३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अधिकारबारे छलफल गर्न पोखरामा सातैजना मुख्यमन्त्री जुट्दै

राष्ट्रिय समन्वय परिषद्को बैठक पनि पोखरामै डाकियो

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय। तस्बिरः नागरिक

पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ। यसअघि जेठ १० गते हुने भनिएको भेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो। अहिले फेरि अन्तरप्रदेश भेलाको तयारी भएको गण्डकी प्रदेश सरकारले बताएको छ।  

गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले आगामि शुक्रबार र शनिबार (असार १५ र १६ गते) सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा हुने जानकारी दिईन। भेलाको पहिलो दिन आगामि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा आउने उनले बताईन।  

‘सातवटै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन थालेको हो। पहिलो दिन प्रधानमन्त्री नै आउनुहुन्छ,’ प्रवक्ता तिवारीले भनिन, ‘आन्तरिक छलफल हो। प्रदेश सरकार संचालनको अनुभव साट्ने गरि यो भेला हुँदैछ।’ संघीय सरकारले कतिपय कानुनी अधिकार नदिँदा प्रदेश सरकारले काम गर्न नसकेको अवस्थामा ती ऐन कानुन र अधिकार बारे पनि छलफल हुने उनले बताईन।  

‘केन्द्र र प्रदेश सरकारबीच भएको ग्यापलाई पूर्ण गर्नका लागि पनि छलफल हुन थालेको हो,’ उनले भनिन, ‘सातैवटा प्रदेशका मुख्यमन्त्री आउने भएकोले यो भेला महत्वपूर्ण ठानिएको छ। प्रदेशको काम गराई अनुभव र समस्यालाई पनि साटासाट गर्ने अवसर यो भेलाले दिलाउनेछ।’ प्रदेश सरकारले हासिल गरेका उपलब्धिलाई पनि यही अवसरमा साटासाट गर्ने उनले जानकारी दिईन।

उद्घाटन अघि सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुले एकल र साझा अधिकारबारे सामुहिक छलफल गरेर त्यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराउने तयारी रहेको श्रोतले बताएको छ। प्रदेशको साझा र एकल अधिकारका विषयमा गुनासो रहिरहँदा मुख्यमन्त्रीहरुले छलफल गर्ने र प्रधानमन्त्रीलाई जानकारी गराउने तयारी रहेको श्रोतले बताएको छ।  

यसअघि जेठमा तय गरिएको अन्तरप्रदेश भेलामा प्रधानमन्त्री दाहाल नआएपछि अन्तिम समयमा स्थागित गरिएको थियो। बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएपनि कार्यव्यस्तताले प्रधानमन्त्री आउन नपाउने भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको थियो। बैठकले प्रदेशलाई बलियो बनाउन अधिकार बाँडफाँटका लागि प्रधानमन्त्रीलाई दवाब दिने तयारी थियो। यसअघि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा भएको थियो।  

राष्ट्रिय समन्वय परिषद्को बैठक पनि पोखरामै

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समन्वय परिषद्को बैठक डाकेका छन। सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको पोखरामा हुने अन्तरप्रदेश भेलाको अवसर पारेर राष्ट्रिय समन्वय परिषद्को बैठक पनि पोखरामै आयोजना गर्ने तयारी भएको श्रोतले बताएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारको संयुक्त बैठकको रुपमा परिषद्को बैठक बोलाउने तयारी प्रधानमन्त्री दाहालले गरेको श्रोतले बताएको छ।  

परिषद्को अध्यक्ष नै प्रधानमन्त्री रहन्छन्। प्रधानमन्त्रीकै अध्यक्षतामा बस्ने यो बैठकमा प्रदेशका मुुख्यमन्त्री सहित संघीय सरकारका अर्थ, गृह, कानुन र संघीय मामिला, विपक्षी दलको नेता रहनेछन। यो बैठक पनि पोखरामा बस्ने तयारी भएको श्रोतले बताएको छ। परिषद् बैठक भने आगामि शनिबार बस्नेछ। राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा वर्षमा कम्तीमा एकपटक बस्ने उल्लेख छ।

प्रकाशित: १३ असार २०८० १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App