१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयोः मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन्। 

आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्।  

उनले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावणीय प्रभावले पानीका मुहानहरु सुक्ने भएकाले प्राप्त खानेपानी वितरणमा चुनौति थपिएको बताए। खानेपानीमा थपिएको समस्या दीर्घकालिन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उनले उल्लेख गरे। मन्त्री यादवले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालिन रुपमा समाधान गर्ने उपायको खोजिमा सरकार लागेको बताए। 

उनले खानोपानी,वन ,भौतिक र सिंचाई मन्त्रालय सहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालिन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए। उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताए। तत्काल पानीको मुललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए। 

उनले भने, ‘खानेपानीलाई संविधानले मौलिक हकका रुपमा दिएको अधिकार हो। तर अहिले देशमा र विश्वव्यापी रुपमा वातावरणीय र जलवायु प्रदुषणको कारणले नेपाल पानीको धनी देश भएता पनि खानेपानीमा जटिलताहरु देखिन थालेका छन्। यो जटिलताहरुलाई दीर्घकालिन रुपमा समाधान गर्ने सोच्न सकेनौं भने अहिलेकै अवस्थामा समस्या हल गर्न सक्दैनौं। तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालिन रुपमा कसरी साधन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले गम्भिरताका साथ चासो राखेको छ। यसलाई खानोपानी,वन ,भौतिक र सिंचाई मन्त्रालयको समिति बनाउँछौं। राष्ट्रिय समस्या भएको कारण राष्ट्रिय एउटा कमिटी बनाएर पहिचान गर्ने र यसको दीर्घकालिन समस्या समाधान गर्ने मुख्य उद्देश्य रहेको छ। बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान भइरहेको छ। तत्काल पानीको मुललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा दुई क्षेत्रको अवस्था छ। त्यहाँ सरकारले अहिले नै ध्यान दिन सकेनौं भने पानीको खर्च व्यवस्थित बनाउनु पर्छ। आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परा छ। सुकेको मुललाई तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु महत्वपूर्ण छ। त्यस्तो भए मात्रै नियन्त्रण गर्न सकिन्छ । तराई मधेसमा पानीको सतह कम हुनु भनेको चुरेको विनाश हो।’

प्रकाशित: १४ श्रावण २०८० १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App