२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

पशुपतिको जलहरीमा राखिएको सुनको परिमाणबारे यथार्थ जानकारी पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउनसमेत माग गरे।  

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।  

‘आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिले त्यहाँको सुनको खोजी गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौं। कति सुन हराएको हो, कति सुन बाँकी छ, के स्थिति हो,’उनले भने।  

‘यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन , यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध  

गर्न चाहन्छु।’  

कांग्रेसका सांसद प्रदीप पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको बताए। ‘जलहरीबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको उनको भनाइ छ। महालेखाको प्रतिवेदनले प्रष्ट औंल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्यो,’ उनले भने। जलहरीबारे छानबिनका लागि संसदीय छानबिन बनाउनुपर्ने उनले बताए। ‘यो गम्भीर विषय छानबिनका लागि सदनले एउटा समिति बनाओस्। यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्,’ उनले भने, ‘पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो। भ्रष्टाचार कही पनि हुनु हुँदैन। धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसारसामु हाम्रो शिर निहुरिएको छ,’ पौडेलले भने। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले लागुपदार्थ दुव्र्यसनीमा परेकाहरूलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताइन्। उनले लागुपदार्थ दुव्र्यसनमा फसेकालाई अपराधीको जस्तो व्यवहार गर्न नहुने भन्दै समस्या समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने भनाय राखिन्। ‘विश्व स्वास्थ्य संगठनले लागुपदार्थ दुव्र्यसनलाई रोगको रूपमा लिएको छ, तर, हाम्रो परिवेशमा मुख्य समस्या भने कै यसलाई मनोसामाजिक समस्या भन्दा पनि अपराधको रूपमा मान्नु हो,’उनले भनिन्।  

माओवादी केन्द्रकी नारायणी शर्माले भारतसँग सीमा जोडिएको दाङ जिल्लामा विभिन्न स्थानमा सीमास्तम्भ नभएको बताइन्। कतिपय स्थानमा सीमास्तम्भ बाढीले बगाएको र कतिपय स्थानमा जीर्ण भएको भन्दै सीमास्तम्भलाई व्यवस्थित बनाउन माग गरिन्। ‘भारतसँग जोडिएको सीमा दाङको बढवा गाउँपालिका–८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौं भएको छ तर, पुनस्र्थापना अहिलेसम्म नभएको उनको भनाइ छ।  

प्रकाशित: १२ असार २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App