१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘सरकार यसरी नै चलिरहे ०८४ मा काँग्रेसले जोसँग मिले पनि जित्दैन’

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिन सके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरुबाट काँग्रेस डराउनु नपर्ने उल्लेख गरे। उनले काँग्रेसको मुख्यकुरा मिसन ०८४ हो भने अहिले सरकारमा भएको बेलामा जनताका लागि काम गर्न नसके काँग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गरे।

उनले भने, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ। कसैसँग डराउनु पर्दैन, ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ। हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आए पनि हामीलाई कसैले केही गर्न सक्दैन। सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ। त्यसैले मुख्यकुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो। नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेको भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे।

उनले भने, ‘मैले डिजिटल युनिटको कुरा गरेँ, यसमा म के भन्न चाहन्छु भने साथीहरुलाई सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्न आग्रह गर्न चाहन्छु। रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ। हामीले जान्न के पर्‍यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन्। हामी त अनि महत्त्वाकाङ्क्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिष्पर्धामा उत्रिन्छौँ। यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रश्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौँ।’

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ असार २०८० ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App