२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रिय समितिमा उठ्यो उपाध्यक्ष महरामाथि छानबिन हुनपर्ने माग

फाइल तस्बिर

नेकपा (माओवादी–केन्द्र)को केन्द्रीय समिति बैठकको तेस्रो दिन शुक्रबार पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरामाथि सुन प्रकरणमा छानबिन हुनुपर्ने माग उठेको छ।

बैठकमा उपस्थित एक केन्द्रीय सदस्यका अनुसार नेता महराको नाम सुन प्रकरणमा मुछिएकाले बैठकमा उपस्थित केही सदस्यले छानबिन हुनुपर्ने माग राखेका हुन्।

बैठकमा उपस्थित ती सदस्यले भने, ‘सुशासन कायम गर्न पार्टीभित्रै समस्या छन् भने पनि त्यसमा नी निर्मम भएर जानुपर्ने कुराहरु कमरेडहरुले उठाउनु भएको छ। त्यहि क्रममा उहाँ (महरा)माथि पनि छानबिन हुनुपर्ने कुराहरु उठाउनु भएको हो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्।

ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर)बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ। 

यता महराले भने सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन्। महराले चिनियाँसँग आफूले फोन नगरेको र  उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्। उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: १९ श्रावण २०८० १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App