२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङदेन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन्।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्।

उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए। राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने उनले बताए। 

शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको उनको भनाइ छ। उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे। राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए।

उनले भने, ‘हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा हो। जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो। राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ। यो अब निरन्तर चलिरहन्छ। हामीले कसैको सिको गर्नुपर्ने छैन, हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ। शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना चाहन्छौँ। हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ की विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निस्कर्षमा लैजान सक्दैनौँ। जुनसुकै बाटोबाट भएपनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ। राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दुराष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन, यसमा राजनीतिक दृष्टिकोणमा हिन्दुराष्ट्र पुनःस्थापनालाई राखेको छ। हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन। राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ।’

प्रकाशित: १ श्रावण २०८० ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App