९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदाता शिक्षामा सधैं खेलाँची

झापा – राजनीतिक दलले चुनाव लक्षित गतिविधि यति बेला उत्कर्षमा पु¥याएका छन् । तर, मतदानका लागि अनिवार्य पाटो मानिने मतदाता शिक्षाबारे नाममात्रैको तयारी छ । दलहरूको कुरै छाडौं, निर्वाचन आयोगकै काम पनि देखावटीमात्रै छ ।

हरेक चुनावमा दल र उम्मेदवारको प्रचारमा नयाँनयाँ शैली अपनाउन धेरै स्रोत र शक्ति खर्चिनु सामान्य भइसकेका बेला मतदाता शिक्षामा भने लगानी नै कमजोर छ । निर्वाचन कार्यालयदेखि सम्बद्ध सबै पक्षले मतदाता शिक्षामा सधैं खेलाँची गर्दै आएको तथ्यले नै देखाउँछन् । यही लापरबाहीकै कारण पहिलो चरणको स्थानीय चुनावमा धेरै मत बदर भए । दोस्रो चरणमा पनि यो समस्या दोहोरिने निश्चितप्रायः रहेको जानकार बताउँछन् । 

‘मतदाता शिक्षा निर्वाचनको सबैभन्दा संवेदनशील र आधारभूत पाटो हो’, लामो समय निर्वाचन कार्यालयमा काम गरेका अवकाशप्राप्त सरकारी अधिकारी बोधराज सुवेदी भन्छन्, ‘तर हामीकहाँ यही कामलाई सबैभन्दा कम प्राथमिकता दिने चलन नै बनिसक्यो । गणतन्त्रकालमा पनि यो चलनमा पटक्कै सुधार आएन ।’ यही कारणले बदर मत संख्या धेरै हुने गरेको उनको भनाइ छ । ‘मतदाता शिक्षामै खेलाँची हुनु मतदातामाथिको अन्याय हो’, उनले थपे, ‘मत राम्ररी खस्दा मात्रै उनीहरूको प्रतिनिधि चुन्ने हक सुरक्षित हुने हो ।’ 

मतदाता शिक्षाका लागि निर्वाचन आयोगको तयारी अपर्याप्त छ भने दलहरूले भोट माग्नेबाहेक भोट खसाल्ने तरिकाबारे सिकाउने गरेका छैनन्

झापालगायतका जिल्लामा स्थानीय चुनावको मतदान मिति आउन तीन साता पनि बाँकी छैन तर मतदाता भोट हाल्ने तरिकाबारे अझै अनभिज्ञ छन् । ‘भोट माग्दै धेरै टोली घरघरै आइसकेका छन् तर कसैले पनि भोट हाल्ने तरिका बताएका छैनन्’, झापा सदरमुकाम चन्द्रगढीमा पान पसल चलाउँदै आएकी विनीता विश्वासले भनिन्, ‘यसपालि अप्ठेरो छ भन्छन्, खै के हुने हो !’  विनीताको जस्तै अप्ठेरो अनुभव गर्ने मतदाता झापाजत्तिकै साक्षरता दर धेरै भएको जिल्लामा पनि प्रशस्त छन् । 

विगतका दुईवटा संविधानसभा चुनावमा बदर मत संख्या झापामा उच्च छ । २०७० मा सम्पन्न संविधानसभाको दोस्रो चुनावमा ४ लाख ५४ हजार ७ सय ७६ मतदाता रहेको झापामा ३ लाख ५५ हजार ७ सय ८८ मत खसेको थियो । त्यसमध्ये ७ दशमलब ३ प्रतिशत अर्थात्  २५ हजार १६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०६४ को पहिलो संविधानसभा चुनावमा पनि बदर संख्या धेरै थियो । ३ लाख ७२ हजार ९ सय २४ मतदाता भएको त्यस बेला ३ लाख ५१ हजार २ सय ५९ मत खसेको थियो । त्यस बेला पनि २१ हजार ६ सय ६५ मत बदर भएको थियो ।

यसपटक झापामा  ५ लाख १० हजार २ सय १६ मतदाता छन् । यति धेरै मतदातालाई मत हाल्ने तरिका सिकाउन जिल्ला निर्वाचन कार्यालयले जम्मा ६ सय ३७ जना स्वयंसेवक खटाएको छ । सबै स्वयंसेवकले उही रफ्तारमा मतदाता शिक्षा अभियान चलाए भने पनि एकजनाको भागमा कम्तीमा ८ सय मतदाता हुनेछन् । ‘सबै ठाउँमा स्वयंसेवक पुग्दैनन्’, पूर्वकर्मचारी सुवेदीले भने, ‘सबैलाई उही रुपमा बुझाउनै पनि छोटो समयमा कठिन छ ।’ 

अहिलेसम्मका हरेक चुनावमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने दाबी गरे पनि कार्यक्रम कहिल्यै
उपलब्धिमूलक भएको छैन जसका कारण झापाजत्तिको सुगम जिल्लाका मतदाता पनि मतदान गर्ने तरिकाबारे बेखबर हुन्छन् । यसपटक पनि यस्ता धेरै मतदाता छन्, जसले भोट हाल्ने तरिकाबारे केही जानकारी पाएकै
 छैनन् । ‘भोट हामीलाई दिनुपर्छ भन्दै दैनिकजसो धेरै मानिस आइरहेका छन्’, मेचीनगर—७ की सरस्वती चौधरीले भनिन्, ‘तर, भोट कसरी हाल्ने, कसरी छाप लगाउने, कसैले सिकाएनन् ।’ अहिले विभिन्न दलका नेता कार्यकर्ता झन्डा र चुनाव चिह्न लिएर गाउँगाउँ छिर्न थालेका छन् । उनीहरूले मतदातासँग आफ्नो चुनाव चिह्नमा मत माग्ने गरेका छन् तर कसरी मतदान गर्ने, के गर्दा मत बदर हुन्छ, प्रमुख, उपप्रमुखलगायत अन्य पदका कतिजनासम्मलाई मतदान गर्ने, यी सब कुरा नसिकाएकै कारण मतदाता अन्योलमै छन् । चार प्रदेशका ४२ जिल्लामा दोस्रो चरणमा जेठ ३१ गते निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा एक जना मतदाताले सात ठाउँमा छाप लगाउनुपर्छ । तर, धेरैलाई यो कुराको जानकारी छैन । निर्वाचन कार्यालय नै धेरै मत बदर हुने सम्भावना औंल्याउँछ ।  ‘एउटा पुस्ता पहिलो पटक मतदान गर्ने तयारीमा छ’, निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्य भन्छन्, ‘यसकारण पनि यो निर्वाचनमा मतदाता अल्मलिने बढी सम्भावना भएकाले धेरै मत बदर हुने जोखिम  छ ।’ उनले थपे, ‘शतप्रतिशत मतदाता साक्षर छैनन् । मतदाता शिक्षाका लागि स्वयंसेवकलाई पाँच प्रकारका पोस्टर, पर्चा, हाते पुस्तिका, नमुना मतपत्रसहित वडावडामा पठाइएको छ । यसले मत प्रतिशत बढ्ने र बदर मत कम हुने आशा लिएका छौँ ।’ १० नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेको झापामा कुल मतदातामध्ये २ लाख ५६ हजार ७ सय ९८ महिला र २ लाख ५३ हजार ४ सय १५ पुरुष छन् भने तेस्रो लिंगी मतदाताको संख्या तीन छ ।

प्रकाशित: १३ जेष्ठ २०७४ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App