२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चीन भ्रमणको उपलब्धिमूलक भएको दाबी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। साताव्यापी चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै मधेसवादी दलसमेतको सहभागितामा स्थानीय निर्वाचन हुने बताएका हुन्।

'निर्वाचन निर्धारित समयमै हुन्छ,' प्रधानमन्त्री दाहालले भने, 'मलाई विश्वास छ उहाँहरू (मधेसवादी दल) पनि निर्वाचनमा आउनुहुन्छ। उहाँहरूसमेतको सहभागितमा निर्वाचन सम्पन्न हुन्छ।'

चीन भ्रमणमा निस्कनुअघि मधेसवादी दलहरूसँग एउट सहमति गर्ने चाहना हुँदाहुँदै समय अभावका कारण त्यो हुन नसकेको उनले बताए। तर समस्या समाधानका लागि बनाइएको कार्यदललाई  चीन भ्रमणबाट फर्कने बेलासम्म सबै कागजात तयार गरिसक्न आफूले भनेको पनि उनले जनाए। 'म चीन भ्रमणबाट फर्केपछि एकपटक बैठक बसेर टुंग्याउनुपर्छ भनेर गएको थिएँ,' उनले स्मरण गरे।

दाहालले निर्वाचन हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे। 'समयमै निर्वाचन हुन्छ त' भनेर सोधिने प्रश्नले जनतामा भ्रम सिर्जना गर्ने जनाउँदै उनले यस्ता प्रश्न त्यागिदिनसमेत पत्रकारलाई आग्रह गरे।

'निर्वाचन हुन्छ भनेर प्रश्न सोध्नु नै बेठिक छ। यो प्रश्न सोध्ने समय गइसक्यो। हामी धेरै अगाडि बढिसक्यौं। निर्वाचन तयारी धेरै पर पुगिसक्यो। अब पनि फेरि निर्वाचन हन्छ? भन्नुचाहिँ जनतामा भ्रम सिर्जना गर्नु मात्र हुन्छ। पत्रकार साथीसँग मेरो अनुरोध– यो प्रश्नलाई यहींबाट अन्त्य गरौं,' प्रधानमन्त्री दाहालले भने।

ओबिओआरमा नेपाल सहभागी हुने

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा चीनको 'वान बेल्ट वान रोड' (ओबिआर) अभियानमा नेपाल सहभागी हुने प्रतिबद्धता आफूले जनाएको बताए। यो अभियानबाट नेपाललाई रेलमार्ग, सडक, ऊर्जा, सीमा वारपार विद्युतीय प्रसारण लाइन, औद्योगिक पार्कलगायत महŒवपूर्ण पूर्वाधारहरूको निर्माण तथा स्तरोन्नति गर्न, भूकम्पपछिको पुनःनिर्माणमा सहयोग, जनस्तर सम्बन्धलाई थप प्रगाढ बनाउने जस्ता क्षेत्रमा लाभान्वित हुने उनले बताए। 'ओबिओआर विषयको समझदारीपत्रलाई छिट्टै अन्तिम रूप दिइनेछ', प्रधानमन्त्री दाहालले भने।

दुवै देशको आर्थिक विकासका लागि रेलमार्ग निर्माणले महŒवपूर्ण भूमिका निर्वाह गर्ने कुरालाई आफूले चिनियाँ नेतृत्वसँग प्राथमिकता साथ उठाएको उनले जनाए। आफ्नो चीन भ्रमणको उपलब्धि उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, 'नेपाल र चीनबीच विगतमा भएका सहमति तथा समझदारीलाई तीव्रतासाथ कार्यान्वयन गर्ने, सीमा वारपार आर्थिक क्षेत्र विकास, ऊर्जा सहयोग संयन्त्र स्थापना, रसुवागढी–स्याफ्रुबेसी सडक स्तरोन्नति गर्नेलगायत समझदारीपत्रलाई अन्तिम रूप दिई हस्ताक्षर गर्न दुवै देशका सम्बन्धित निकायलाई निर्देशन दिने समझदारी भएको छ।'

भ्रमणका बेला पारवहन तथा यातायात सम्झौताको प्रोटोकल तयार गरी शीघ्र हस्ताक्षर गर्न, तातोपानी नाका पुनःसञ्चालनमा ल्याउन, रसुवागढी नाका स्तरोन्नति गर्न, बढ्दो व्यापार घाटा कम गर्न चीनले विशेष सहुलियत प्रदान गर्नेलगायत विषय उठान गरेको पनि उनले बताए।

चीनसँग सम्बन्ध सुदृढ

प्रधानमन्त्री दाहालले साताव्यापी भ्रमणले चीनसँगको सम्बन्ध थप सुदृढ बनेको बताए। भ्रमण फलदायी बताउँदै उनले चीनसँग सहकार्य बढाउने आधारशिला तयार भएको दाबी गरे। 'चीन भ्रमणमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको छ,' प्रधानमन्त्री दाहालले भने, 'यसबाट आगामी दिनमा नेपाल चीन सम्बन्धले नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास लिएको छु। भ्रमणबाट आगामी दिनमा भौतिक पूर्वाधार, निर्माण, लगानी, ऊर्जा, पर्यटन जस्ता विषयमा थप सहयोग तथा सहकार्य बढाउने आधारशिला तयार भएको छ।'

चीन भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धका समग्र विषयमा उच्च राजनीतिस्तरमा छलफल गरी नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने र देश विकासका लागि आवश्यक सहयोग र समर्थन जुटाउनु रहेको उनले स्पष्ट पारे। यसमा आफू सफल भएको उनको दाबी छ। 'चिनियाँ राष्ट्रपतिसँगको छलफलमा दुवै देशका विद्यमान अवसर र सम्भावनालाई भरपूर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा महŒवपूर्ण समझदारी भएको छ,' उनले भने।

मर्यादाक्रम विवाद

चीन भ्रमणबाट प्रधानमन्त्री दाहाल फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्न पुगेका सरकारका उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद स्पष्ट देखियो। स्वागत गर्नेको लर्कोमा सबैभन्दा सुरुमा सभामुख ओनसरी घर्ती, त्यसपछि क्रमशः उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा उभिएका थिए। त्यसको केहीछिनपछि निधिले महरालाई थापासँग राखेर आफू उनी रहेको ठाउँमा उभिएका थिए। उपप्रधानमन्त्रीहरूबीच मर्यादाक्रम विवाद नमिल्दा चीन भ्रमणमा जाँदा प्रधानमन्त्री दाहालले कार्यवाहक प्रधानमन्त्री नतोकी गएका थिए। निधि प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएनन्।

प्रकाशित: १७ चैत्र २०७३ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App