४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा

रौतहट— राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेपछि मतदाता झनै अन्यौलमा परेका छन्। एकातिर संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नयाँ शक्ति लगायतका मधेसवादी दलहरुले जसरी चुनावलाई सफल बनाउनेतिर कार्यक्रमलाई अगाडि बढाएका छन्। छवटा पार्टी मिलेर बनेको राजपा नेपालले निर्वाचनलाई बिथाल्ने गरी कडा संघर्षको कार्यक्रम घोषणा गरेपछि मधेसवादी दलकै कार्यकर्ताबीच झडप हुने स्थिति बनेको छ। 

एकातिर चुनाबमा सहभागी हुने दलका कार्यकर्ताबीच टिकट पाउन मारामारको अवस्था छ। राजपाका कार्यकर्ताले पनि आन्तरिक रुपमा टिकटको छिनोफानो गर्दै गर्दा संघर्षको कार्यक्रम घोषणा भएपछि केही कार्यकर्ता अलमलमा परेका छन्। उम्मेदवारले मनोनयन दर्ता गर्ने समय एक हप्ताभन्दा पनि कम बाँकी रहँदा राजपाले आइतबार आन्दोलन कार्यक्रम घोषणा गरेको थियो।

एमाले, काँग्रेस, माओवादी केन्द्र, फोरम नेपाल, फोरम लोकतान्त्रिक, नयाँ शक्तिसहितका पार्टीले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौट गर्न दिनरात बैठक गरिरहेका छन्। उम्मेदवार बन्ने चाहना अत्यधिक नेता कार्यकर्ताले राख्न थालेपछि टिकट वितरणका लागि निर्णय गरिहाल्न हम्मेहम्मे परेको छ।

आइतवार एक्कासि राजपाले कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेपछि मतदातालाई अन्यौलमा पारेको नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले बताए। ‘एकातिर टिकटको लागि मारामार हुने अवस्था छ। अर्कोंतिर सडक आन्दोलनको घोषणाले सडकमै मधेसी मधेसीबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ’, उनी भन्छन्।

बिगतमा लगातार छ महिनासम्म मधेस आन्दोलनमा सहभागी भएका दलहरु निर्वाचनको मुखमा आएर दुई चिरामा विभक्त भएका हुन्।

कुर्सीको लागि मात्र मधेस आन्दोलनको कुरो दलहरुले गर्ने गरेको आरोप पूर्व प्राचार्य शिवचन्द्र साहले लगाएका छन्। मधेसीलाई अधिकार दिलाउनेभन्दा नेताहरु कुर्सीमै केन्द्रित भएको एकथरिले बताइरहेको र अर्कोथरिले आफूलाई क्रान्तिकारी देखाउने दाउ गरेर जनतालाई  अन्यौलमा राख्ने काम गरेको साहको विश्लेषण छ।

चुनावको समयमा मुठभेड हुने डरले मधेसका जनतालाई चिन्तित तुल्याएको नागरिक समाजका झा बताउँछन्।

प्रकाशित: २८ जेष्ठ २०७४ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App