९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आपसका कमजोरी खोतल्दै चुनावी अभियानमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका पृथीराज राईले कांग्रेसकातर्फबाट वडाध्यक्षको टिकट पाए । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको टिकट हात परे लगत्तै उनको अवैध खयर निकासीमा संलग्न भएको भन्दै आलोचना सुरु भयो । गाउँको प्राकृतिक श्रोत र साधनलाई दोहन गरेर सिध्याउने व्यक्तिलाई टिकट दिइएकोमा पार्टीकै कतिपय कार्यकर्तादेखि मतदाताले असन्तुष्टी पोखिरहेको एक स्थानीय बताउँन् ।

 सर्वसाधारणले असन्तुष्टी जनाइरहँदा विपक्षी पार्टीले त यही कमजोरीलाई गतिलो चुनावी नारा बनाउने नै भए । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमै माओवादी केन्द्रकातर्फबाट वडाध्यक्षको टिकट पाएका चन्द्र किरात पनि आलोचनामुक्त छैनन् । किरातलाई पनि खयर निकासी गरेकै आरोप लागेको छ । फरक पार्टीबाट एकै पदका लागि एकै ठाउँबाट उम्मेदवार बनेका उनीहरु दुवै जनामाथि स्थानीय चौतारा रानी सामुदायिक वनबाट अवैधरुपमा खयर फँडानी गरेर निकासी गरेको अभियोग छ । चुनावी मैदानमा उत्रिएकोबेलामा विपक्षीले आफु विरुद्धको मुद्दा उछाल्दा उम्मेदवारद्वयलाई नैतिक संकटले किचेको छ। 

यो एउटा उदाहरण मात्र हो । कुनै न कुनै विषयमा विवादित बनेका र स्थानीयको नजरमा अपाच्य काममा संलग्न अधिकांश उम्मेदवारका विरुद्धमा अहिले यसैगरी आलोचना भइरहेका छन् । गलत काम गरे पनि कहिल्यै नउठेको आवाज निर्वाचनको पूर्वसन्ध्यामा उठ्ने गरेको देखिएको छ । कतिपय विपक्षीले उम्मेदवारको तिनै कमजोरीलाई औंल्याएर आफ्नो फाईदाका लागि भरपुर उपयोग समेत गर्ने गरिरहेको पाइएको छ । विवादित उम्मेदवारको कतिपय आफ्नै पार्टीका कार्यकर्ताबाटै विरोध भइरहेको देखिन्छ, सुनिन्छ । अर्कातर्फ विवादास्पद र नरुचेको व्यक्तीलाई भोट हाल्नुपर्ने अवस्था आएपछि कतिपय सर्वसाधारणबाटै असन्तुष्टी पोखिइरहेका छन् । आर्थिक अपचलन, नैतिक आचरण राम्रो नभएका, सर्वसाधारणलाई हेलाहोचो गर्दै आएका, कुरा गर्ने तर काम नगर्ने, सार्वजनिक सम्पत्ति दुरुपयोग लगायतमा मुछिए पनि निर्वाचनकाबेलामा पार्टीको टिकट पाएका उम्मेदवारको बढी मात्रामा विरोध र आलोचना भइरहेको पाइएको छ । निर्वाचनको मुखमा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका एमालेका वडाध्यक्षका उम्मेदवार बिदुर राईले पनि द्वन्द्व पीडितको राहत चलाइदिएको उजुरीको सामना गर्नुपर्याे । टिकट लिएर भोट माग्न गाउँ डुल्नेबेलामा राहत रकम बेपत्ता पारिदिएको भन्दै गाउँकै द्वन्द्व पीडितले प्रशासनसम्म उजुरी हालेपछि उनीमाथि संकट आइलागेको थियो । सो विषयलाई वैशाख २५ गते ईलाका प्रशासन कार्यालय खोटाङबजारमा भएको छलफलबाट सहमतीमा टुंग्याइए । तर, कतिपय विपक्षी उम्मेदवारले त्यही विषयलाई भोट माग्ने माध्यमकारुपमा उपयोग गरे।

खराब प्रवृत्तिका विरुद्धमा अन्य बेलामा उठाउन नसकिएको स्वर स्थानीय तहको निर्वाचनको मेसोमा उठाउन थालिएको छ । स्थानीय तहको निर्वाचनले उम्मेदवारको आचरणदेखि प्रवृत्तिसम्मको विषयमा टिका टिप्पणी गर्ने अवसर ल्याएको छ । आफ्नो वडा गाउँपालिका र नगरपालिकामा अशल, ईमान्दार र निष्कलंक नेतृत्व छान्नेबेलामा अयोग्य उम्मेदवारका विरुद्धमा आवाज उठ्नु स्वभाविक ठान्छन् दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राई । ‘जनता चुनावका माध्यमबाट योग्य मान्छे चुन्न चाहन्छन्, सबैको चाहना योग्य, क्षमतावान, नैतिकवान, सहयोगी नेतृत्वको हुन्छ,’ क्याम्पस प्रमुख राईले भने, ‘सचेत नागरिकका हैसियतले उम्मेदवारको योग्यताका विषयमा आवाज उठ्नु स्वभाबिक हो । यस्तो आवाज उठ्नु पनि पर्छ ।’ सामाजिक, नैतिक, आर्थिक लगायत हरेक दृष्टिकोणमा भ्रष्ट र अयोग्य मान्छे चुनिए वडा तथा गाउँपालिका र नगरपालिकाकै भविष्य डामाडोल बन्ने भएकाले पनि उम्मेदवार चयनमा दलले बिचार पुर्याउनुपर्ने राईले बताए।

झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा थरि–थरि चरित्रका नेता उम्मेदवार चुनावी मैदानमा छन् । तर, भ्रष्ट आचारण भएका, आर्थिक दुरुपयोगमा मुछिएका, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, बहुबिवाहमा संलग्न, महिला हिंसा गर्ने, थिचोमिचो, फौजदारी र नैतिक पतन हुने गतिविधिमा संलग्न व्यक्तीलाई उम्मेदवारकारुपमा अघि सारेको गाउँका सर्वसाधारण देख्न सक्दैननन् । उनीहरु ‘देश र जनताका लागि केही गर्छु’ भनेर जीवन समर्पित, क्षमतावान, नैतिकवान व्यक्तिलाई जनप्रतिनिधिकारुपमा हेर्न चाहन्छन् । विकासका दृष्टिकोणले पछि परेका गाउँलाई नमूना शहरको रुपमा बिकास गर्ने क्षमता र दक्षता भएको व्यक्ती चाहन्छन् । ‘उम्मेदवार खराब छ भन्ने थाहा पाई–पाई जनताले मत दिँदैनन्, दिए पनि जनताले कहिल्यै सुख पाउनेवाला छैन,’ क्याम्पस प्रमुख राईले भने, ‘निर्वाचित नै भए पनि खराब चरित्रका उम्मेवदवारबाट के अपेक्षा गर्ने जनताले ? यसलाई दलले पनि मनन गर्न जरुरी छ।’ 

प्रकाशित: २८ जेष्ठ २०७४ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App