९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

क्विन्टल सुनमा राजनीतिक साइनो !

तस्बीरः सामाजिक संजाल

नेपाल प्रहरीको विशेष निगरानीमा रहेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेसँगै अनुसन्धानको सुई राजनीतितिर सोझिएको छ। दोहोरो नागरिकता र राहदानीको विषयमा अनुसन्धान भइरहेको बेला राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट आइतबार बिहान पक्राउ परेका छिरिङको विगतको सम्पर्क सत्तारूढ माओवादी केन्द्र र प्रशासनिक व्यक्तिहरूसँग देखिएसँगै अनुसन्धानको सुई राजनीतितिर ढल्किएको हो।

अहिलेको सुन तस्करी काण्डमा छिरिङको कहीँ न कहीँ संलग्नता जोडिएको केही ‘क्लु’फेला परेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। ‘उनीसँग नेपाली नागरिकता पनि भएको सुन्नमा आएको छ। प्रहरीले उनीमाथि निगरानी पनि गरिरहेको रहेछ,’उनले भने। छिरिङको राजनीतिक कनेक्सनबारे भने उनले अनुसन्धान चलिरहेको भन्दै केही बताउन चाहेनन्। ‘भर्खरै पक्राउ परेका छन् अनुसन्धान हुँदैछ,’ उनले भने।

दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको छ। अहिलेको सुन प्रकरणमा उनी माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क भएनभएको विषयमा अनुसन्धान हुँदैछ। विगतमा दावाको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ। उनीहरूसँग के कति कारणले दावाको सम्पर्क भयो भन्नेबारे केही खुलेको छैन। तर दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ।

विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई पक्रेको हो। ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार बिहान छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको छ। विगतमा उनको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग देखिएको छ।

होटल प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारे पनि दावा मात्र पक्राउ परे। नेपालबाट बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई भिजिट भिसामा उनी नेपाल आएका थिए। विभागका अनुसार उनीसँग नेपाली नागरिकता पनि रहेको खुलेको छ। उनले नागरिकता लिएको एक महिनापछि नै पासपोर्टसमेत लिएको स्रोतको भनाइ छ। स्रोतका अनुसार राजनीतिक र प्रशासनिक संरक्षणमा दावाले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको र त्यसमा भने उनको नाम निमा तामाङ राखिएको स्रोतले जनाएको छ।

विभागले आइतबार बिहान छापा मारेर उनलाई पक्राउ गरेको भियनाबाटै चिनियाँ गिरोहले आपराधिक कर्म गरेको भन्दै गत वर्ष चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। २०७९ साउन ११ गते पनि प्रहरीले यस होटलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए। त्यतिबेला नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने कार्य र ‘लोन’ (ऋण) एपमार्फत अवैध असुली गरेको भन्दै प्रहरीले चिनियाँ गिरोहका संलग्नलाई पक्राउ गरेको थियो। दावाको अपराध भने २०७६ सालमै खुलेको थियो तर पक्राउ पर्न सकेका थिएनन्।

प्रहरीले काठमाडौंबाट १२२ चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनीमार्फत सुरक्षा निकायले सूचना चुहिएपछि अन्य चिनियाँ फरार रहेको आरोप लागेको थियो। उनी त्यतिबेला पनि नेपाल छाडेर भागेका थिए। त्यतिबेला पनि माओवादी केन्द्रका नेताहरूसँगको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान अघि नबढी टुंगिएको थियो। अहिले पनि उनी पक्राउ पर्दा माओवादी केन्द्रका नेताहरूको कनेक्सन देखिए अनुसन्धान अघि बढ्ला कि नबढ्ला भन्ने आशंका बढेको छ।

ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए। 

दावाले रोल्पा थवाङकी अमला रोकासँग सम्पर्क–सम्बन्ध अघि बढाएसँगै माओवादी नेताहरूसँग सम्बन्ध बढाएर अपराध कर्ममा संलग्न रहेको स्रोतको दाबी छ। २०७४ सालअघिसम्म माओवादी केन्द्रको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष रहँदा रोल्पाको थवाङकी अमला रोका व्यापार गर्ने क्रममा दावासँग नजिकिएकी थिइन्। फाट्टफुट्ट जडीबुटी व्यापार गर्ने क्रममा ठमेलको व्यापारिक वृत्तमा अमलाको चिनजान दावासँग भएको थियो। अमलासँग निकटता बढेसँगै दावा माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा पुगेको जानकारहरूको दाबी छ।

केही दिनअघि चिनियाँ नागरिक दाओजिन वाङले ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा प्रयोग गरेको समाचार सेलाउन नपाउँदै माओवादी नेताहरूको सम्पर्कमा रहेका दावा पक्राउ पर्नुलाई संयोग मात्र मान्न नहुने अपराध अनुसन्धान संलग्न अधिकारीहरूको दाबी छ। संगठित अपराधको अनुसन्धानमा संलग्न विज्ञहरूले सय किलो सुनमा यदि राजनीतिक कनेक्सन देखिए यत्तिकै सेलाउन सक्ने आशंका पनि गरेका छन्। प्रहरीको प्रतिवेदनमा उल्लेख भएका व्यक्तिलाई बयानसमेत नलिएको अवस्थामा सय किलो सुनको अनुसन्धान राजनीतिक कनेक्सनले कमजोर बनाउन सक्ने सम्भावना रहेको आशंका गर्न थालिएको छ।

प्रकाशित: १५ श्रावण २०८० ००:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App