७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

‘प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थाले’ : सहमहामन्त्री राठौर

नेपालगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर। तस्बिर: अर्जुन ओली/नागरिक

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले आन्तरिक प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थालेको बताएका छन्। नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको जिल्ला अध्यक्षहरुको घोषणा तथा सपथ ग्रहण समारोहलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै प्रमुख अतिथी राठौंरले पार्टीभित्र प्रतिस्पर्धा गर्न नसक्ने ‘अवसरवादी’ ब्यक्तीले पार्टी छाड्दैमा काँग्रेसलाई कुनै फरक नपर्ने ठोकुवा गरे।

‘पार्टीभित्र संस्थापन हुन मलाई २० वर्ष लाग्यो, छोटो समयमै पार्टीभित्र अवसर खोज्नेहरु अवसरवादी हुन्, उनीहरुले पार्टी छाड्दैमा काँग्रेसलाई केही फरक पर्दैन,’ उनले भने ‘राजनीति गर्नेले बुझ्न जरुरी छ, सबैले टिकट पाउँदैन, ७० वर्ष लामो ईतिहास भएको पार्टीमा कति कार्यकर्ता छन्, पार्टीभित्र मेहेनत गर्नेले अवसर पाउँछ।’

पार्टीभित्र पछिल्लो समयमा अनुशासन हराउँदै गएको सहमहामन्त्री राठौंरले बताए। विगतमा कृष्णप्रसाद भट्टराई चुनाव लड्दा पार्टीभित्र नेतादेखी कार्यकर्ताले अन्र्तघात गरेको परिणाम स्वरुप अहिले अनुशासन हराएको उनको भनाई छ। ‘पार्टीभित्र कसैले कसैलाई नमान्ने परिपाटीको विकास भएको छ, त्यसको समिक्षा हुनुपर्छ, त्यसैले हिजो नेताहरुले बोलेपछि अनुशासन हुन्थ्यो,’ राठौंरले भने ‘आज कसैले कसैलाई नटेर्ने अवस्थामा हामी पुगेका छौं, पार्टीभित्र अनुशासन कायम गर्नुपर्छ भनेर म हिजो देखी नै बोल्दै आएका थिए, जबसम्म पार्टीभित्र अनुशासन हुदैन, तबसम्म पार्टी अगाडी बढ्दैन।’

पार्टीमा दुई जना युवा महामन्त्री रहेको र देशभरीका पार्टी कार्यकर्ताले विश्वास गरेको औल्याउँदै सहमहामन्त्री राठौंरले भने, ‘अहिले गगन जीले भाषण गरेको सुन्छु, मैले १० वर्ष अगाडी भनेको थिए, तपाई युवाहरु देशभरी जानुस्, मेरो स्वास्थ्य ठिक छैन, १० वर्ष हामीलाई केही चाहिदैन, पार्टी बनाऔं भनेर प्रदिप जी, गगन जीहरुलाई भनेर भनेको थिए, त्यतिबेला उहाँहरुले मेरो कुरालाई बुझ्नु भएन, या त त्यसलाई नजर अन्दाज गर्नुभयो, र आज गगन जी बोल्दै हुनुहुन्छ, १० वर्षपछि कि हामीले एक्लै पार्टी बनाउनुपर्छ, म पनि त्यही पक्षमा हो, एक्लै पार्टी बनाउन सकिन्छ भने गठबन्धन किन गर्ने ?’ गठबन्धन त्यसै नभएको बताउँदै सहमहामन्त्री राठौंरले स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि आफु पार्टी बनाउन लागिपरेको बताए।

अर्को प्रसंगमा उनले २०४८ सालपछि आफुहरुले ल्याएको खुल्ला अर्थ नीतिले देश यहाँसम्म आईपुगेको दाबी गरे। काँग्रेसको खुल्ला अर्थ नीतिकै कारण मुलुकमा शिक्षा, स्वास्थ्य, सहकारी, यातायात, सञ्चार लगायत क्षेत्रको विकास भएको उनको जिकिर छ।

समारोहमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापति ओमबहादुर घर्तीमगर, काँग्रेस बर्दियाका सभापति अरुणप्रकाशसिंह राठौंर, बाँकेका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक माया पुनमगर लगायतले बोलेका थिए।

प्रकाशित: २० जेष्ठ २०८० १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App