८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुर मत गणनास्थलभित्र ४६ जनाको टोली प्रवेश

भरतपुर कभर्डहल स्थित मतणना स्थल। तस्विरः रमेश

चितवन– माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि सिलबन्दी गरिएको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा चार दिनपछि बिहीबार सिल खोलिएको छ। च्यातिएका मतपत्रको विस्तृत विवरण संकलन गर्न ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेको छ।

भरतपुरका उम्मेदवार प्रतिनिधि, चितवनका प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको उपस्थितिमा सिल खोलिएको हो। यसअघि जिल्ला सुरक्षा समितिले भरतपुरमा उम्मेदवार रहेका दलका प्रतिनिधिसँग छलफल गरेको थियो।

च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौं पठाइनेछ।

च्यातिएका एवं गणना गर्न बाँकी मतपत्रहरु मतगणनास्थल कभर्ड हलमै राखिएको छ।

मतगणनास्थल प्रवेश गरेको टोलीले च्यातिका मतपत्रहरुको विस्तृत विवरण लिनेछ। भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा माओवादीका बुध प्रतिनिधिले आइतबार मध्यराति मतपत्र च्यातेका थिए। त्यसपछि मगणना स्थगित गरी अनुसन्धान थालिएको थियो।

भरतपुरको मतपत्र च्यातिएकोबारे निर्वाचन आयोगले सोमबार सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो। टोलीले बुधबारै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै मतगणना स्थलमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेको ठहर गरेको थियो।

टोलीको प्रतिवेदन अध्ययनपछि बुधबार निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा माओवादी कार्यकर्ताले च्यातेका मतपत्रको विवरण पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएअनुसार ४६ जनाको टोली आज सिल खोलेर मतगणनास्थल प्रवेश गरेको हो।

भरतपुरमा माओवादीकी मेयर प्रत्यासी प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहँदा मतपत्र च्यातिएको थियो। मतपत्र च्यात्नेहरु माओवादीका  बुथ प्रतिनिधिहरु मधु न्यौपाने र द्रोणबाबु शिवाकोट प्रहरी हिरासतमा छन्।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू बाथरुम गएकाले घटनामा संलग्न नदेखेको सञ्चारकर्मीलाई बताएका थिए। आइतबार मध्यराति घटनास्थलमै रहेका चितवन प्रहरी प्रमुख दीपक थापाले ४-५ वटा मात्र मतपत्र च्यातिएको जानकारी दिएका थिए।

च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौं पठाइनेछ।

कुल २९ वटा वडाहरु रहेको भरतपुरमा २७ वटा वडाहरुको मत गणना सकिएको अवस्थामा सो घटना भएको थियो। १९ नम्बर वडाको मत गणना सुरु भएपछि माओवादीकी रेणु दाहालको मतान्तर निकै घट्न सक्ने अनुमान थियो। १८ सय मत गणना हुँदासम्म देवीले अग्रतामा केबल ५१ मत मात्रै गुमाएपछि माओवादी बुथ प्रतिनिधिले घटना गराएका थिए।

वडा नं. १९ मा २ हजार ८६० मत खसेको छ। गणनाको पछिल्लो विवरणअनुसार समग्रमा एमालेका ज्ञवालीले ७३३ मतको अग्रता लिइरहेका थिए। मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१  हजार ६४१ मतसहित अगाडि थिए। माओवादीकी रेणुको ४० हजार ९०८ मत पुगेको थियो।

मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादीले १९ नं. वडामा पुनःमतदानको माग राख्दै आएको छ। प्रमुख प्रतिपक्षी एमालेले भने प्रधानमन्त्री दाहाल पुत्री हार्ने निश्चित भएपछि शक्तिको आडमा योजनाबद्ध रुपमा पुनःमतदानका लागि षड्यन्त्र भइरहेको जनाउँदै आएको छ। एमालेले यही विषयलाई लिएर सदन अवरुद्ध पारिरहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App