९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

 काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको दाबी गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बिहीबार बिहान  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले भने,  ‘नेपाली कांग्रेस खुला किताब जस्तो छ । कांग्रेसले कुनै पनि कुरा लुकेर गर्दैन । कांग्रेसको इतिहास सबैलाई थाहा छ । कांग्रेस कस्तो पार्टी हो जनताले बुझ्नु पर्छ ।’ उनले भने, ‘कुन पार्टीले राष्ट्र, जनता र राजनीतिक परिवर्तनका लागि योगदान गरेको छ, मतदाताले बुझ्नु पर्छ । भरपर्दो पार्टी कांग्रेस हो । हरेक क्रान्ति र राजनीतिक परिवर्तन कांग्रेसले गरेको छ ।’

०४६ सालको जनआन्दोलनका बेला गणेशमान सिंहकै दवावमा कम्युनिष्ट पार्टीहरूलार्इ बाममोर्चा बनाउन लगाएर पछाडि–पछाडि घिसारेर ल्याएको बताउँदै उनले भने, ‘कम्युनिष्ट पार्टीहरूको विश्वास हुँदैन । उनीहरू बोली र व्यवहारमा फरक छन् । बोलेको कुरा कहिल्यै पूरा गर्दैनन् ।’ 

पहिलो संविधानसभामा कम्युनिष्ट पार्टीको बहुमत हुँदाहुँदै संविधान ल्याउन नसकेको आरोप लगाएका सिंहले भने, ‘पहिलो संविधान सभामा चार–चार जना विद्वान कम्युनिष्ट नेताहरू माधवकुमार नेपाल,  पुष्पकमल दाहाल,  झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । संविधान जारी गर्न सकेनन् । आखिर संविधानसभा विघठन गरे । दोस्रो संविधानसभामा जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो ।’

उनले कांग्रेस नेतृत्वमा जनतालाई अधिकार दिने गरी बनाइएको संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू विजयी हुनु अनिवार्य रहेको दाबी गरे । सिंहले भने, ‘कांग्रेसको पक्षमा जनलहर आएको छ । कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित भइसकेको छ ।’ चन्द्रागिरी नगरपालिकामा कांग्रेसले घनश्याम गिरीलाई मेयरको रुपमा प्रस्तुत गरेके छ ।  

०१५ सालमा जननिर्वाचित प्रथम प्रधानमन्त्री विपी कोइरालाले जनताका पक्षमा कार्यक्रम ल्याएपछि डराएको तत्कालीन राजा र राणाहरूले षड्यन्त्र गरेर जेल हालेको स्मरण गर्दै कांग्रेस नेता सिंहले भने,  ‘अहिले पनि कांग्रेसले जनताको पक्षमा काम गरेको देख्न नचाहने कम्युनिष्ट पार्टीका नेताहरू परिवर्तन चाहँदैनन् ।’ 

प्रकाशित: २८ वैशाख २०७४ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App