११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रीमण्डल विस्तार, राज्यमन्त्रीमा गयानन्द मण्डल थपिए

कोशी प्रदेशका नवनियुक्त उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। बुधबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रीमण्डललाई विस्तार गर्दै नेपाली काँग्रेसका मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले मण्डललाई पद तथा गोपनीयताको सपथग्रहण गराए। यसअघि मुख्यमन्त्री थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।

काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिचाइँ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।

मन्त्रीमण्डल विस्तारपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकार दलहरुसँगको सहमतिबाट बजेट ल्याउनेतर्फ केन्द्रीत भएको बताए। अब बस्ने प्रदेशसभा बैठकमा बजेटलाई ल्याएर पास गराउनेतर्फ सरकारले ध्यान केन्द्रीत गरेका छ।  

सरकारको प्राथमिकतामा रहेको बजेटलाई प्रतिपक्ष दलहरुसँग छलफल भइरहेको र उनीहरुसँग सहमति गर्दै बजेट पास गराउने बताउँदै, मुख्यमन्त्री थापाले भने, ‘प्रदेशमा बजेट होलिडेजको अवस्था आउन नदिन भदौ १ गते बस्ने प्रदेशसभा बैठकबाट बजेट पास गर्दै कार्यान्वयन गर्न गम्भीरतापूर्वक लगेका छौं। अध्यादेशबाट आएको बजेट होल्डमा छ । बजेट होलिडेज भयो भने सबैभन्दा दुर्भाग्य हुनेछ।’

सरकार बजेट सहमतिमै ल्याउने तयारीमा रहेको छ। भदौ १० गतेभित्र सरकारले बजेट पास गर्दै कार्यान्वयनमा ल्याउने छ। सरकारले उपयुक्त समय हेरेर विश्वासको मत लिने मुख्यमन्त्री थापाले बताए।  

प्रकाशित: ३१ श्रावण २०८० ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App