१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

भोट हाल्न नपाउँदा पीडा

काठमाडौं – दीपिका पाण्डेले २०६४ र २०७० को संविधानसभा चुनावमा नवलपरासीबाट मतदान गरिन् । बिहेपछि उनको घरजम चितवनमा भयो । श्रीमान्को काम काठमाडौंमा भएकाले उनी पनि यतै बस्दै आएकी छिन् । काखे छोरीका कारण उनी मतदान गर्न चितवन जान नसक्ने भएकी छिन् । ‘छोरी बिरामी भइरहन्छे कसरी जानु,’ उनले भनिन् ,‘भोट हाल्ने मन त थियो नि ।’

त्यस्तै ओखलढुंगाकी ७५ वर्षीया ईश्वरी थापामगरले विगतका चुनावमा भोट हाले पनि यसपटक भने भोट हाल्न नपाउने भएकी छिन् । ‘बिरामी भएर काठमाडौं आएको चार महिना भयो । यो चुनावमा यस्तै भयो,’ उनले भनिन् । हजुरआमा ईश्वरीको स्याहारसुसार गर्न सँगै बसेकी नातिनी शान्तिको पनि मतदान छुट्ने भएको छ । 
दोलखाकी सरिता खड्का पनि चुनावका लागि जान नपाउने भएकी छिन् । ‘अब ढिला भइसक्यो, के जानु,’ उनी भन्छिन्, ‘अरुबेला कमाइ गर्नैपर्याे नत्र के खानु ?’

काठमाडौंमा फलफूल बिक्री गरेर गुजारा गर्दै आएकी मकवानपुर चित्लाङकी कविता बलामीले चुनावमा भोट हाल्ने रहर भए पनि नेताहरू गतिला नभएकाले त्यति उत्साहित नभएको  बताइन् । ‘यसो गर्छु उसो गर्छु भन्छन् । जितेपछि केही गर्दैनन् । म त जान्न भोट हाल्न,’ बलामीले भनिन् ।

राजधानी बस्दै आएकी धादिङ छत्रदेवी गाविस घर भएकी अनिता गुरुङ छोराछोरीकै कारण चुनावमा मतदान गर्न घर जान नपाएको गुनासो पोख्छिन् । उनका श्रीमान् कृष्णबहादुर भने उहिल्यै घर पुगिसके । ‘गाडीबाट ओर्लिएर पनि निकै हिँड्नुपर्छ,’ अनिताले भनिन्, ‘भन्टाङभुन्टुङ बोकेर कसरी जाऊँ ?’

धनगढीकी पूजा साउद छोरोको उपचार गर्न राजधानी आएकी छिन् । ‘छोरालाई सन्चो भएकै छैन कसरी चुनावमा जाऊँ’, उनले भनिन्, ‘योपालि अब यतै भइयो ।’ 

 घरपरिवारको जिम्मेवारी महिलाकै काँधमा हुन्छ । त्यसैले कामका लागि राजधानी आएका धेरै महिला स्थानीय चुनावमा मतदान गर्न घर जान पाउँदैनन् । 

सुत्केरी हुने अवस्था र भएका महिलाको स्वास्थ्यका कारण चुनावमा महिला सहभागिता कम हुने सम्भावना प्रसूति गृह थापाथलीकी बरिष्ठ नर्स आशालक्ष्मी प्रजापति व्यक्त गर्छिन् । उनका अनुसार प्रसूति  गृहमा दैनिक ६५ जना महिला सुत्केरी हुन्छन् । शुक्रबारदेखि आइतबारसम्म सुत्केरी हुने समय तोकिएका झन्डै दुईसय महिलाले स्वतः मतदान गर्न नपाउने भएका छन् । सुत्केरी भएर आराम गरिरहेका महिला पनि मतदानकेन्द्र टाढा भएर जान नसक्दा छुट्ने सम्भावना बढ्छ ।

‘नर्मल डेलीभरी भयो भने २४ घण्टापछि थोरै हिँडेर सजिला स्थानमा जान सक्छन् तर डाँडाकाँडा हिँड्न अलिक कठिनै हुन्छ,’ प्रजापति भन्छिन् । जोखिम अवस्थामा रहने करिब पन्ध्र प्रतिशत सुत्केरी अस्पतालमै लामो समय बस्नुपर्छ ।

बिरामीको मात्रै होइन अस्पतालमा काम गर्ने चिकित्सक र नर्सको पनि मतदान छुट्ने गर्छ । २४ घन्टामा एक पटक कामको पालो पर्छ । त्यो समयमा नजिक केन्द्र भएकाले मतदान गर्छन्, टाढा भएकाको छुट्छ ।
ती मात्र हैन निर्वाचन आयोगमै खटिएका धेरै महिला कर्मचारीहरूको मतदान छुट्ने भएको छ । आयोगकी नायब सुब्बा लक्ष्मी गैरेको मतदाता नामावली अर्घाखाँचीमा छ । ‘काम यता छ कसरी जानु’, उनले चिन्ता व्यक्त गरिन्  । 

भक्तपुर कागेश्वरी घर भएकी भगवती बेल्वासे पनि कामकै कारण मतदान छुट्ने सम्भावना रहेको बताउँछिन् । निर्वाचन आयोगकै अनुसार पनि नेपालमा महिलाको जनसंख्या बढी भए पनि महिला मतदाता संख्या भने कम छ ।

निर्वाचन आयोगका अनुसार कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ६९ लाख ४८ हजार ६ सय २५ महिला मतदाता छन् । जसमा ४९.५५ प्रतिशत महिला र ५०.४४ प्रतिशत पुरुष छन् ।

प्रकाशित: ३१ वैशाख २०७४ ०१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App