काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेश नमान्ने बताएका छन्। बुधबार उच्च अदालत पाटनले हिन्दी सिनेमा चलाउन दिन अल्पकालीन अन्तरिम आदेश दिएपछि बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्।
अदालतको आदेश आउने बित्तिकै बालेनले सामाजिक संजालमा स्टाटस राख्दै देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन्।
उनी लेख्छन्, 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।'
मेयर बालेनले अदालत र सरकार भारतको गुलाम भएको आरोप समेत लगाएका छन्। उनले जुनसुकै सजाय भोग्न तयार भएकाे तर फिल्म चल्न नदिने अडान पनि लिएका छन्।
उनी अगाडी लेख्छन्, 'फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ। यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।'
हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको हाे।
प्रकाशित: ७ असार २०८० ०८:२७ बिहीबार





