१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नाट्य प्रतिष्ठानको जग्गामा आफ्नै भवन बनाउन प्रस्ताव

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले खाली रहेको आफ्नो जग्गामा आफ्नै भवन बनाउन प्रस्ताव तयार गरेको छ। उक्त जग्गा व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई उपलब्ध नगराउने निर्णय पनि प्रतिष्ठानले गरेको छ। प्रतिष्ठानले आफ्नो नाममा रहेको १५ रोपनी एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिन विभिन्न तहबाट प्रयास भइरहेका बेला आफैंले प्रयोग गर्ने निर्णय गरेको हो।  

‘बरु जंगल बनोस्, नाट्य प्रतिष्ठानको एक इञ्च जग्गा पनि निजी क्षेत्रलाई लिजमा दिन्नौं,’प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले भनिन्, ‘खालि जग्गामा आफ्नै भवन बनाउन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएका छौं।’ प्रतिष्ठानको जग्गा लिजमा लिन विभिन्न निजी प्रतिष्ठान, संस्थाहरूले प्रयास गरेको र एउटा संस्थाले त निवेदनसमेत दिएको उनले बताइन्। ‘कसैले निवेदन दिएर मात्र हुँदैन, जग्गा पाउनुपर्यो नि, त्यसका लागि एउटा प्रक्रिया हुन्छ,’शर्माले भनिन्।  

प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई लिजमा दिने विषयमा पर्यटन, संस्कृति तथा नागरिक उडयनमन्त्री सुदन किरातीलाई केही थाहा नभएको दाबी उनले गरिन्। ‘यस विषयमा मन्त्रीलाई जोड्ने ठाउँ छैन, मन्त्रीज्यू यसबारे जानकार हुनुहुन्न,’उनले भनिन्।  

इमु प्रोपटिज प्रालिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा गत जेठ १४ गते लेखेको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’गरिएको छ। निवेदनमा लेखिएको छ, ‘त्यस प्रतिष्ठानको सानो गौचरणस्थित जग्गामा बहुउद्देश्यीय सुविधासम्पन्न व्यापारिक पूर्वाधार कम्पनीको आफ्नै लागतमा निर्माण गरी उक्त पूर्वाधारमा सर्वसाधारणको सुविधाका लागि विविध सेवामूलक संस्थालाई बहालमा उपलब्ध गराउने लक्ष्य छ।  

उक्त बहुद्देश्यीय (मल्टीपर्पोज कमर्सियल कम्प्लेक्स) मा त्यस प्रतिष्ठानका लागि एक संगीत एवं नाट्यशाला हल उपलब्ध गराइ उक्त पूर्वाधारको निर्माणपश्चात ३० वर्षसम्म भोगचलन गरी त्यसपश्चात् आवश्यकता अनुसार सहमतिमा पूर्वाधार पुनः बहालमा लिने-दिने वा प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गर्नेछौं।’इमु प्रोपटिज प्रालिले दिएको निबेदनलाई प्रतिष्ठानले अस्विकार गरेको शर्माले बताइन।

नाट्य प्रतिष्ठान स्रोतका अनुसार १५ रोपनी खाली जग्गामा नाट्य प्रतिष्ठानले २ वटा भवन बनाउने योजना बनाएको छ। नेपाल सरकारको पैसामा तत्काल एउटा भवन बनाउने र अर्को भवन बनाउन अन्तराष्ट्रिय दातृ निकायसँग सहयोग माग्ने तयारी प्रतिष्ठानका अधिकारीहरूको छ। तत्काल एउटा भवन बनाउन करिब ८ करोड खर्च लाग्ने प्रतिष्ठानको अनुमान छ। अहिले नाट्य प्रतिष्ठानको आफ्नो भवन छैन। अस्थायी प्रकृतिबाट बनाइएको टहरामा प्रतिष्ठानको कार्यालय छ। ‘नक्साल जस्तो ब्यस्त ठाउँमा १५ रोपनी जग्गा छ। तर हामी टहरामा बसेका छौ। हाम्रो कामको प्रकिृति नै ठूलो हल चाहिन्छ। संगित सम्बन्धी तालिन दिन, नाटक प्रदर्शन गर्न तथा अन्य विभिन्न कार्यक्रम गर्न कम्तीमा एउटा ठूलो हल आवश्यक परेको छ,’ शर्माले भनिन्, ‘तर दुखको कुरा अहिले सानो कार्यक्रम गर्दा पनि बाहिर हल खोज्न जानुपर्छ।’

नेपाल संगीत तथा नाट्य प्रतिष्ठान ऐन २०६४बाट स्थापित भएको नेपाल संगित तथा नाट्य प्रतिष्ठानको प्रमुख संरक्षक प्रधानमन्त्री र संरक्षक पर्यटन मन्त्री हुने कानुनमा व्यबस्था छ। प्रतिष्ठानका पदाधिाकारीहरूले भवन बनाउने तयार गरेको प्रस्तावको बारेमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन्। प्रतिष्ठानले आफ्नै भवन बनाउने विषयमा प्रधानमन्त्री र पर्यटनमन्त्री सकारात्मक भएको शर्माले बताइन्।  

प्रज्ञा प्रतिष्ठानको नाममा रहेको उक्त जग्गा नाट्य प्रतिष्ठानको स्वामित्वमा आउनु अघि ‘नाफा’नाम गरेको एक प्रतिष्ठानलाई उपलब्ध गराउने निर्णय गरिएको थियो। उक्त जग्गा कानुनी रूपमा नाफालाई दिनुअघि नै नाफा विघटन भयो। त्यसपछि २०६८ सालमा उक्त जग्गा नाट्य प्रतिष्ठानको स्वामित्वमा ल्याएको थियो। नेपाल बाल संगठनको स्वामित्वमा रहेको सो जग्गा सरकारी निर्णयबाट प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराइएको थियो।

प्रकाशित: २४ असार २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App