१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

गौतमको मृत्यु एसएसबीको गोलीबाट : गृहमन्त्री

पुनर्वास (कञ्चनपुर)- गृहमन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्। सहिद गौतमका बुवा ७२ वर्षीय खिमलाल गौतम, आमा हरिदेवी गौतम र पत्नी सुशीला गौतमलाई दोसल्ला ओढाएर उनले सम्मानसमेत गरे।

मन्त्री निधिसँगै भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक, कृषिमन्त्री गौरीशंकर थारू पनि सहभागी थिए। सहिदका बुवा खिमलालको अध्यक्षतामा राहत र सम्मान कार्यक्रम सञ्चालन गरिएको थियो। गृहमन्त्री निधिले सहिद गौतमकी पत्नीलाई सरकारले रोजगार उपलब्ध गराउने बताए। रोजगार दिलाउन सरकारले स्थानीय मन्त्रालयलाई निर्देशन दिइसकेको उनको भनाइ छ। यसैगरी तीन छोरीलाई सरकारले शिक्षा प्रदान गर्ने भएको छ।

गृहमन्त्री निधिले गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर मृत्यु भएको प्रमाणित भएको बताएका छन्। पोस्टमार्टम र फोरेन्सिक रिपोर्टअनुसार भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रमाणित भएको उनको भनाइ छ। उनले भने, '५.५६ मिलिमिटर क्यालिभर भएको गोविन्द गौतमलाई लागेको गोली नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयोग गर्दैनन्। त्यस्तो स्तरीय हतियारबाट हानिएको गोली लागेर गौतमको मृत्यु भएको छ।' प्रयोगशालाबाट भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको पुष्टि जानकारी गृहमन्त्री निधिले बताए। पोस्टमार्टम र फोरेन्सिक जाँचको रिपोर्ट भारतलाई पठाइसकेको उनले बताए। दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहलाई रिपोर्टका बारेमा जानकारी गराउँदै भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको कुरा राखेको उनले बताए। 'हाम्रा सुरक्षाकर्मीसँग नभएको र भारतीय सुरक्षाकर्मीसँग रहेको हतियारको गोलीले मृत्यु भएको छ भन्दा उनीहरूको बोली बन्द भो', उनले भने, 'प्रधानमन्त्री मोदीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छु भनेका छन्।'

गृहमन्त्री निधिले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामा सरकार कसैसँग सम्झौता नगर्ने उनले बताए। सीमा विवादलाई दुई देशका संयुक्त टोलीले सर्भे गरेर समाधान खोज्न तीन वर्षदेखि तीन टोलीले काम गरिरहेको उनले बताए। कालापानी र सुस्ताबाहेक अन्य सीमाको कागजमा भइसकेको र सीमामा छुट्ट्याउन मात्र बाँकी रहेको उनले बताए।

स्थानीय बासिन्दाले गृहमन्त्री निधिलाई सीमा विवाद समाधान गरेर स्तम्भ राखिनुपर्ने, आनन्द बजारमा सशस्त्र प्रहरी क्याम्प राख्नुपर्ने, वैध नाका सञ्चालन हुनुपर्ने, भारतले माफी माग्नुपर्ने, सहिद परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने, घाइतेको उपचार गराउनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएका छन्।

गृहमन्त्री निधिसहितको टोलीले नेपाल पक्षबाट बनाइएको कच्ची कल्भर्ट, भारतीय सुरक्षाकर्मीले गोविन्द गौतमलाई गोली हानेको स्थलको पनि निरीक्षण गर्‍यो।

पुनर्वास नगरपालिका ८ आनन्दबजार नजिक सीमामा नेपाली पक्षले बनाएको कच्ची कल्भर्ट एसएसबीले भत्काएपछि प्रतिकारमा उत्रिँदा भारतीय प्रहरीले हानेको गोली लागेर गत फागुन २६ गते गौविन्द गौतम मारिएका थिए।

प्रकाशित: १३ चैत्र २०७३ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App