६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'सेफ ल्यान्डिङ' खोज्दै मधेसी दल

काठमाडौं- स्थानीय चुनावको वातावरण बन्दै गएपछि  मधेसवादी दलहरूलाई पनि चुनावमा जान दवाव बढेको छ। चुनाव बहिस्कार गर्ने घोषणा गर्दै आएका ती दलहरुले यतिखेर 'सेफ ल्यान्डिङ' खोज्दै चुनावको आन्तरिक तयारी सुरु गरेका छन्।

मधेसी मोर्चाका नेताहरूले अहिले आन्दोलनभन्दा पनि सरकारसँगको वार्तालाई पहिलो प्राथमिकतामा राखेका छन्। आगामी चैत १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं फर्केको भोलिपल्ट प्रधानमन्त्रीसँग निर्णायक वार्ता हुने मोर्चाका नेताहरू बताउँछन्। 'प्रधानमन्त्रीले चीनबाट फर्केको भोलिपल्टै सहमति गर्छु भन्नुभएको छ। अब उहाँसँग हाम्रो निर्णायक कुराकानी हुन्छ', नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, 'हामीले चुनावमा जान संविधान संशोधन हुनुपर्छ भनी अडान राखेका छौं। संशोधन भएमा चुनावमा जान बाटो खुल्छ।'

मोर्चाका नेताहरूले सीमांकन थाती राखेर संविधान संशोधन भएमा त्यसलाई पनि स्वीकार गर्ने पक्षमा  छन्। सीमांकनलाई थाती राखेमा संविधानको धारा २७४ मा संशोधन हुनुपर्ने उनीहरूको सर्त छ। सीमांकन थाती राखेर अन्य तीन विषयमा संविधान संशोधन गर्न प्रधानमन्त्री दाहालले नै प्रस्ताव राखेको मोर्चाका नेताहरूले बताएका छन्। 'सीमांकनलाई रोकेर अन्य तीन विषयमा संविधान संशोधन गर्छु भनी प्रधानमन्त्रीले नै भन्नुभएको हो। हामीले त्यसो भए एउटा विकल्प दिनुहोस् भनेका हौं', झाले भने।

मधेसी मोर्चाको प्रभाव रहेको दुई नम्बर प्रदेशमा मोर्चाका नेताहरूले म्यादी प्रहरीमा भर्ना हुन मधेसी युवालाई रोक्न सकेनन्। उनीहरूले घोषणा गरेको आन्दोलनको कार्यक्रम पनि नरम प्रकृतिका छन्। आगामी वैशाख १ गतेपछि मात्र कडा प्रकृतिको आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाका नेताहरूले बताएका छन्।

आइतबार सप्तरीमा भएको कार्यक्रमपछि मधेसी मोर्चासँग आबद्ध सातवटै मधेसवादी दलका नेताहरूले मधेसमै रहेर आन्तरिक छलफल सुरु गरेका छन्। फोरम गणतान्त्रिकले सोमबार वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ भने अन्य दलका शीर्ष नेताहरूले अनौपचारिक बैठक सुरु गरेका छन्।

मधेसी मोर्चासँग आबद्ध केही साना दलले सकेसम्म चुनावअघि नै पार्टी एकीकरण गर्ने, त्यो नभए पनि मोर्चाबन्दी गरेर चुनावमा जाने तयारी गरेका छन्। शरतसिहं भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादवले नेतृत्व गरेको तराइ मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकबीच एकीकरणका लागि प्रारम्भिक चरणमा कुराकानी भइरहेको रामसपाका महासचिव केशव झाले बताए। फोरम गणतान्त्रिकको बैठक पनि पार्टी एकीकरणका विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

साना मधेसवादी दलको मोर्चाबन्दी चुनावको तयारीका लागि भएको मोर्चाका नेताहरूले बताएका छन्। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले चुनावअघि नै मधेसी मोर्चासँग बाहिर रहेको केही साना जनजाति पार्टीहरुरूसँग एकीकरण गर्न कुराकानी अघि बढाएका छन्।

यसैगरी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपा अध्यक्ष महन्थ ठाकुरले अन्य पार्टीका कार्यकर्ताहरू आफ्नो पार्टीमा तान्न दौडधुप सुरु गरेका छन्। गत चैत ३ गते सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वीरगन्जमा एउटा कार्यक्रम गरी फोरम नेपालका तीन जना केन्द्रीय नेताहरूलाई पार्टीमा भित्र्याए।

सद्भावना पार्टीले आगामी जेठमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्यक्रम स्थगित गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ। संगठन विस्तार अभियानलाई फोरम नेपाल र तमलोपाले पनि तीव्र पारेका छन्। पार्टीका केन्द्रीय नेताहरूलाई जिल्लाजिल्लामा जान मधेसी मोर्चासँग आबद्ध दलका नेताहरूले आफ्ना कार्यकर्तालाई  निर्देशन दिएका छन्। मधेसी मोर्चाले चुनाव बहिष्कार गरेमा मोर्चाका स्थानीय कार्यकर्ताहरू कांग्रेस, एमाले माओवादीमा प्रवेश गरी उम्मेदवार हुन सक्ने आकलन मोर्चाका नेताहरूले गरेका छन्।

मधेसी मोर्चासँग आबद्ध नरहेको फोरम लोकतान्त्रिकले पनि चुनाव केन्द्रित बैठक सुरु गरेको छ। फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको बैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले  बैठकमा चुनावको तयारीबारे छलफल भइरहेको जानकारी दिए। फोरम लोकतान्त्रिकका सांसद पवनकुमार सारडाले पनि चुनावमा जान पार्टीले आन्तरिक तयारी सुरु गरेको बताए। 'हामीले उठाएका मुद्दा सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छांै। मुद्दा सम्बोधन भएमा चुनावमा जाने गरी तयारी पनि अघि बढाएका छौं', सांसद सारडाले भने।

प्रकाशित: १५ चैत्र २०७३ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App