१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

फक्ताङलुङको कूल बजेट करिव ४३ करोड,अध्यक्षद्वारा सामाजिक संस्था कोषको घोषणा

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति लावुङ लिम्बू। तस्बिर: नागरिक

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि कूल ४२ करोड ९३ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। पालिका उपाध्यक्ष बिकास साम्रा(रविन)ले प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार चालूतर्फ २८ करोड ३५ लाख ८९ हजार रुपैयाँ र पुँजीगततर्फ १८ करोड ५७ लाख ५७ हजार रुपैयाँ बजेट रहेको छ।

पालिकाले उच्च हिमाली क्षेत्र पुग्ने पर्यटकहरुको स्वास्थ्य संम्वेदनशिलतालाई दृष्टीगत गरी कञ्चनजंघा आधार शिविर सहितका क्षेत्रमा आपतकालिन अक्सिजन सिलिण्डर सहितका उपकरण राख्ने भएको छ।  कञ्चनजंघा आधार शिविर पाङ्पेमा सहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङ्मा यो सुविधा प्रदान गर्ने गाउँपालिकाको कार्यक्रममा छ।  

पर्यटकीय पदमार्ग स्तरोन्नती गरिने  

गाउँपालिकाले अम्जिलेसा–ठयाङ्गेम–ग्याब्ला–घुन्सा–खम्बाछेन हुँदै कञ्चनजंघा आधार शिविर(नर्थ बेसक्याम्प)सम्मको पदमार्ग,हेल्लोक–लासाङ–तोरोङ्देन–चाईराम हुँदै कञ्चनजंघा आधार शिविर(साउथ बेसक्याम्प)सम्मको पदमार्ग,ग्रेट हिमालयन ट्रेल अन्र्तगत घुन्सा–नाङगोला–ओलाङचुङगोला हुँदै लुम्बासुम्बा पदमार्ग,ग्याब्ला–हाँसपोखरी हुँदै ओलाङचुङगोला पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–ग्याब्ला–घुन्सा पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–जोङ्गिन–ओलाङचुङगोला–सिङ्जेमा तालसम्मको पदमार्ग,खेजेनिम–वाग्मापोखरी–मानाभरा–सिरेगु–माङ्छाँगा–मुरिङलाडाँडा पदमार्ग,तापेथोक–वोईताङ्गु हुँदै पाथीभरा मन्दिर जाने पदमार्ग,सिँवा–लिङखिम हुँदै पाथीभरा मन्दिर सम्मको पदमार्ग र सावादिन–बाघथला–वाग्मापोखरी हुँदै फुङ्फुङ्गे झरना सम्म पुग्ने पदमार्गको स्तरोन्नती गर्ने भएको छ।  

जङ्क फुडमा प्रतिवन्ध,दिवा खाजामा पालिकाबाट रकम थप  

गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत विद्यालयहरुमा विद्यार्थीलाई दिवाखाजामा जङ्कफुड प्रतिवन्ध गरेको छ। उसले स्थानीय उत्पादनको प्रयोगलाई अनिवार्य गर्ने नीति लिएको छ भने दिवाखाजावापत संघीय सरकारबाट प्राप्त हुने प्रतिविद्यार्थी १५ रुपैयाँमा ५ रुपैयाँ पालिकाकोतर्फबाट थप गर्ने घोषणा गरेको छ।  

गाउँपालिका अध्यक्षद्वारा सामाजिक संस्था कोषको घोषणा

गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङ लिम्बूले भने आफूले  पाउने अहिले सम्मको मासिक सुविधावापतको करिव ६ लाख रुपैयाँ सामाजिक संस्थाको कोषमा जम्मा गरी गाउँपालिकाबासीको हितमा खर्च गर्ने गरी घोषणा गरेका छन्। उनले आफूले पाउने ५ लाख ८६ हजार ८ सय रुपैयाँ फक्ताङ्लुङ डेभलपमेन्ट फाउण्डेसन नामक संस्थाको कोषमा जम्मा गरेको घोषणा गरेका हुन्। अध्यक्ष आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आफ्नो मासिक सुविधा अबबाट यहिँ कोषमा जम्मा गर्ने बताएका हुन्। उनले आफू उम्मेदवार हुँदै यो सुविधा नलिने घोषणा गरेका थिए।

अध्यक्षले प्रयोग गर्ने सवारीबाट २ सय ६५ ले पाए सुविधा

मासिक सुविधा नलिने र पालिका अध्यक्षले प्रयोग गर्ने सवारी पालिकाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान प्रयोग गर्ने बताएका लिम्बूले प्रयोग गर्ने सवारीबाट २ सय ६५ जनाले सुविधा पाएको गाउँपालिकाले जनाएको छ। पालिकाले २ थान एम्बुलेन्स खरिद गर्ने प्रकृया चलिरहेको बताउँदै एम्बुलेन्स प्राप्त भएपछि अहिले बिरामी ओसारपसारमा प्रयोग भइरहेको सवारीलाई कार्यालय र अन्य बिशेष प्रयोजनमा प्रयोग गर्ने गाउँपालिकाले नीति लिएको छ।  

जिल्लाकै क्याम्पसमा पढे फक्तालुङका विद्यार्थीले उच्च शिक्षा छात्रवृत्ति पाउने

 

स्थायी ठेगाना फक्ताङ्लुङ गाउँपालिका भएका फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ। पालिका प्रस्तुत गर्दै जिल्ला भित्रकै क्याम्पसमा अध्ययन गर्न प्रोत्साहित गर्ने र उच्च शिक्षा अध्ययन गर्ने पालिकाका विद्यार्थीलाई छात्रवृत्ति समेत दिने दोहोरो लाभ हुनेगरी लागि यो कार्यक्रम सुरु गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। फक्ताङ्लुङ गाउँपालिकामा माध्यमिक तह(कक्षा १२)सम्म मात्र अध्ययन सुविधा उपलब्ध छ। गाउँपालिकाले पालिकाको वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालय र वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माध्यमिक बिद्यालयमा आगामी वर्षभित्र छात्रावास सहितको भवन निर्माण गर्ने भएको छ। उल्लेखित यी दुबै विद्यालयहरुमा ईञ्जिनियरिङ,कृषि र पशु विज्ञान अध्यापन कार्य सुरु गर्न पहल गर्ने गाउँपालिकाले नीति लिएको छ।  

प्रकाशित: ११ असार २०८० ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App