१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

श्रीलङ्का –  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन्। 

श्रीलङ्काको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा सोमबार बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गरिएको समारोहमा राष्ट्रपति श्रीसेनाले सो वचन दिएका हुन् । 

यसअघि राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 
सो अवसरमा राष्ट्रपति भण्डारीले दुवै देशमा दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपति श्रीसेनालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका थिए । 

समारोहमा श्रीलङ्काका न्याय तथा बुद्ध शासनमन्त्री डा विजेयादास राजपक्ष, साना उद्योगमन्त्री दया गामागे र वैदेशिक रोजगारमन्त्री तालता अतुकोरल, उपविदेशमन्त्री डा हर्ष डेसिल्भा र केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेलगायत उच्चपदस्थ सरकारी अधिकारीको सहभागिता थियो । 

त्यस्तै सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायत भ्रमण टोलीका सदस्यको सहभागिता थियो । 

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेले उपहारस्वरुप चाँदीका कलात्मक सामग्री प्रदान गरे । त्यसपछि राष्ट्रपति भण्डारी क्यान्डीबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट कोलम्बो आइपुगेकी छिन् । रासस

प्रकाशित: १ जेष्ठ २०७४ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App