११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखरा-लेखनाथ महानगरपालिका : नेतृत्व दोहोर्‍याउने दाउ

पोखरा- नेपाली कांग्रेस र नेकपा एमाले मुलुकको सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरको नेतृत्व लिने दाउमा छन्। यसअघिका दुई निर्वाचनमध्ये कांग्रेस र एमालेले एक/एक पटक पोखराको नेतृत्व सम्हालेका छन्। २०४९ को स्थानीय निर्वाचनमा पोखरा नगर प्रमुख तथा उपप्रमुखमा कांग्रेस विजयी भएको थियो। २०५४ को निर्वाचनमा भने एमालेले बाजी मारेको थियो। यसपटक चुनाव जित्न दुवै दललाई चुनौति छ।

यसअघिका दुई निर्वाचनमध्ये कांग्रेस र एमालेले एक/एक पटक पोखराको नेतृत्व सम्हालेका छन्।

नतिजा आफ्नो पक्षमा पार्न कांग्रेसले माओवादीकेन्द्रसँग तालमेल गरेको छ। केन्द्रस्तरीय सहमतिपछि पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारीसमेत फिर्ता लिएका छन्।

यसअघिका पोखरा र लेखनाथ नगरपालिकामा गाभिएर ठुलो आकारको महानगरपालिका बनेको छ। त्यसैले यसअघिको निर्वाचनमा भन्दा यो पटकको निर्वाचनले झनै बढी महत्व पाएको छ।

२०४९ को स्थानीय निकाय निर्वाचनमा पोखरामा ६५ हजार ३ सय ७ जना मतदाता थिए। ३९ हजार ३ सय ३५ मत त्यो निर्वाचनमा खसेको थियो। ६० प्रतिशत भन्दा बढी मत खस्दा त्यो बेला १९ हजार ५२ मत पाएर कांग्रेस उम्मेदवार प्रमुखमा विजयी भएका थिए। १८ हजार ७ सय ७३ मत ल्याएर कांग्रेसकै उम्मेदवार उपप्रमुखमा विजयी भए। त्यो बेला पोखरा १८ वडामा सीमित थियो।

२०५४ मा पोखरामा वडा सोही कायम भए पनि मतदाता भने घटेर ५३ हजार ८ सय ४४ पुगेका थिए। ३८ हजार ४४ मत खसेको सो चुनावमा १६ हजार ९ सय ३ मत ल्याएर एमाले उम्मेदवार प्रमुखमा विजयी भए। त्यस्तै १७ हजार १८ मत पाएर एमालेकै नेताले उपप्रमुख जितेका थिए।

२०५४ मा स्थानीय निर्वाचन हुँदा लेखनाथ समेत नगरपालिका बनिसकेको थियो। त्यो बेला लेखनाथका १५ वडामा २२ हजार ७ सय ७ जना मतदाता थिए। १६ हजार ४ सय ८३ मत खसेको सो चुनावमा ७ हजार ९ सय ८१ मत पाएर एमालेका उम्मेदवार प्रमुखमा विजयी भएका थिए। त्यस्तै ८ हजार २३ मत पाएर उपप्रमुखमा पनि एमाले नै विजयी भएको थियो।

पोखरा र लेखनाथ गाभिएपछि बनेको महानगरमा अहिले ३३ वडा छन्। महानगरमा१ लाख ६८ हजार ६७ मतदाता छन्। ठूलो आकारको महानगरमा प्रमुख र उपप्रमुखका दाबेदार पनि नयाँ नै छन्। केहीले सानो आकारको स्थानीय निकायको अनुभव सम्हाले पनि ठूलो आकारको नगर नेतृत्वको अनुभव कसैसँग छैन।

पोखरा २०१६ मै नगरपालिका बनेको थियो। २०५२ मा उपमहानगर बनिसक्दा पोखरा १८ वडामा विभाजित थियो। २०७१ मा केही गाविस मिसाएर उपमहानगरलाई २९ वडामा विस्तार गरिएको थियो। अहिले पोखरा र लेखनाथ गाभिएर मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिका बनेको छ।

अघिल्ला निर्वाचनको तुलनामा यो पटक मतदाता निकै नै बढेकोले निर्वाचन परिणाम दल र उम्मेदवारले सोचेजस्तो नहुने विश्लेषकको भनाई छ। पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विश्व घिमिरे लामो समय निर्वाचन नहुँदा अघिल्लो पटकको तुलनामा मतदाता धेरै थपिकोले अहिले एक–एक मतको महŒव रहने बताउँछन्। 'अहिलेका मतदाता दल भन्दा पनि व्यक्ति हेरेर भोट हाल्छन्। भिजन भएको र पोखरा र लेखनाथको विकास गर्न सक्ने उम्मेदवारलाई मत जान्छ,' घिमिरेले भने, 'मतदाता पहिलेका जस्ता छैनन्। अहिले पढेलेखेका र विश्व परिधि बुझेका मतदाता भएकोले अघिल्ला निर्वाचनको परिणामले निश्चित गर्दैन।'

पोखरा–लेखनाथ महानगरपालिकाको नाममा वैचारिक द्वन्द्व रहँदा पनि यसले निर्वाचनमा असर पार्ने उनी बताउँछन्। 'पोखराका बासिन्दाले पोखरालाई मात्र महानगर ठान्छन् र नाम राख्दा पनि सकेसम्म पोखरा महानगरपालिका रहे हुन्थ्यो भन्ने थियो। उता लेखनाथबासीको भावनासँग त्यस क्षेत्रका मतदाता नजिक छन्,' घिमिरेले भने, 'पोखरा र लेखनाथलाई समेट्ने उम्मेदवार नै मतादाताको रोजाईमा पर्छन्।'

पोखरा र लेखनाथमा हाम्रा मतदाता यति नै छन् भनेर कुनै पनि दलले दाबा गर्न नसक्ने उनले बताए। 'समय अनुसार मतदाताको सोचाई फरक भइसकेको छ। युवापुस्ताको निकट हुने उम्मेद्वारले जित्ने सम्भावना हुन्छ,' उनले भने, 'समय, परिस्थिति र प्रविधिले अहिले मतदाता फेरिएका छन्। पहिलेजस्तो उम्मेदवारले भनेको कुरामा मतदाता विश्वास गर्दैनन्।'

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल पनि हिजो र आजका मतदातामा भिन्न सोच भएकोले उम्मेदवार वा दलले भन्दैमा निकट हुन नसक्ने बताउँछन्। '२०४९ र २०५४ जस्ता मतदाता अहिले छैनन्। परिवर्तित मतदाता धेरै छन्। २०५४ मा जन्मेको व्यक्ति अहिले मतदाता बनेका छन्,' दाहालले भने, 'त्यही भएर ती मतदाता कुनै पनि दलका नहुन सक्छन्। हिजो मेरो भन्ने अहिले नहुन सक्छ।'

मतदाता नयाँ भएकोले उनीहरूले उम्मेदवारलाई फरक तरिकाले हेर्ने उनले बताए। 'अहिलेका मतदाता पैसा दिएर किन्न सकिन्न। राम्रो नेता हेरेर अहिले भोट हाल्छन्,' दाहाल भन्छन्, 'स्थानीय निर्वाचन भएकोले अवस्था फरक छ।'

स्थानीयबाहेक संविधानसभा निर्वाचन परिणामको आधारमा पनि दलहरूले यति नै मत पाउँछु भन्ने दाबी गर्न नसक्ने उनी बताउँछन्। 

पृथ्वीनारायण क्याम्पसकै राजनीतिशास्त्रका अर्का प्राध्यापक ठानबहादुर क्षेत्री ठूलो आकारको महानगरमा स–साना काम पनि गर्छु भन्ने उम्मेदवारलाई मतदाताले साथ दिने बताउँछन्। 'दलहरूले साना कुरामा ध्यान दिएका छैनन्। जसले जनतालाई सुशासनको अनुभव दिन्छ,' उनले भने, 'दलहरूले ठूला कुरा मात्र गरेका छन्। ठूला कुरा गरेर अब जनताले पत्याउँदैनन्।'

यसअघिका निर्वाचनमा दलको आदर्शले काम गरे पनि अहिलेका युवापुस्तामा त्यसको प्रभाव नपर्ने उनी बताउँछन्। 'प्रजातन्त्र युवालाई चाहिएको हो। त्यहीँ भएर युवापुस्ता फकाउने दल नै अहिले सफल हुनेछन्,' क्षेत्रीले भने, 'अब पैसा बाँडेर निर्वाचन जितिन्छ भन्ने हिजोको चलन परिवर्तन भएको छ। अब पैसा बाँडेर मतदाता किन्न सकिन्न।'

उम्मेदवारहरू भने पोखराको समस्यासँग जानकार रहेको भन्दै अधिक मत आफ्नो पोल्टामा आउने दाबी गर्छन्। महानगरका दाबेदार कांग्रेसका उम्मेदवार रामजी कुँवर पोखराको समस्यासँग पूर्ण रूपमा जानकार रहेकोले ती समस्या समस्यालाई सम्बोधन गर्ने आधार आफूसँग रहेकोले विजयी नजिक रहेको दाबी गर्छन्। ठूलो आकारको महानगरसँग समस्या पनि ठूलै रहेको उनले बताए। 'अब पोखरालाई भिन्दाभिन्दै रूपमा हेर्न मिल्दैन। आजको पोखराले ठूलो आकार लिइसकेको छ। त्यहीँ भएर हेराईको आकार बढाउनुपर्छ,' उनले भने।

एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका मानबहादुर जिसी हिजोको गाउँ, सानो आकारको नगरपालिका र सहर मिलेर अहिले ठूलो आकारको महानगर बनेकोले स्थानीयको मनोविज्ञान बुझेर अघि बढ्नुपर्ने बताउँछन्। 'हिजो पोखरा निकै सानो थियो। अहिले सबैखालका निकाय यसमा मिसिएका छन्। त्यहीँ भएर हामीले पनि फरक ढंगले हेर्नुपर्छ,' उनले भने, 'गाउँका बासिन्दालाई सहरमा परेको अनुभव अहिले छ। तर, उनीहरूसँग विकास पुगिसकेको छैन। अब हाम्रो दायित्व विकासको पखाईमा रहेका गाउँलेलाई सहरको अनुभव दिने हो। त्यसले उम्मेदवारलाई जित्न सघाउँछ।'

प्रकाशित: २३ वैशाख २०७४ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App