४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल भन्छन्: सीताले मृत्यु पनि निकै शान्त रोजिन्

प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए।

दाहालले भने,'पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्‍यौँ। शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिनै रहिन्। र, त्यो पीडाको सामना गरिरहिन्।'

प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू लागिपरेको पनि बताए।

सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए।

'उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो। अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो। तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्' उनले भने।  

प्रकाशित: २ श्रावण २०८० ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App