जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरुको माग अनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन्।
उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान समेत माग गरे।
उनले सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वयन नभए पनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उल्लेख गरे। उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे।
उनले भने, ‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ। कार्यान्वयन होला नहोला छुट्टै कुरा छ। समितिको रुपमा हामीले त्यो जिम्मेवारी निभायौँ। कार्यदल भनेको छ त्यसले बजेट संशोधन आवश्यक छ भन्ने कुरा लिएर जानुपर्छ। मन्त्री पद सदाबहार शासक होइन। मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन। एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरु किन आवश्यक पर्ने थियो। एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छौं। त्यसैले मन्त्रालयले सांसदहरुको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरुको माग सुनिदिनुपर्छ। सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई छ। त्यसलाई संसदहरुले उपयोग गर्न सक्नुपर्छ। सरकार पक्षका सांसदहरुलाई पनि आग्रह गर्न चाहन्छु। मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ। सुदूरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेस प्रदेशको ६१ लाख रहेको छ। जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ। त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ।’
उनले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह गरेका छन्। मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको विनियोजन भएको भन्दै जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा बजेट निर्धारण गर्ने गरी संशोधन हुनुपर्ने उनको भनाइ छ।
प्रकाशित: ४ असार २०८० ०९:०६ सोमबार





