प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको थियो। प्रारम्भमा शाह आफैं पीडित बनेर प्रहरीको सम्पर्कमा पुगेका थिए। अनुसन्धानमा ठगीमा शाह नै संलग्न देखिएपछि उनी आफैं प्रहरी हिरासतमा पुगेका थिए।

लोभ नै कारक

ठगिए भन्दै  प्रहरीको सम्पर्कमा पुगेकाहरू नै प्रारम्भमा जोखिम उठाउन तयार रहेको अनुभवी प्रहरी अधिकारीले बताए। मौखिम आश्वासन भरमा कानुनी प्रक्रिया पूरा नगरी नगद कारोबार गर्ने, युरोप, अमेरिका, जापानलगायत देश पठाइदिने आश्वासन पाएकै भरमा वैधानिकता जाँचै नगरी जस्तोसुकै बाटो हुँदै जान तयार हुने मानसिकताका कारण धेरै ठगिने गरेको वैदेशिक रोजगारीमा हुने ठगी अनुसन्धानमा संलग्न एसपी ज्ञवालीले बताए।

प्रकाशित: १३ श्रावण २०७४ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App