जाजरकोट – आइतबार भएको स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेन्द्रवहादुर शाह ९ मत अन्तरले विजयी भएका छन् ।
प्रतिद्वन्द्वी माओवादी केन्द्रका तिलकबहादुर रावतलाई ९ मतले हराउँदै शाह विजयी भएका हुन् । शाहले ३ हजार १ सय ३८ मत पाएका छन् भने रावतले ३ हजार १ सय २९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छिन् । उनले २ हजार २ सय २४ मत पाएकी छिन् ।
योसँगै जाजरकोटमा नेपाली काँग्र्रेसले दुई गाउँपालिका जितेको छ भने एमालेले एक गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । पछिल्लो मत परिणाम अनुसार कुसे गाउँपालिकामा काँग्रेसका हरिचन्द्र बस्नेत प्रमुख र उपप्रमुखमा काँग्रेसकै रामछाया शाही विजयी भइसकेका छन् । त्यस्तै एमालेका तर्फवाट शिवालय गाउँपालिका प्रमुखमा नरेन्द्रवहादुर शाही र उपप्रमुखमा एमालेकै कुमारी थापाले जीत हात पारेकी छिन् ।
जिल्लाको सवैभन्दा ठूलो नगरपालिका भेरी नगरपालिकामा एमालेको प्रमुख र उपप्रमुखको जित निस्चित जस्तै भइसकेको छ । एक वडाको मात्र मत गणना बाँकी रहँदा एमालेका सीपी घर्तीले ३ हजार ९ सय ६७ मतले अग्रता लिएका छन् भने उनलाई नेपाली काँग्रेसका सनतकुमार कार्कीले तीन हजार ५ सय ३५ मतका साथ पछयाइरहेका छन् । माओवादी केन्द्रका ढकवीर रानाले तीन हजार २ सय २५मतले तेस्रो स्थानमा छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै भावना भण्डारीले ३ हजार ८ सय ६८ मतले अग्रता लिएकी छिन् भने काँग्रेसकी धना चपाइले ३ हजार २ सय २६ मतले भण्डारीलाई पछयाएकी छिन् । यस्तै माओवादी केन्द्रकी कृष्णा आचार्यले ३ हजार २ सय २५ मत पाएकी छिन् । भेरी नगरपालिकाको ५ नंको मतगणना हुँदा ९ मत बढी भेटिएको भन्दै विवाद भएपछि गणना रोकिएकोमा अहिले सर्वदलीय वैठक वसेर गणना सुचारु गरिने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताए। अन्य नगरपालिका र गाँउपालिकाको मतगणनाको अवस्था भौगोलिक विकटता र मौसमी खरावीका कारण बिहानसम्म नआएको निर्वाचन समन्वय समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । बिहान १० बजेपछि मात्र यसबारे जानकारी आउने उनले बताए ।
प्रकाशित: ३ जेष्ठ २०७४ ०३:४७ बुधबार