३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘युवासँग कांग्रेस अभियान’ सञ्चालन हुने

नेपाली कांग्रेस सुर्खेतले छ हजार नयाँ क्रियाशील सदस्य थप गर्ने भएको छ।हाल कांग्रेसका १२ हजार ७७१ क्रियाशील सदस्य रहेकोमा त्यसलाई बढाएर १८ हजार ५०० पु¥याउने लक्ष्य कांग्रेसले राखेको छ।कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले साधारण सदस्यतासँगै क्रियाशील सदस्यता वितरणलाई पनि व्यापक बनाइने बताए।

पार्टीको पहिलो जिल्ला सम्मेलनमा आगामी कार्यक्रम र प्रगति विवरण प्रस्तुत गर्दै सुवेदीले पार्टी मातहतका विभिन्न समितिहरूलाई क्रियाशील बनाइने बताए। ‘पार्टीसँग जोडिएका भातृ तथा शुभेच्छुक संस्थाका गतिविधिलाई जनमुखी बनाउँदै जनअपेक्षा अनुसार विकास–निर्माणका गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ,’ आगामी योजना प्रस्तुत गर्दै उनले भने, ‘साधारणसँगै क्रियाशील सदस्यहरुको संख्या थप गर्ने, पार्टीका गतिविधिहरूलाई जनतासम्म पु¥याइनेछ।’

जिल्ला सम्मेलनले एक वर्षमा गर्ने कामको सूची पनि सार्वजनिक गरेको छ। यस अन्तर्गत जिल्ला कार्यसमिति र शुभेच्छुक संघ–संस्थाको आयोजनामा विभिन्न नेताहरुको जन्म जयन्ती तथा स्मृति दिवस मनाउने, हरेक वर्ष पुस र चैतमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, ‘युवासँग कांग्रेस अभियान’ सञ्चालन गर्ने छन्।

यस्तै भदौ र असोजमा खेलकुद, विपद् व्यवस्थापन, वातावरण संरक्षण, जलवायु परिवर्तन, कला, संस्कृति, महिला सशक्तीकरण, सामाजिक विकृति, लागू औषध दुव्र्यशन, स्वयंसेवा र सरसफाई सम्बन्धी अभियान चलाउने, वर्षमा एक पटक प्रदेशसभामा जिल्ला कार्यसमितिको घुम्ती सञ्चालन गर्ने, कांग्रेसको साथमा जेष्ठ नागरिकको आर्सीवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय अधिवेशनले पारित गरेको छ।

कांग्रेसले संस्थापक तथा जेष्ठ सदस्यहरूलाई सम्मान पनि गरेको छ। पूर्व मन्त्री शिवराज जोशी, पूर्व जिल्ला विकास समितिका सभापति गोविन्दबहादुर मल्ल, पूर्व जिल्ला सभापति डम्वर जिसी, पूर्व मन्त्री यज्ञबहादुर विसी, संविधानसभा सदस्य लालबहादुर घले, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, लोकबहादुर विश्वकर्मा, तारा जोशी, झक्कड बस्नेत, लालबहादुर बस्नेत, काशीराम जैसी, चुके बादी, खड्ग गन्द्रमा, निलकण्ठ अर्याल, कर्णबहादुर राना, बखत खरेल, नेपाल महिला संघ सुर्खेतका संस्थापक सभापति देवकुमारी पाण्डे, पूर्व सभापति नन्दा गिरीलगायतलाई सम्मान गरिएको पार्टी उपसभापति टोपबहादुर रावतले जानकारी दिए।

‘काँग्रेसलाई प्रविधिसँग जोड्नु आवश्यक’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं केन्द्रीय सदस्य जीवनबहादुर शाहीले काँग्रेसलाई विकास र प्रविधिसँग जोड्नुपर्ने बताए। शाहीले प्रविधिमैत्री कांग्रेस आजको आवश्यकता रहेको बताए। 

 ‘कांग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनहरू र देशका जटिल मोडहरूमा कुशल नेतृत्व प्रदान गर्दै आएको छ। जनताका सवालमा काम गर्नुका साथै मुलुकको विकास र समृद्धिमा पनि कांग्रेसको मुख्य योगदान छ,’ उनले भने, ‘तर, पार्टीले गरेका कामहरू जनताका बिचमा प्रचार भएको छैन्, पार्टीलाई प्रविधिमैत्री नबनाउँदा केही नगरेको जस्तो देखिएको छ।’

उनले कर्णालीमा अहिले प्रमुख ठूलो शक्तिका रूपमा कांग्रेस भए पनि सरकारको नेतृत्व गठबन्धन भित्रै भएकाले विकास र समृद्धिको अभियानमा अग्रपंतिमा लाग्नुपर्ने बताए। उनले पार्टीभित्रै अन्तरद्वन्द्व गरेर संस्थालाई कमजोर बनाउने काम भइरहेको बताउँदै यसतर्फ सचेत हुनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जानकी सिंह, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीलगायतले बोलेका थिए। 

प्रकाशित: १७ असार २०८० ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App