२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे। नाकाबन्दीका कारण इन्धन हाहाकार हुँदा आयल निगमको भण्डारण क्षमतामाथि नै प्रश्न उठेको थियो। कमजोर भण्डारण क्षमताले गर्दा छोटो समयमै इन्धन अभाव भोग्नुपरेको भन्दै नाकाबन्दीका बेला आलोचना भएपछि निगमले क्षमता बिस्तारको योजना बनाएको थियो। त्यही अनुसार कास्कीको गगनगौंडास्थित निगमको डिपोको क्षमता बिस्तार गरिएको हो। डिजेल भण्डारण गर्न ५०÷५० लाख लिटर अट्ने दुइवटा ट्यांक निर्माण गरिएको छ।

इन्धन आपूर्तिलाई सहज बनाउन पोखरामा इन्धन भण्डारण स्थल निर्माण गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए। ‘भण्डारण क्षमता बढाएपछि गण्डकी प्रदेशमा डिजेल आपूर्तिमा थप सहजता आउँछ,’ उनले भने।

पोखराको गगनगौंडा डिपोको भण्डारण क्षमता अब कम्तिमा एक महिनाका लागि पुग्ने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए। गण्डकी प्रदेशको माग अनुसार एक करोड लिटर क्षमताको डिजल भण्डारण गृह निर्माण गरिएको उनले बताए। ‘नियमित आयात प्रभावित भएको अवस्थामा पनि कम्तिमा एकमहिना यो भण्डारणले थेग्नेछ, नाकाबन्दीले भण्डारण क्षमता बढाउन बाध्य बनाएको हो,’ ठाकुरले भने।  

गगनगौंडा डिपोमा २२ लाख ८० हजार लिटर डिजल, ३ लाख ५० हजार लिटर पेट्रोल र ७ लाख ६० हजार लिटर मट्टितेल भण्डारण क्षमता थियो तर मट्टितेल भण्डारण गृहलाई पेट्रोलमा परिवर्तन गरिएको छ। मट्टितेलको ट्यांक पनि पेट्रोलमा परिवर्तन गरेपछि अहिले गगनगौंडासँग १० लाख लिटर भन्दा बढी क्षमताको पेट्रोल भण्डारण क्षमता बनेको छ। त्यसबाहेक डिजलको पुराना भण्डारण गृहलाई पनि पेट्रोलमा परिवर्तन गरेर पेट्रोलको क्षमता पनि २२ लाख लिटर पु¥याउने उनले बताए।  क्षमता बिस्तार गरे पनि पेट्रोलको भण्डारण कम्तिमा १५ दिनका लागि पुग्ने उनले बताए। अहिले गगनगौंडा डिपोबाट दिनमा २ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजल खपत हुने गरेको छ। दुईवर्ष अघि ७७ रोपनी क्षेत्रफलमा ७७ करोड रूपैयाँमा निगमले भण्डारण गृह बनाउन थालेको थियो। गगनगौंडा डिपोबाट प्रदेशभित्रका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङजाका पम्पमार्फत इन्धन बिक्री हुने गरेको छ।  

हवाई इन्धन डिपो बन्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना कटिसकेको छ। अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराकै पुरानो विमानस्थलबाट ट्यांकरमा ढुवानी गरेको भरमा हवाईजहाजका लागि आवश्यक पर्ने हवाई इन्धन पु¥याउने गरिएको थियो। अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्रै हवाई इन्धनको भण्डारण गृह बनाउने तयारी भएको छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफल जग्गामा नेपाल आयल निगमले हवाई इन्धनका लागि भण्डारण गृह निर्माण गर्न लागेको हो। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सिलन्यास गरे। भण्डारण गृहको सोमबार शिलान्यास गरिएको छ। ३६ लाख लिटर हवाई इन्धन क्षमताको भण्डारण ट्यांकी निर्माण गरिने निगमका हवाई इन्धन डिपोका परियोजना प्रमुख भरत रेग्मीले जानकारी दिए।  

रेग्मीका अनुसार विमानस्थलभित्रै १२ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण हुनेछन्। अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने मापदण्ड अनुसारकै इन्धन क्षमताको ट्यांकी निर्माण गरिने उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना कटिसके पनि अहिलेसम्म करिब पाँच किलोमिटर टाढाको पुरानो विमानस्थलबाट ट्यांकरमा ढुवानी गरेको हवाई इन्धन भर्ने काम हुँदै आएको छ। अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्रै इन्धन डिपो रहने उनले बताए। पोखराको पुरानो विमानस्थलसँग भने ६० हजार लिटर हवाई इन्धन क्षमताको भण्डारणगृह रहेको छ। ‘अहिलेसम्म पुरानै विमानस्थलबाट ढुवानी गरेको भरमा कामचलाउ गरिएको थियो। अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र नयाँ भण्डारण गृह तयार हुनेछ,’ रेग्मीले भने। रेग्मीका अनुसार एक वर्षभित्र पूर्वाधार तयार हुनेछ । तीनवटा ट्यांकी, फायर फाइटिङका लागि आवश्यक पूर्वाधार, प्रशासन सहितका पूर्वाधार बनाउन करिब ६० करोड रूपैयाँ खर्च हुने उनले बताए।

प्रकाशित: २ श्रावण २०८० ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App