६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारको फाइल बन्द नहोस्: रवि लामिछाने

भेलालाई सम्बोधन गर्दै सभापति लामिछाने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल बन्द नगर्न सरकारलाई आग्रह गरेका छन्।

शनिबार स्वतन्त्र पार्टी मकवानपुरको थाहा नगरपालिकाको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले कुनै पनि बाहानमा भ्रष्टाचारसँग सम्बन्धित फाइल बन्द गरे स्वीकार्य नहुने चेतावनी दिएका हुन्। 

‘भ्रष्टाचारको फाइल खोल्नका लागि मात्र खोल्ने र विभिन्न बाहानमा बन्द हुने भयो भने २०८४ मा हामी खोल्छौँ’, लामिछानेले भने, ‘बिचौलियासँग सरकार काँप्ने स्थिति नबनोस्। सुशासनका लागि सरकारले देखाएको छनकलाई धन्यवाद। भ्रष्टाचारीको जरोसम्म सरकार पुग्न सकोस् हामी सहयोगका लागि तयार छौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने बित्तिकै बिहान बेलुकै नेताहरूको भेटघाटले आश्चर्य बनाएको उनले बताए।

‘एकले अर्काको अनुहारै हेर्न नचाहने नेताहरु पछिल्लो समय बिहान बेलुकै राजनीतिक भेटघाट भन्दै भेटिरहेका छन्। जनताले रोजेको चौथो पार्टीलाई कुनै वास्तै छैन। यो कस्तो भेटघाट हो ?’ उनले प्रश्न गरे, ‘जुनसुकै पार्टीको भए पनि भ्रष्टलाई कारबाहीको दायरामा ल्याउन दिऔँ, राजनीतिक सहमति र अनेक नाममा यसलाई रोक्ने काम नहोस्।’

आगामी २०८४ साल पछि नेपालको भ्रष्टाचार र बेतिथिलाई स्वतन्त्र पार्टीले सफाई गर्ने उनले बताए। स्वतन्त्र पार्टीले इमानदारीताका साथ काम गरुन्जेल मात्र साथ दिन उनले अनुरोध गरे। गलत गर्‍यो भने घण्टीले बजाइदिन उनको आग्रह थियो।

‘हामी जनताको मुद्दा बोल्नेछौँ, कामलाई जिन्दाबाद भन्नुहोस् नेता र पार्टी जिन्दाबाद भन्नुपर्दैन’, लामिछानेले आग्रह गरे, ‘हामी नेपाली जनताको दैनिकीसँग जोडिएका मुद्दा उठाउन र सम्बोधन गर्न आएका हौँ।’

जनताको आशा र भरोसालाई खेलबाड गर्ने छुट स्वतन्त्र पार्टीका नेताहरुलाई छैन।’ एक पटक यो देशको बागडोर सम्हाल्न र मुलुकको परिवर्तन गर्न अघि बढेको जानकारी दिँदै उनले व्यक्तिगत स्वार्थ बोकेर स्वतन्त्र पार्टीमा नआउन अनुरोध गरे।

भेलाले जयराम खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी सचिव भुवन घलान लगायतका नेताहरु स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित: १६ असार २०८० १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App