४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल-भारत परियोजनाको समीक्षा

काठमाडौं- नेपाल-भारत निरीक्षण संयन्त्रको तेस्रो बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ। संयन्त्रमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारततर्फको नेतृत्व भारतीय राजदूत सन्जिभसिंह पुरीले गरेका थिए।  बैठकमा नेपाल र भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गरिएको थियो।

बैठकमा अन्तरदेशीय रेल परियोजना, एकीकृत चेक पोस्ट, अन्तरदेशीय प्रसारण लाइन, अरुण तेस्रो जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी सडक, सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित परियोजना, पुनर्निर्माण परियोजनालगायतका मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'दुवै पक्षले द्विपक्षीय आर्थिक तथा विकास सहयोग परियोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा पुनः प्रतिबद्धता जनाए,' विज्ञप्तिमा उल्लेख छ।

नेपाल–भारत निरीक्षण संयन्त्र प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०१६ को सेप्टेम्बरमा भारत भ्रमण गर्दा गठन गरिएको थियो। निर्धारित समयमै परियोजना सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यले संयन्त्र गठन गरिएको थियो। संयन्त्रको चौथो बैठक सन् २०१७ जुनमा हुनेछ।

 

प्रकाशित: ३१ चैत्र २०७३ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App