झापा- राजनीतकि दल र तिनका नेताको दाबी पत्याउने हो भने नेपाल 'नयाँ' हुने क्रममा छ। गणतन्त्र, संघीयता तथा पुनःसंरचित स्थानीय तहलाई देखाएर उनीहरू यस्तो दाबी गर्छन्। तर त्यही 'नयाँ नेपाल' का सारथि दल भने पाइलैपिच्छे पुरातन शैलीमै रमाइरहेका छन्।
'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे। कि चुनाव चिह् देखाउँथे कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।'
स्थानीय चुनावको तयारीमा व्यस्त दलका गतिविधि नियाल्ने जो कसैले पनि सहजै भन्न सक्छ– दल दशकौं पुरानो शैली र अभ्यासको धङधङीबाट बाहिर निस्कनै सकेका छैनन्। मतदाताका अनुसार २०४९ मा भएको पहिलो स्थानीय चुनावताकाको शैली र अहिलेको स्थानीय चुनावमा देखिएको शैलीमा रत्तिभर भिन्नता छैन। नौलो अभ्यासको थालनीमा दलले देखाएको चरम अनिच्छा मतदातालाई निराश बनाउने खालको छ।
'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे,' झापा पृथ्वीनगरस्थित सरस्वती माविका शिक्षक लक्ष्मी मिश्र भन्छन्, 'कि चुनाव चिह्न देखाउँथे, कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।' उनका अनुसार केही दिनयता घरमा भोट माग्न आउने टोलीको लर्को छ। कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको टोली पछिल्लो तीन दिनमा उनको घरमा मत माग्दै आए। त्यस क्रममा उनले सबैसँग घोषणापत्र मागे। तर कसैसँग थिएन।
'भोट माग्न आएका टोलीले नै घोषणापत्र पाएका छैनौं भन्दै पन्छिए,' ५२ वर्षीय मिश्रले सुनाए, 'बरु पार्टीको झन्डा र चुनाव चिह्न भएको टिसर्टचाहिँ छाडेर गए।'
चुनावलाई शक्ति आर्जनको मुख्य माध्यम ठान्ने दल जसरी पनि जित्न लाग्नुलाई कसैले पनि अनौठो मान्दैनन्। अझ दुई दशकपछि हुन लागेको स्थानीय चुनावले दलका कार्यकर्ता मात्रै होइन, सर्वसाधारण पनि उत्साही छन्। तर चुनावी प्रचारमा २५ वर्षअघिकै शैलीमा उनीहरू पेस भइरहनुलाई भने धेरैले दल बदलिन नसकेको प्रमाणका रूपमा अर्थ्याइरहेका छन्। अहिले पनि टिसर्ट र झन्डा प्रदर्शनको होड सुरु भएको छ। दोस्रो चरणको निर्वाचन नजिकिँएसँगै दलबीच घरका धुरीमा झन्डा गाड्ने र टिसर्ट वितरण गर्ने प्रतिस्पर्धा सुरु भएको छ।
'दलको अजेन्डा, विकास प्राथमिकता, चुनाव जितेपछि गर्ने कामको सूची कोही उम्मेदवारले मतदातासँग बताउँदैनन्', हल्दीबारीकी उमा खत्री भन्छिन्, 'भोट मात्रै माग्छन्। झन्डा घरमा लगाउनु भन्छन्।'
अंग्रेजी साहित्यमा स्नात्तकोत्तर गरिरहेकी खत्रीको भनाइमा भोट माग्दै आउने गाउँका टोली कसैले पनि आफ्नो पार्टीका मुद्दाबारे चर्चा गर्दैनन्। जानकारहरू दलको यस्तो कदमलाई अर्थहीन बताउँछन्।
'यो निरर्थक होडले दल नबदलिएको देखाउँछ,' धुलाबारी क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक भुवन आचार्य भन्छन्, 'रचनात्मक र चाहिने काममा भन्दा नचाहिने काममा प्रतिस्पर्धा हुनु गलत हो।'
निर्वाचन मिति जति नजिकिँदै छ उति दलबीच झन्डा र टिसर्ट बाँड्ने र प्रदर्शन गर्न प्रतिस्पर्धा हुने गरेको छ। अहिले हरेक घरधुरीमा विभिन्न पार्टीका चुनाव चिह्न अंकित झन्डा र पार्टीकै मुख्यः झन्डा फर्फराउन थालेका छन्।
यतिबेला सबैजसो घरमा कुनै न कुनै पार्टीका चुनाव चिह्न अंकित झन्डासहित पार्टीकै झन्डा फर्फराउन थालेका छन्। यति मात्र होइन, सिटी रिक्सादेखि टेम्पोलाई समेत चुनावले धपक्कै छोपेको छ। यस्ता सवारीसाधनका पछाडिपट्टि कुनै न कुनै पार्टीका उम्मेदवारले हात जोडेर नमस्कार गर्दै गरेका ठुल्ठुला पोस्टर टाँसिएका छन्। दलको प्रस्ट रूपान्तरणको अपेक्षा गरिरहेको पठित पंक्ति मात्रै होइन, सर्वसाधारणले पनि मन पराएका छैनन्। 'पार्टीका नेता आउँदा आफ्ना समस्या सुनाउन चाहन्छौं', मेचीनगर–७ का त्रिदेव श्रेष्ठले भने, 'गाउँमा गाडिएका बिजुलीका पोल र तार छन्। तर अहिलेसम्म बत्ती बलेको छैन, गाउँमा टेलिफोन छैन, बाटो भत्केको छ। तर नेता आएर भोट माग्छन् अनि झन्डा दिएर जान्छन्। त्यो झन्डाले हाम्रो आवश्यकता पूरा हुन्छ?'
दुई दशकसम्म स्थानीय तहको निर्वाचन नहुँदा उत्पन्न रिक्तताले सबैभन्दा ठूलो असर पूर्वाधार विकासमा परेको छ। कर्मचारीले खुद्रे योजनामै १५ वर्ष बिताए। जनप्रतिनिधिले थालेका दीर्घकालीन महŒवका योजना अघि बढेनन्। यस्तो बेलामा प्रतिनिधि चुनिने निश्चितताले सबैलाई हर्षित तुल्याएको छ। तर दल र तिनका नेताकार्यकर्ताको शैलीले भने मतदातालाई हैरान पारेको छ। शिक्षक मिश्रले थपे, 'प्रत्येक राजनीतिक दलले चुनावअघि सार्वजनिक गरेको घोषणापत्रलाई चुनावपछि पनि पालना गर्नुपर्छ, घोषणापत्रलाई चुनावका मुखमा गफ मात्र बनाउनु हुँदैन।' दलले जनतालाई 'भोट बैंक'का रूपमा मात्र हेर्ने र चुनावका बेलामात्र उनीहरूका घरदैलोमा पुग्ने परम्पराको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
२०१९ सालदेखि भएका हरेक निर्वाचनमा लगातार मतदानमा सहभागी हुँदै आएका मेचीनगर–६ का कृष्णप्रसाद उप्रेती प्रत्येक दलले घोषणापत्रलाई देखाउने दाँतमात्रै बनाएको बताउँछन्। '२०१९ सालदेखि लगातार मतदान गर्दै आएको छु,' ७८ वर्षीय उप्रेतीको अनुभव छ, 'तर चुनावका मुखमा त्यसको चर्चा कतै हुँदैन। अहिलेसम्म घोषणापत्रअनुसारका काम भएका छैनन्। यतिबेला आएर पनि उस्तै अवस्था रहनु पार्टी बदलिन नसकेको र तयार नभएको प्रमाण हो।'
नयाँ नेपालमा दलको 'नवीन छवि' को निरन्तर वकालत गर्दै आइरहेका कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा दलको परिमार्जन अपेक्षाकृत हुन नसकेको स्वीकार गर्छन्। 'देश हाँक्ने दलको जुन गतिमा परिमार्जन हुनुपर्थ्यो, त्यो हुन नसकेको साँचो हो,' शर्माले भने, 'अहिले जनताले सबै दलको नवीन छवि चाहेका छन्। त्यो पूरा गर्न दल लाग्नुको विकल्प छैन।' शर्माले भनेजस्तो विकल्पहीन विकल्पबारे दल गम्भीर चाहिँ कहिले हुने कुनै टंुगो छैन। जारी स्थानीय चुनावले त्यो प्रमाणित रूपमा देखाइरहेको छ।
प्रकाशित: १८ जेष्ठ २०७४ ०२:५० बिहीबार