१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालय अनभिज्ञ

काठमाडौं- राजधानीस्थित सडकका खाल्डा पुर्ने कार्यमा भइरहेको कार्यप्रगतिबारे प्रधानमन्त्री कार्यालय अनभिज्ञ रहेको छ। जिम्मेवारी पाएका निकायले कामको प्रगति विवरण बुझाए पनि प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू अनुगमनमा नजाँदा कार्यप्रगतिको यथार्थ जानकारी आउन नसकेको हो।

जिम्मेवारी पाएका निकायले सडकका खाल्डा पुर्ने, खानेपानीका पाइप राख्ने, सडक विस्तार कार्य सक्ने, खतराजन्य ठाउँ हटाउनेलगायत काम गर्नुपर्थ्यो।

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले जिम्मेवारी पाएका सचिवलाई लिएर बुधबार खाल्डा अनुगमन गर्न जाने बताएका थिए।

'मन्त्रिपरिषद् विस्तारमा शपथ ग्रहण कार्यक्रममा उपस्थित हुनुपरेकाले सडकका खाल्डा अवलोकनमा जान सकेनौं,' घिमिरेले भने, 'हामीलाई धेरैजसो सचिवले मुख्य ठाउँमा खाल्डा पुर्‍यौं भनेर रिपोर्ट पठाउनुभएको छ, तर स्थलगत अवलोकनबिना यतिनै काम सकियो भनेर पत्याउन सकिन्न।'

समस्या ज्युँका त्युँ

पैदल यात्रु र सवारीको दोहोरो लर्को चलिरहेको छ। खाल्डाखुल्डी सडकमा सवारी बिस्तारै गुड्दैछन्। पैदलयात्रु सडक छिचोल्न सडक किनारमा लामबद्ध छन्। चारैतिर सवारी मोडिने सडकको बीचमा धुलाम्मे ट्राफिक प्रहरी सिटी फुक्दैछन्। केही ट्राफिक प्रहरी सवारी र पैदल यात्रुलाई सडक पार गराउँदै थिए। बुधबार दिउँसो काठमाडौंको महाराजगन्ज चोकमा देखिएको दृश्य हो यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ११ दिन बित्यो। निर्देशनको समयसीमा सकिन अब चार दिन मात्रै बाँकी छ। तर, सडकको समस्या भने ज्युँका त्यँु छ।

प्रधानमन्त्रीको निजी निवासमा ओहोरदोहोर गर्ने महाराजगन्ज–बूढानीलकण्ठ सडकका खाल्डा जस्ताको तस्तै छन्। खाल्डा पुर्दा रोलर प्रयोग नगरिएकाले ग्राभेल उप्किएर सवारी आवागमनमा झनै समस्या भएको छ। 'सडकका खाल्डा पुरिएको भए हामीलाई सवारी व्यवस्थापन गर्न कठिन हुँदैनथ्यो होला,' बुधबार महाराजगन्ज चोकमा खटिएका ट्राफिक प्रहरी टीकाबहादुर बस्नेतले नागरिकसँग भने, 'प्रधानमन्त्रीले खाल्डा पुर्न निर्देशन दिनुभएको छ भन्ने त सुनेका थियौं, तर त्यसको प्रभाव सडकमा देखिन्न।' उनले खाल्डा पुर्दा हेलचेक्र्याइँ गरेकाले पुरेको भोलिपल्टै खाल्डा उप्किएको बताए। 'खाल्डाखुल्डीकै कारण सवारीसाधनको गति कम हुन्छ, सवारीको गति कम हुनासाथ जाम बढ्न थाल्छ,' उनले भने।

जिम्मेवारी पाएका सचिवहरूले निरन्तर काममा नखटिँदा बितेका ११ दिनमा खासै काम देखिएको छैन। मुख्य सडक खण्डमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो 'झारा टार्ने' शैलीको देखिन्छ।

जिम्मा पाएका निकायले बुधबारसम्म गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर, त्रिपुरेश्वर–थापाथली—माइतीघर, महाराजगन्ज–कलंकी, गौशाला–चाबहिल, लैनचौर–लाजिम्पाट, महारागन्ज–बाँसबारी, चाबहिल–धोबीखोला, थापाथली–मैतीदेवी, महाराजगन्ज–बसुन्धारा, जमलचोक–रत्नपार्क, बालाजुलगायत ठाउँका खाल्डा पुरेको बताए तापनि यी ठाउँमा फेरि खाल्डा बनिसकेका छन्।

केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध, महाराजगन्ज–बूढानीलकण्ठ, तीनकुने–बानेश्वर, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–गोपीकृष्ण, तीनकुने–कोटेश्वर, हात्तीसार–गौशाला, रातोपुल–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगातय सडकका खाल्डा पुरिएको छैन। प्रहरीका अनुसार उपत्यकाभित्र सबैभन्दा ठूला खाल्डा यिनै सडकखण्डमा छन्। 'मुख्य सडककै खाल्डा पुरिएको छैन,' चाबहिल चोकमा खटिएका ट्राफिक प्रहरी हबल्दार मनोजकुमार चौधरीले भने, 'खाल्डाखुल्डीकै कारण अहिले ट्राफिक व्यवस्थापनमा सास्ती परेको छ।'

मुख्य सडकका खाल्डा नपुरिएका कारण निर्देशनको समयसीमाभित्रै सडकका खाल्डा पुरेर नसकिने देखिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले कार्यालयको कामले गर्दा सडकका खाल्डा अवलोकन गर्न नपाएको बताए। उनले जिम्मा पाएका सचिवले मंगलबारसम्म ६० प्रतिशतमात्रै काम सकेको रिपोर्ट बुझाएको जानकारी दिए। उनका अनुसार जिम्मेवार पाएका निकायले सडकका खाल्डा पुर्ने, खानेपानीका पाइप राख्ने, सडक विस्तार कार्य सक्ने, खतराजन्य ठाउँ हटाउने लगायत काम गर्नुपर्थ्याे। तर धेरैजसो ठाउँमा यसरी काम भएको देखिँदैन।

प्रधानमन्त्री देउवाको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम सुरु भएको थियो।

स्थानीय विकास सचिव थपलियाले मुख्य सडकका खाल्डा पुरेर सकिन लागेको दाबी गरे। उनले भने, 'वर्षाका कारण हामीलाई काम गर्न कठिन परेको छ, सकेसम्म मुख्य खाल्डा पुरेर सक्छौं।'

प्रकाशित: १२ श्रावण २०७४ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App