३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेतृत्वको मनोमानीले कांग्रेस कमजोर भएको गुनासो

फाइल तस्वीर

नेतृत्वको मनोमानी र विधानविपरीत सबै सेटिङका आधारमा चलाउँदा नेपाली कांग्रेस पार्टी कमजोर भएकाले अब रूपान्तरण अभियानमार्फत दबाब सिर्जना गर्नुको विकल्प नभएको इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन्।

कोसी प्रदेशस्तरीय रूपान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले केन्द्रीय नेताहरूलाई प्रशिक्षण आवश्यक भएको टिप्पणी गरे।

‘पार्टीमा रूपान्तरण मात्र नभएर पुस्तान्तरण नै आवश्यक छ,’ कांग्रेस ताप्लेजुङका पूर्वजिल्ला सभापति केशव दाहालले भने, ‘पार्टीमा सबै कुरा सेटिङमा चल्छ। हिउँद लाग्दा यो अभियान नटुंगियोस्। यसलाई टुंगोमा पु¥याउनुपर्छ।’ उनले केही सीमित नेताले मुलुक चलाएर विधानविपरीत पार्टी सञ्चालन गरेकैले गर्दा समस्या निम्तिएको बताए। ताप्लेजुङकै अर्का नेता छवि गुरुङले शीर्ष नेताका श्रीमती (भाउजु) ले पार्टी सिध्याएको जिकिर गरे। ‘विचारको राजनीति जनतासमक्ष लिएर जाँदा कांग्रेसलाई कसैले भेटनेवाला छैन,’ उनले भने।

नेपाल तरुण दल सुनसरी अध्यक्ष सिर्जन गुरुङले कांग्रेसको मुख्य बैगुन आफू र आफ्नो नेताले जे गरे पनि ठीक भनेर ठान्नु भएको बताए। ‘हामी कांग्रेस सबैमा म र मेरो नेताले जे गरे पनि ठीक अरूले जति सुकै राम्रो गरे पनि बेठीक भन्ने कुरा मुख्य बैगुन हो,’ उनले भने।

कांग्रेस इलामका नेता भेषराज आचार्यले टिकट बेच्ने देखी राजदूतको नाममा पैसा उठाउने र भ्रष्टाचारी गर्ने पनि कांग्रेस भएकाले गर्दा जनतामाझ जान गाह्रो भएको बताए। ‘कांग्रेसले जनताको सेवा गर्नुपर्छ। न्याय र समानताको पक्षमा लाग्नुपर्छ। दुःख पाएर हेपिएकाका पक्षमा वकालत गर्नुपर्छ,’ उनले भने।

उदयपुरकी प्रमिला राईले सबै मिलेर कांग्रेस बचाउने अभियानमा लाग्न आग्रह गरिन्। कांग्रेस नेता गुरुराज घिमिरेको संयोजकत्वमा सातवटै प्रदेशमा रूपान्तरण अभियान सञ्चालन भएर बुधबार इटहरीमा टुंगिएको हो। सो क्रममा केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस सुधार्नका लागि अब क्रियाशील सदस्यता वितरण प्रणालीमा खुल्ला छलफल गरेर सुधार गर्नुपर्ने, योग्यताका आधारमा लोकतन्त्र (योग्य व्यक्ति योग्य ठाउँमा), समय अनुसार संविधान परिवर्तन, निर्वाचन पणालीमा सुधार, चुनावमा नो गठबन्धन, भ्रष्टाचारमुक्त राजनीति र व्यक्ति वा गुट निरपेक्ष भए मात्र पार्टीमा रूपान्तरण आउने बताए।

कोसी प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधिको रूपमा काँग्रेस कार्यकर्ताको बाक्लो जमघट रहेको थियो। जसमा पार्टी सभापति शेरबहादुर देउवा इतर पक्ष अधिकतरको उपस्थिती रहेको थियो। 

प्रकाशित: ३२ जेष्ठ २०८० ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App