२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चार दलले बनाए मोर्चा, प्रस्तावक बाहिरै

सत्तामा रहेका ठुलो दल कांग्रेसबाहेक वामपन्थी धारका पार्टीहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको हो। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक घोषणा भएको हो।

मोर्चा घोषणा गर्नेमा तीनवटा वामपन्थी दल छन्। जसपाको पृष्ठभूमि पनि वामपन्थी धारकै रहेको छ। मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित भएनन्। जसपाले मोर्चाबाहिर रहने धम्की दिएपछि भट्टराईको समूहलाई बाहिर राखिएको बताइएको छ। भट्टराईकै योजनामा समाजवादी मोर्चाको अवधारणा बाहिर आएको थियो तर अन्तिम अवस्थामा उनकै पार्टीलाई बाहिर राखेर सोमबार मोर्चा घोषणा भएको हो।

समाजवादी मोर्चा बनाउन माओवादी केन्द्र, जसपा, नेकपा एस र नेसपाले संवाद समिति बनाएका थिए। संवाद समितिमार्फत समाजवादी मोर्चा बनाउन निरन्तर छलफल हुँदै आएको थियो। छलफलमा भट्टराईको पनि सहभागिता हुँदै आएको थियो। प्रधानमन्त्री दाहालसमेतले उपेन्द्र यादव र बाबुराम भट्टराई दुवैलाई समेट्न गरेको प्रयास असफल भएको थियो। 

सत्ता समीकरणका कारण दाहालले जसपालाई साथ लिएर हिँड्नुपर्ने बाध्यता भएपछि भट्टराई सोमबारको कार्यक्रममा उपस्थित नभएका हुन्। मोर्चा घोषणा कार्यक्रममा दाहालले कार्यक्रममा बाबुराम छुटेको विषयमा कुनै अभिव्यक्ति दिएनन्। बरु उनले एमाले र माओवादी केन्द्रको एकता हतारमा गरिएको भन्दै पश्चात्ताप गरे। मोर्चा घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता भए पनि लामो समय टिकाउन नसकेको उल्लेख गर्दैै पहिला हतार गरेकोमा पछुताउनुपरेको बताए।

‘एमालेसँग हतारमा एकता गर्नु गल्ती थियो। हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनुपथ्र्यो,’उनले भने। उनले अहिले बनेको समाजवादी मोर्चामा आबद्ध सबै दलको हैसियत स्वतन्त्र हुने दाबी पनि गरे। अहिले शान्तिप्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै दाहालले परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा उभिने बताएका थिए। ‘दशकौंदेखि विभिन्न खालको संघर्ष र बलिदानको शृंखलाबाट गुज्रेका पार्टी र नेताहरूलाई बदनाम गर्ने, हजारौं बेपत्ता र सहिदको त्याग तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेले टाउको उठाउन खोजेका छन्। के कुरा साँचो हो भने यो मोर्चा तिनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो,’ दाहालले भने।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैको विरुद्ध प्रयोग नहुने बताए। उनले कोहीकसैको पक्षपोषण गर्न र कसैको विरोध गर्न गठन नभएको स्पष्टीकरण दिएका हुन्।  

उनले समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रतिगमन र यथास्थितिविरुद्ध यो मोर्चा बनेको बताए। ‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं। हामी देशभक्त शक्तिहरूलाई हातेमालो गर्दै लान चाहन्छौं, समाजवादी नेपालको निर्माणका पक्षमा हुनेलाई समेटेर जान चाहन्छौं,’पूर्वप्रधानमन्त्री नेपालले भने। नेपालले कांग्रेस र एमालेको नाम नलिई पछिल्लो समय भइरहेका टीकाटिप्पणीबारे स्पष्टीकरण दिँदै कांग्रेसलाई घुर्काउन र एमालेविरुद्ध मुकाबिला गर्न मोर्चा गठन नभएको बताएका हुन्। पूर्वप्रधानमन्त्री नेपालले आफूहरूलाई कसैले पनि निल्न नसक्ने पनि दाबी गरेका थिए।  

त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही पनि नेता र पार्टी तर्सिन आवश्यक नभएको बताएका थिए। उनले यो मोर्चा कुनै दलविरुद्ध र पार्टीका नेताहरूविरुद्ध नबनेको समेत बताए।  

‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरू घोषणा गर्नुअघि नै तर्सिन थाल्नुभएको छ भने आत्तिनुपर्दैन। यो देशको, जनताको हितका लागि हो,’ यादवले भने। उनले विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताए।  

सो कार्यक्रममा नेकपा एसका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने धारणा राखेका थिए। मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने उनको सुझाव थियो।  

‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस्,’ पूर्वप्रधानमन्त्री खनालले भने। कार्यक्रममा नेकपाका महासचिव विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको दाबी गरेका छन्। ‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो, नयाँ प्रयोग हो, यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन,’चन्दले भने। सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने दाबी गरे।  

मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य राखेको छ। देशको अर्थ व्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने भन्दै मोर्चाले घोषणापत्र जारी गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने, नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने, निरन्तर जनपहल र जनदबाब सिर्जना गर्ने सो घोषणापत्रमा उल्लेख छ।

मानव विकास सूचकांकमा पछाडि परेका मधेस, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्गलगायत सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने पनि त्यसमा उल्लेख छ।  

जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने, वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने, प्रगतिशील कर प्रणाली लागु गर्ने पनि घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: ५ असार २०८० ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App