काठमाडौं –सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णीत रहेको छ ।
चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरूले आन्तरिक रूपमा अनौपचारिक छलफल भने गरेका थिए ।
बुधबार दिउसो राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको सदस्यको बैठक बस्ने सदस्य मण्डलका सदस्य अनिल झाले जानकारी दिए । बैठकमा चुनावमा जाने या नजाने बारेमा छलफल हुने उनले बताए ।
स्रोतका अनुसार स्थानीय तहको संख्या बढाएपछि चुनावमा जाने कि नजाने भन्नेबारेमा राजपाका अध्यक्ष मण्डलका सदस्यहरूबीचमै विवाद उत्पन्न भएको छ । विवादकै कारण राजपाले मंगलबार औपचारिक निर्णय गर्न नसकेको हो । बुधबार पनि औपचारिक निर्णय गर्ने सम्भावना बलियो नभएको स्रोतको भनाइ छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्यहरूमध्ये महेन्द्र यादव र शरदसिंह भण्डारी चुनावमा जानुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभई चुनावमा जान नहुने अडानमा छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने प्रस्ट लाइन लिएका छैनन् । स्रोतका अनुसार जुन कुरामा सहमति हुन्छ, उनी त्यही मान्न तयार छन् ।
राजपाका दोस्रो तहका नेता केशव झा सरकारले मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाएपछि पार्टी चुनावमा जानुपर्ने बताउँछन् ।
स्रोतका अनुसार राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि चुनावप्रति सकारात्मक छन् । अर्का नेता महेन्द्र यादवले यसअघि नै मधेसमा स्थानीय तहको संख्या बढाएमा पार्टी चुनावमा जाने बताउँदै आएका छन् ।
स्रोतका अनुसार राजपाले चुनावमा नजाने भए आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । पार्टीले आन्दोलनको रूपरेखा तयार गरीसकेको छ । पार्टी चुनावमा नगए चुनाव बिथोल्ने गरी बन्दका कार्यक्रमका तय भएको छ । गत सोमबार आन्दोलनको रूपरेखा तयार गर्ने भनिएको थियो तर प्रधानमन्त्री पुष्पकमल दाहालले राजपाका अध्यक्ष मण्डलका सदस्यहरूलाई फोन गरी सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने तयारी गरेको बताएका थिए । उनले आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्न पनि अध्यक्ष मण्डलका सदस्यहरूलाई आग्रह गरेका थिए ।
राजपाले पहिलो चरणको चुनाव बहिष्कार गरे पनि चुनाव अवरोध हुने गरी कुनै कार्यक्रम गरेको थिएन ।
अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘जनताले जे भन्छन्, हामी त्यही गर्छौं । जनताले हाम्रो माग पूरा नभएसम्म चुनावमा नजाऔं भनेका छन्,’ उनले भने ।
फोरम नेपालले चुनावमा जाने निर्णय गरेपछि राजपालाई पनि चुनावमा जान दबाब परेको छ । केही दिनअघि सरकारमा गएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि राजपालाई चुनावमा जान आग्रह गरेका छन् ।
प्रकाशित: १० जेष्ठ २०७४ ०२:४५ बुधबार