१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

साइँली दनुवारलाई चुनाब लागेन (भिडियो)

साइली दनुवार

डुकुछाप (ललितपुर)— स्थानीय तह निर्वाचन हुन ६ दिन बाँकी रहँदा चोक चोकमा जम्मा भएर मान्छेहरु चुनावका अड्कलबाजी गर्न ब्यस्त छन्। सहरका चोक र कोठाभित्र स्थानीय तहको चुनाबबारे विश्लेषणबाहेक अरु कुराहरु थोरै सुनिन थालेका छन्। सामाजिक सञ्जालको त झन् कुरै नगरौं। त्यहाँ सम्भावित विजेता र नतिजाको आँकलन नै भइरहेको छ।

गाउँ र सहर निर्वाचनमय भइरहँदा ललितपुरको डुकुछापको दनुवार बस्ती भने एउटा कुनामा चुपचाप आफ्नो कष्टकर जीवन बिताइरहेको छ। न सडक छ, न त खानेपानीको राम्रो व्यवस्था। दुई वर्ष अघिको भूकम्पले अधिकांश घरहरु चर्किएका छन्। अझै धेरैको बास टहरामै छ।

‘नजितेसम्म यो गर्छु,त्यो गर्छु भन्छन्, जितेभने केही गर्दैनन्’ ३३ वर्षीया पुतली दनुवारले भनिन्,  ‘काँग्रेसले जिते बाटो बनाउने, घरघरमा धारा ल्याइदिने भनेका छन् फेरि एमाले हारे भने वृद्ध भत्ता पाइँदैन भन्छन्।’

बस्तीमा चुनावबारे न सोच्ने फुर्सद छ न हेक्का। बरु धेरै मान्छे आफ्नो किसान कर्मममा व्यस्त छन्। आउने आइतबार देशको करिब आधा भागमा स्थानीय तहको चुनाव हुँदैछ। तर गोदावरी नगरपालिका भित्रको यो दनुवार बस्तिमा चुनावी चहलपहल छैन। 

बारीमा बाख्रा चराउँदै गरेकी ५३ वर्षीया साइँली दनुवारले चुनाव हुने हल्ला त सुनेकी छन् तर कहिले हुँदैछ भन्ने थाहा छैन। उनको घरबाट चुनावमा भोट हाल्ने सात जना छन् तर अहिलेसम्म उनीहरुलाई चुनाव लडेका उम्मेदवार, चुनाव चिन्ह र भोट कसरी हाल्ने भन्ने केही ज्ञान छैन।

‘चार वर्ष अघि ऊ त्यो स्कूलमा गएर भोट हालेको, त्यस्तै चुनाव होइन र ?’ पारितिर रहेकोएक विद्यालय देखाउँदै उनले भनिन् ‘खै कतिवटामा भोट हाल्ने के गर्ने केही थाहा छैन, सिकाउन पनि कोही आएका छैनन्।’

बारीमा आलु खन्दै गर्दा भेटिएका ६२ वर्षिया डबल दनुवारलाई अहिले कुन चुनाब हुन गइरहेको हो भन्ने पत्तो छैन। ‘एउटा चिन्ह बिग्रियो भने लाइन बसेर भोट हालेको खेर जान्छ भन्छन् तर पनि भोट त हाल्नै पर्‍यो नि’ उनी भन्छन्।

खेती किसानी गरेर जीवन निर्वाह गरिरहेको उनको परिवारका दुई छोराहरु रोजगारीका लागि मलेसियामा छन्। दनुवार अहिले दुई बुहारी र नातिनातिनासँग भूकम्पले आधा चर्काएको घरमा बस्छन्। भोट हाल्ने मन भए भएपनि दलहरुले देखाउने आश्वासन र आशामा उनलाई भरोसा छैन।

एकान्तकुनाबाट मोटरसाइकलमा ४५ मिनेटमा पुगिने यो बस्तीमा चुनावबारे धेरै दुविधा छन्। उम्मेदवार छान्ने विषयमा पनि उनीहरु स्पष्ट छैनन्। उम्मेदवारका पार्टीबारेको जानकारी त परैको विषय भयो। पुराना दलहरुका चुनाब चिन्हबारे उनीहरुले सुनेका छन्।

भोट माग्न नौला मान्छेहरु आउन थालेका छन्। अरु बेला जस्तै आश्वसन पनि देखाउन सुरु गरेका छन्। उनीहरुलाई विश्वास छ अहिले उम्मेदवारले दिएका आश्वसन कहिलै पूरा हुने छैनन्। ‘नजितेसम्म यो गर्छु,त्यो गर्छु भन्छन्, जितेभने केही गर्दैनन्’ ३३ वर्षीया पुतली दनुवारले भनिन्,  ‘काँग्रेसले जिते बाटो बनाउने, घरघरमा धारा ल्याइदिने भनेका छन् फेरि एमाले हारे भने वृद्ध भत्ता पाइँदैन भन्छन्।’

अहिले प्लस टु पढ्दै गरेका विजयकुमार दनुवार कलेजमा चुनाबी चर्चा अलिअलि सुनेको बताउँछन्। उनले कुनै पार्टीका घोषणापत्र पढ्न पाएका छैनन्। निर्वाचनमा पहिलो पटक मतदान गर्न गइरहेका उनी भन्छन्, ‘हाम्रोमा उम्मेदवार को को छन् थाहा छैन, उनीहरुका एजेन्डा के के हुन् पत्तो छैन।’

निर्वाचन आयोगले मतदाता शिक्षा पुर्‍याउन नसकेको यो बस्तीमा केही दिनयता एकादुई उम्मेदवार भोट माग्न आउन थालेका छन्। उनीहरुले स्थानीय विकासका लागि आश्वसन पनि बाँड्ने गरेका छन्। तर गाउँले भोट हालेर जितएकाहरुले आफ्नो वाचा पूरा गर्लान् भन्ने फिटिक्कै विश्वास छैन।

भिडियोः प्रबीन कोइराला

प्रकाशित: २५ वैशाख २०७४ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App