१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

टिकट हत्याउन दल अदलबदल

लहान- एमालेबाट लहान नगरपालिकाको मेयर उम्मेदवार बनेका रामनारायण साह (मुनी) ले केही समय माओवादी केन्द्रको राजनीति गरे। सोही पार्टीबाट उनले दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ मा चुनाव लडे। चुनावमा उनी पराजित भए, कारण त्यतिबेला उक्त क्षेत्रमा माओवादी संगठन बलियो थिएन।

‘नवप्रवेशीलाई टिकट दिए पुराना क्याडर बिच्किने, पुरानालाई दिए नवप्रवेशी फेरि पुरानै ठाउँमा फर्कने डर।'

साह यसपालिको स्थानीय तह चुनावको मुखमा एमालेमा प्रवेश गरे। पार्टीले उनलाई लहान नगरपालिकाको मेयर उम्मेदवार बनाएको छ। यसअघि उनी २०५४ सालमा एमालेबाट लहानको मेयरमा विजयी भएका थिए। त्यसअघि २०४९ सालमा उनी मेयर पदमा स्वतन्त्र उम्मेदवार बने। त्यतिबेला उनी पराजित भएका थिए।

उनलाई पार्टीमा भिœयाउन संघीय समाजवादी फोरम नेपालले सक्दो प्रयास गर्‍यो। तर, उनी पुरानै घर फर्किने भन्दै एमाले प्रवेश गर्ने निर्णय लिए।

साहले भने, 'बीच बाटो बिराएर कताकता पुगेको थिएँ, अब पुरानै घर(एमाले) मा फर्कंदा खुसी भएको छु।'

बलियो संगठनको लाभ लिएर मेयरमा जित हासिल गर्न उनी एमाले प्रवेश गरेको उनका निकटस्थ बताउँछन्।

 लहान १० का विनोद बिसुन्केले लामो समय माओवादी केन्द्रको राजनीति गरे। स्थानीय तह निर्वाचनमा उनको राजनीतिक परिचय बदलिएको छ। उनी नेपाली कांगे्रसबाट लहान नगरपालिका वडा नम्बर १० को अध्यक्ष उम्मेदवार बनेका छन्। पुराना क्याडरलाई पन्छाएर नवप्रवेशीलाई टिकट दिएको झोकमा कांगे्रस लहान नगर समितिका सचिव कृष्णहरि गैरे एक सय २० जना कार्यकर्ता लिएर एमालेमा प्रवेश गरेका छन्।

 सिरहा नगरपालिकामा एमालेबाट मेयर उम्मेदवार बनेका डा. नवीन यादव भर्खरै राजनीतिक परिचय बदलेका उम्मेदवार हुन्। उनले यसअघि विजय गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरममा राजनीति गरेका थिए।

 सिरहा लक्ष्मीपुरपतार गाउँपालिका पोखरभिण्डाका चतुरानन्द ठाकुर लामो समय राप्रपा र एमालेको राजनीतिमा सक्रिय रहे। स्थानीय तह चुनावको मुखमा उनी कांग्रेसबाट अध्यक्षका प्रत्यासी छन्। पदकै लागि उनी चुनावको मुखमा एमालेबाट कांग्रेसमा प्रवेश गरेको कांगे्रसका पुराना कार्यकर्ता बताउँछन्।

 चुनावको मुखमा पदका लागि राजनीतिक परिचय बदलेका उम्मेदवार भन्छन्, ‘राजनीतिमा सबै कुरा जायज हुन्छन्।'

कांग्रेसबाट लक्ष्मीपुरपतार गाउँपालिका अध्यक्षको प्रत्यासी बनेर ठाकुरले सबैलाई छक्क पारिदिएका छन्। कुनै समय कांग्रेसको नाम सुन्नसम्म नचाहने उनी सोही पार्टीमा प्रवेश गरेपछि आश्चर्य लागेको स्थानीय राजेन्द्रप्रसाद यादवले बताए।

धनगढीमाई नगरपालिकाका जोगी साह कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। लामो समय कांग्रेसमा दुःख गरेर उनले यस क्षेत्रमा नेताकै हैसियत बनाएका थिए। उनी कांग्रेसमै हुँदा गाविस अध्यक्ष पनि जिते। यसपालिको चुनावको अन्तिम घडीमा उनले राजनीतिक परिचय बदले। कांग्रेसबाट उक्त नगरपालिकाको मेयरमा उनको दाबी अस्वीकार भएपछि उनी संघीय समाजवादी फोरममा छिरे। उनलाई फोरमले मेयर उम्मेदवार बनाउने चर्चा छ। फोरमले उम्मेदवार भने टुंगो लगाउन सकेको छैन।

राजनीतिक परिचय बदल्ने क्रममा एमालेका नेता देवु यादव पनि अगाडि देखिएका छन्। उनी फोरमबाट सखुवाननकारकट्टी गाउँपालिका अध्यक्षका प्रत्यासी छन्।

कांग्रेस र एमालेबाट फोरममा प्रवेश गरेका अधिकांशको लालसा स्थानीय तहमा उम्मेदवार बन्ने देखिन्छ। फोरमका एक केन्द्रीय सदस्यले नागरिकसँग भने, ‘नवप्रवेशीले टिकट दिए पुराना क्याडर बिच्किने, पुरानालाई दिए नवप्रवेशी फेरि पुरानै ठाउँमा फर्किने डर छ।'

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न विभिन्न दलका कार्यकर्ताले राजनीतिक परिचय बदलेका छन्। मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी केन्द्रमा आउने र जाने उम्मेदवारको बाहुल्य छ।

प्रकाशित: १ असार २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App