२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले – माओवादी तालमेल कार्यान्वयन हुन सकेन

गुल्मी – गुल्मीमा स्थानीय तह निर्वाचनको लागि केही राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल अन्तिम समयमा आएर कार्यान्वयन हुन नसकेको हो । 

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा विभिन्न पदहरू बाँडेर चुनावी मैदानमा उत्रिने सहमति जनाएका एमाले र माओवादी केन्द्रको सहमति केही दिनमै भत्किएको हो । एमाले र माओवादीबीच गत वैशाख ८ गते एक विज्ञप्ती जारी गर्दै तालमेल गरेर चुनावामा भाग लिने सहमति भएको थियो । एमाले र माओवादी केन्द्र बीच भएको सहमति अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्ष सहित सहमति गरेर चुनावी तालमेल भएको थियो । 

स्थानीय स्तरबाट एमाले कार्यकर्ताको चर्को विरोधपछी चुनावी तालमेल  कार्यान्वयन नहुने अवस्थामा पुगेको एमालेका जिल्ला स्तरका एक नेताले बताए । जिल्लामा रहेका कुल ९३ वडा मध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमति भएको थियो । दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमति भएको थियो । सहमति अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका पाउने सहमति भएको थियो । तालमेलको चर्को विरोध आएपछि एमालेले माओवादीलाई दिएका गाउँपालिकाहरूमा उम्मेदवार उठाएको छ । माओवादी केन्द्रलाई दिएका गाउँपालिका मध्ये धुर्कोट गाउँपालिकामा एमालेको तर्फबाट कृष्ण घिमिरे अध्यक्षमा उम्मेदवार बनेका छन् भने मालिका गाउँपालिकाबाट रितबहादुर थापाको उम्मेदवारी दिने एमालले निर्णय गरेको छ । केन्द्रलाई दिएको चन्द्रकोट गाउँपालिकामा एमालेको तर्फबाट मिमलाल श्रेष्ठलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । 

नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार एमाले माओवादी केन्द्र तालमेल गरेर चुनावी मैदानमा जाने सहमति भएको भएपनि तल्लो तहमा ठूलो विरोध आएकाले केही समस्या उत्पन्न भएको बताए । हामीहरू त सहमति कार्यान्वयन गर्ने भनेर लागिरहेका थियौँ अध्यक्ष पन्तले भने, ‘तलबाट असहमति आएकाले अप्ठारो पर्याे ।’ यता माओवादी केन्द्रले भने एमालले धोका दिएको जनाएको छ । हामीहरू सहमति अनुसार नै चुनावी प्रचार प्रसार गदै हिँडेका छौँ माओवादी केन्द्रका नेता तथा धुर्कोट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार भुपाल पोखरेलले भने,  ‘अझै पनि अन्तिम समयसम्म एमालेसँग नै तालमेल गरेर अगाडि बढ्ने सोचमा रहेका छाैँ ।’ 

एमालेले गाउँपालिकाहरूमा स्थानीय कार्यकर्ता र नेताहरूको सहमति भए आवश्यकता अनुसार तालमेल गर्न सकिने जनाएको छ । स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । जिल्लामा माओवादी केन्द्र खासै बलियो नभएपनि निर्णायक हुने भने देखिएको छ । 
 

प्रकाशित: २८ वैशाख २०७४ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App