६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

यसकारण च्यातियो मतपत्र

मतपत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका कार्यकर्ता मधु न्यौपाने र द्रोणबाबु शिवाकोटी।

चितवन- भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। सोमबार गणतन्त्र दिवससँगै भरतपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो। यही आसमा आइतबार सुतेका भरतपुरवासीलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो। मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भइसकेको थियो।

 मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरवासी मात्रै नभएर देशविदेशका धेरै नेपाली आश्चर्यमा परे।

 कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा २७ वटा वडाको मतगणना सकिएकोे थियो। अन्तिममा पालो परेका वडा नं. १९ र २० मध्ये १९ नम्बर वडाको मतगणना आइतबार साँझ सुरु भएको थियो। कुल दुई हजार ८६० मत खसेको सो वडाको १८ सय मत गणना भइसकेको थियो। २४ सय मत गन्ने काम लगभग सकिँदै थियो।

 'म बाथरुम जाँदै थिएँ। हल्ला सुनेर बाथरुम पनि नपुगेर फर्केर आउँदा अवस्था रणभूमिझंै भएको थियो', न्यौपानेले भने। घटना रातको ११ बजेर ४५ मिनेटमा भएको थियो। न्यौपानेले त्यतिबेला आफ्नो ज्यानसमेत जोगाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताए। मतपत्र कति च्यातियो, कसले च्यात्यो, कति पक्राउ परे, कोको पक्राउ परे भन्ने विषयमा उनले केही खुलाएनन्। 'रणभूमिको जस्तो अवस्था थियो। पूरै मतपत्र च्यातिएका थिए। कति च्यातिए, कसले च्यात्यो, हताहतको जस्तो अवस्थामा यकिन भन्न सक्ने अवस्था रहेन', न्यौपानेले भने।

 अवस्था यस्तो भएपछि मतगणना कार्य स्थगित भएको घोषणा गरेर प्रतिवेदन निर्वाचन आयोगमा पठाएको जानकारी उनले दिए।

के भएको थियो मतगणना स्थलमा

 मुख्य निर्वाचन अधिकृतले घटनाको पूरा विवरण नराखे पनि मतगणना स्थलमा रहेका मेयर पदमा एमालेका उम्मेदवार देवी ज्ञवालीले वडा नं. १९ को गणनामा सोचेजस्तो मत परिणाम नआएपछि माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यातेको बताए। सो आरोपमा द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने गिरफ्तार भएको पनि उनले बताए।

 गिरफ्तार हुने व्यक्तिका बारेमा सोमबार बिहान चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले पनि पुष्टि गरे। माओवादी केन्द्रको गणना प्रतिनिधि भएर बसेका शिवाकोटी र न्यौपाने गिरफ्तार भएको उनले बताए। एमालेका गंगा लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उनलाई मतगणना स्थलबाट नभई बाहिर प्रहरीसँग विवाद गरेका कारण नियन्त्रणमा लिएर केही समयपछि छाडिएको थियो।

 'म मतगणना स्थलमै थिएँ। वडा नं. १९ को गणना चलिरहेको थियो। ६ वटा समूहमा गणना हुन्छ। हिजो पनि त्यसरी नै गणना भएको थियो। एउटा समूहमा विवाद आएझंै लागेर हेरेको, एकजना व्यक्ति बुर्लुक्क बाँदरझंै उफ्रेर कर्मचारी मात्रै बस्ने गणनास्थलमा पुगेको देखें, म गइहालें,' एसपी थापाले भने। त्यो व्यक्तिलाई समाउनुअगाडि केही मतपत्र च्यातेको उनले बताए।

त्यस्तै अर्को समूहबाट फेरि अर्को व्यक्ति त्यसरी नै गएर गनेर मुठो बनाएर राखेको मतपत्र च्यातेको एसपी थापाले जानकारी दिए। यसो गर्ने दुवैलाई प्रहरीले समाएको र उनीहरू माओवादी केन्द्रका गणना प्रतिनिधि भएको उनको भनाइ छ।

 एसपी थापा र एमालेले दिएको घटना विवरणमा खासै फरक छैन। तर माओवादी केन्द्रले घटनाको दोष एमालेलाई लगाएको छ। पार्टीका चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा एमालेका गणना प्रतिनिधिहरू कृष्णराज न्यौपाने लब्ली, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुंगानाले मतपत्र कब्जा गरेर च्यात्न लागेको उल्लेख छ।

 आफ्नो पार्टीका प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले उनीहरूबाट मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको भट्टराईको भनाइ छ। उनले शिवाकोटी र न्यौपानेलाई तत्काल रिहा गर्न प्रहरीसमक्ष माग गरेका छन्।

कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठले भने, 'त्यो बेला म गणना भएकै ठाउँमा थिएँ। तर म पुग्दा मतपत्र च्यातिइसकेको थियो। कसले च्यात्यो देख्न पाइन। त्यहाँ माओवादी र एमाले दुवैका प्रतिनिधि थिए।' भरतपुर महानगरपालिकामा सत्तारूढ दल कांग्रेस र माओवादीबीच तालमेल छ। मेयरमा कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ। उपमेयरमा माओवादीले कांग्रेस उम्मेदवार पार्वती शाहलाई समर्थन गरेको छ। शाह भारी मत अन्तरका साथ निर्वाचित हुने लगभग निश्चित भएको छ। तर मेयरमा रेणु र एमालेका ज्ञवालीबीच ज्यादै कम मतान्तर छ।

किन च्यातियो मतपत्र

 प्रतिस्पर्धामा रहेका सबै मुख्य दलले मतपत्र च्यातिनुको कारण भने एउटै दिएका छन्। आफ्नो पार्टीका उम्मेदवारले जित्ने अवस्था बढेपछि प्रतिस्पर्धीले मतपत्र च्यात्यो भन्ने आरोप सबैको छ। एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, '१९ नम्बर वडाको मत गन्दा हाम्रा उम्मेदवार देवीजीले जित्ने पक्का भएपछि माओवादीले मतपत्र च्यात्यो।'

 'मेयर पदमा एमाले र हाम्रा उम्मेदवारबीचको मतान्तर लगभग ३९ सयबाट लगातार घटेर जिततर्फ अगाडि बढेको अवस्थामा यस्तो घटना भएको छ,' माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसको विज्ञप्तिमा पनि कांग्रेसका उम्मेदवारको विजयी सुनिश्चित भइसकेको अवस्थामा घटना भएको उल्लेख छ।

के थियो मतको अवस्था

 भरतपुर महानगरपालिकाको कुल २९ वटा वडामा एक लाख १२ हजार ७४१ मत खसेको थियो। अन्तिम १९ र २० नम्बर वडामा ६ हजार १६२ मत थियो। दुईवटा वडा गन्न बाँकी रहँदा मेयर पदमा देवी ज्ञवालीको मत ४० हजार ९८० आएको थियो। रेणुको मत ४० हजार १९६ पुगेको थियो।

 वडा नं. १९ गन्नुअघि ज्ञवाली दाहालभन्दा ७८४ मतले अगाडि थिए। वडा नं. १९ र २० कांग्रेसको राम्रो संगठन भएको र धेरै मत आउने वडा हुन्। यी वडाको मत गणना हुँदा देवी र रेणुबीचको मतअन्तर धेरै घट्ने गठबन्धन पक्षधरको अनुमान थियो। जसले गर्दा रेणुले जित्ने सम्भावना थियो। तर अनुमानविपरीत देवीलाई राम्रो मत आउन सुरु भएको थियो।

 वडा नं. १९ को एक हजार ८०३ मत गन्दा देवीको मत ४१ हजार ६४१ र रेणुको मत ४० हजार ९०८ पुग्यो। १८ सय मत गन्दा देवीले जम्मा ५१ मत मात्रै गुमाए। रेणुलाई सोचेको भन्दा कम मत आएपछि माओवादीका उम्मेदवारले मतपत्र च्यातेर पुनः निर्वाचन हुने अवस्था ल्याउन खोजेको एमालेको आरोप छ। तर गठबन्धन पक्षधरहरू पछिल्लो चरणमा देवीलाई भन्दा रेणुलाई राम्रो मत आउन सुरु भएपछि एमालेले मतपत्र च्यात्न थालेको बताउँछन्।

कांग्रेस माओवादी भन्छन् :  फेरि चुनाव, एमाले भन्छ :  गणना चाडो होस्

 मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन्। चितवनका दलहरूले मतगणना सुरु गर्न र वडा नं. १९ मा पुनः निर्वाचन गराउन माग गर्न थालिसकेका छन्। एमालेले पुनः निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ। चितवन एमालेले यही मागका साथ सोमबार भरतपुरमा विरोधसभा पनि गर्‍यो।

माओवादी र कांग्रेसले निर्वाचन ऐनका धारा उपधारा उल्लेख गर्दै वडा नं. १९ मा तत्काल पुनः निर्वाचन गर्न माग गरेका छन्। माओवादी इन्चार्ज ईश्वरी भट्टराई र कांग्रेस सभापति जितनारायण श्रेष्ठले सो वडामा फेरि चुनाव हुनुपर्ने माग गरेका छन्।

पहिल्यैदेखिको समस्या

 भरतपुरको मतगणनामा सुरुदेखि नै समस्या आएको हो। वैशाख ३१ मा मतदान सकिएर मतपेटिका संकलन भए पनि गणना सुरु हुन समय लाग्यो। मुचुल्कामा उल्लेख भएका भन्दा धेरै मतपत्र मतपेटिकामा भेटिए के गर्ने भन्ने विषयमा जेठ १ गते दिनभर अलमल भएर साँझपख मात्रै गणना सुरु भयो।

 नतिजा आउन थालेपछि फेरि विवाद बढ्न सुरु भयो। वडा नं. ४ मा कांग्रेसका उम्मेदवारभन्दा सात मत बढी ल्याएर एमालेका उम्मेदवार विजयी भएपछि कम्प्युटरमा संख्या राख्ने बेलामा गल्ती हुने गरेको भन्ने विवाद सुरु भयो। वडा नं. ९ को वडाध्यक्ष घोषणा भएपछि विवादले उग्र रूप लियो। कांग्रेस, माओवादी र राप्रपाले मतगणना स्थलमा नाराबाजी गरे। मतगणना रोकियो।

जेठ ६ गते सर्वदलीय बैठक बसेर १० बुँदे सहमति गरेपछि मतगणना कार्यमा  विवाद कमै देखिएका थिए। 'तर व्यवस्थापनसम्बन्धी धेरै विषयमा सुरुदेखि गम्भीर नहुँदा आइतबार मध्यरातमा त्यस्तो घटना भएको हो,' कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने।

 भरतपुर महानगरपालिका नेपाली कांग्रेसको राम्रो संगठन र मत आउने क्षेत्र हो। तर यस्ता ठाउँमा मेयर पद माओवादीलाई दिएर कांग्रेसले केन्द्रीय रूपमा तालमेल गरेपछि जिल्ला तहमा असन्तोष बढेको थियो। कांग्रेसका कार्यकर्ताले माओवादीलाई मत दिँदैनन् भन्ने सोचाइ थियो। त्यो सोचाइ सहरी क्षेत्रमा केही हदसम्म कायम रह्यो। ग्रामीण क्षेत्रमा कांग्रेसको आधाभन्दा बढी मत माओवादीलाई गएको देखिन्छ।

 जिल्ला तहका नेताहरूले मात्रै संयुक्त कार्यक्रम नगरेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा संयुक्त चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका थिए। सत्तारूढ दलबीच गठबन्धन भए पनि भरतपुरमा चुनावी अभियानमा क्रममा कुनै खालका अप्रिय घटना भएनन्।

 गठबन्धन उम्मेदवार दाहाल माओवादी अध्यक्ष दाहालकी छोरी हुन्। उनी भरतपुरको मतदाता भए पनि काठमाडौंमा बस्छिन्। रेणु उम्मेदवारी दर्ताको केही दिनअघि मात्रै भरतपुर आएकी हुन्।

 आइतबार मध्यरातको घटनापछि मतगणना स्थल निर्वाचन कार्यालयले सिलबन्दी गरेको छ। त्यहाँ वरपर भेला हुन प्रशासनले बन्देज लगाएको छ। प्रहरीको पहरा बलियो बनाइएको छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App