२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले ल्याएको बजेटमा एक रुपता देखिएनः सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताएका हुन्।

उनले सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको बताए। सरकारले बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको उनको भनाइ छ। उनले सरकारले पुँजीगत खर्च कम भएको थाहा पाउँदा पाउँदै त्यही अनुसारका योजना बनाउन नसकेको बताए। सांसद पौडेलले सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्विर मन्त्रालयको बजेटमा आउन नसकेको पनि बताए।

उनले भने, ‘अहिलेको बजेट एकदुई ठाउँ मात्रै कनिका छरियो। सबैतिर किन छरिएन भन्ने बहस चलिरहेको छ। बजेट कनिका छरे जस्तो छर्ने काम नै बेकार हो। निश्चित योजना तय गर्ने र त्यो योजनालाई कुनै पनि हालतमा पूरा गर्नुपर्छ। नयाँ योजना नआउने हो भने पुराना योजना सबै सक्नेगरी बजेट विनियोजन गर्नुपर्ने थियो। सरकारले ल्याएको बजेटमा एकरुपता देखिएको छैन । त्यसले गर्दा समस्या भएको देखिएको छ। सरकारले पुँजीगत खर्च कम भएको थाहा भएको भए त्यही अनुसारका योजना बनाउन सक्नुपर्ने थियो। सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउन सक्ने स्थिति छैन। पुराना आयोजनाहरुलाई सम्पन्न गर्न सक्नुपर्ने छ। सरकारको दायित्व यति हो त्यो दायित्व पूरा गर्नुपर्ने भन्ने सम्पूर्ण तस्बिर मन्त्रालयको बजेटमा आउन सक्नुपर्ने थियो। अब मन्त्रालयले पूराना योजनाहरुलाई कसरी सम्पन्न गर्न सकिन्छ। काठमाडौं द्रुत मार्ग फास्ट ट्रयाक जिम्मा लिएको नेपाली सेनाले होइन। सेना भनेको सरकार होइन। सरकारको एउटा निकायले जिम्मा लिएको सडकको हालत यस्तो छ। खास कारण के हो? के समस्या भएको कारण यस्तो भएको हो। त्यसको समय र लागत कति थियो। आज कहाँ पुगेको छ। यसले सरकारको क्षमता माथि प्रश्न उठाएको छैन। यो कुनै ठेकेदार  र एउटा कुनै कम्पनीलाई दिएको होइन। नेपाली सेनालाई दिँदा समयमा नै काम सम्पन्न हुन सक्दैन। त्यसको लागत ५ गुणा बढेको छ। नेपालमा पूर्वाधार निर्माण गर्ने सन्दर्भमा नागरिकहरुले कति सास्ति पाएको छ। दुई वर्षमा सम्पन्न गर्ने भनेको काम ६ वर्ष लागेको छ।’

प्रकाशित: ४ असार २०८० ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App