४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

मञ्जु उप्रेती

रामेछाप– वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लामा ९० मतदान स्थल रहने भएको छ। २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकायमा निर्वाचन प्रयोजनका लागि जिल्ला सिफारिस समितिको निर्णयबाट ९० मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

निर्वाचन कार्यलय रामेछापले दिएको जानकारी अनुसार सबैभन्दा बढी मन्थली नगरपालिकामा १९ र सबैभन्दा कम गोकुलगंगा गाउँपालिकामा ६ मतदान स्थल तोकिएको छ। रामेछाप नगरपालिकामा १४, खाँडादेवी र दोरम्बा  गाउपालिकामा ११÷११, उमाकुण्ड र लिखु गाउपालिकामा  १०÷१० र सुनापति गाउ पालिका ९ वटा मतदान स्थल निर्धारण गरिएको निर्वाचन अधिकृत लोक बहादुर थापाले जानकारी दिए । हाल कायम गरिएका मतदान स्थलहरुमा केहीमा पुरानै र कतै संख्याका आधारमा नयाँ स्थल थप गर्नु परेको अधिकृत थापाले बताए । कतिपयमा नाम समेत परिवर्तन गरिएको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

भोट माग्न राजनैतिक दल गाउँमा

निर्वाचनका लागि शहर देखि गाउ सम्मका कार्यकर्ता भेटघाट कार्यक्रम लिएर जिल्लाका अधिकांश दलहरु गाउ पसेका छन । चुनाबको आधिकारिक मिति घोषणा आइसकेको अवस्था चुनावी लक्षित गरी राजनैतिक दलहरुले विबिध चुनावी अभियानलाई तीव्रता समेत दिन थालेका छन्।

जिल्लामा ठूला मानिने राजनैतिक दलहरु मध्ये एमाले र माओवादी केन्द्रले केही समय अघि देखि नै अभियान संचालन गरेको भएता पनि नेपाली कांग्रेसले भने बुधबारबाट चुनवी अभियान लिएर गाउ पसेको छ । एमाले र माओवादी केन्द्रको चुनाबी अभियान केही अघि बढेको भएता पनि कांग्रेसले भने पूर्व कृषि सहायक मन्त्री रामहरी तथा कांग्रेसका निष्ठावान अग्रज नेता रामहरी ढूंगेलको निधन पश्चात शोकमा रहेकाले ढुंगेलको ते¥हौ पुण्यतिथिको अवसरमा मंगलबार पकरबासमा श्रद्धान्जली सभा गरी चुनावी अभियानमा लागेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले जिल्ला २ नगरपालिका सहित ६ वटै गाउ पालिकामा कार्यकर्ता भेटघाट गरी आगामी चुनावी लक्षित गरी रणनैतिक योजना बनाउने उद्धेश्यका साथ समितिका सबै पदाधिकारीलाई जिम्मेवारी प्रदान गरि परिचालन गरिएको कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जानकारी दिए । अभियान अन्तरगत जिल्लाका ८ वटै स्थानिय निकायहरुको वडा तहमा भेला तथा छलफल कार्यक्र संचालन हुने काँग्रेस रामेछापले जनाएको छ । पार्टीको अभियानका लागि कांग्रेसको भातृ संस्थाहरुले पनि जिम्मेवारी दिएर चुनावी अभियान परिचालन गरेको छ ।
  

केही अघि देखि नै चुनावी अभियान चलाइ सकेको एमालेले भने राज्य पुनसंरचनाको आधारमा स्थानिय निकायहरुमा अधिकांशमा आधिकारिक सांगठनिक संरचना बनाइ ति संरचनाहरुलाई जिम्मेवारी र निर्देशन प्रदान गरिएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए । कार्य विभाजन सहित विभिन्न समिति बनाइ सकिएको र अझै चैत्र भरी सांगठनिक कार्य सम्पन्न गरेर मात्र उमेदवारका विषयमा बहस चलाउने तयारी रहेको श्रेष्ठले बताए । उता माओवादी केन्द्र पनि जिल्लामा वडाध्यक्षको पहिलो उमेदवार चयन गर्ने पार्टीका रुपमा देखा परेर स्थानिय तहमा पुग्ने अभियानमा जुटेको छ । माओवादी केन्द्रले मन्थली नगरपालिका वडा नं १ मा नारायणदाश श्रेष्ठलाई वडाध्यक्षको उमेदवार बनाइ आधिकारिक घोषणा समेत गरि सकेको छ । उसले अन्य उमेदवारको भने अझै टुंगो लगाएको छैन ।

जिल्ला स्थित राजनैतिक दलका प्रमुख र टिकट वितरणको जिम्मेवारी पाउने तहका व्यक्तिहरु उमेदवारको चयनका लागि जोड घटाउमा लागेका छन भने कतिपय उमेदवार दावी गर्नेहरु टिकट लिनका लागि दौडधुप समेत गर्न थालेका छन । पार्टी पार्टीहरु पनि कसले कसलाई टिकट दिन्छ र आफ्नो बाट कसलाई टिकट दिने भन्ने गृह कार्यमा समेत लाग्न थालेका छन । दलहरुको यस्तो चालबाजीका कारण चुनावी प्रतिस्पर्धा ठुलै हुने आँकलन गरिएको छ।

जिल्लाका अन्य केहि साना मानिएको दलहरुमा भने चुनावी रौन अझै बढन सकेको छैन ।

प्रकाशित: १७ चैत्र २०७३ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App