४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहमा तालाबन्दी

राजविराज- सरकारले घोषणा गरेको स्थानीय तह चुनाव मिति नजिकिँदै गर्दा सप्तरीमा मधेसी मोर्चाको विरोध पनि चर्कंदै गएको छ। मोर्चाको विरोधका कारण चुनाव तयारी प्रभावित भएको छ। विरोधकै क्रममा मोर्चाले सप्तरीका सबै गाउँ/नगरपालिका कार्यालयमा ताला लगाइदिएको छ।

 संशोधनबाट संविधानलाई सर्वमान्य नबनाई गराइने चुनावको औचित्य नरहेको भन्दै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा विरोधमा उत्रिएको छ। मोर्चाले चुनाव तयारी र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनतर्फ नलाग्न स्थानीय प्रशासनलाई औपचारीक रुपमा आग्रह गरिसकेको छ।

मोर्चाकै विरोधका कारण जिल्ला निर्वाचन कार्यालय सप्तरीको पहलमा आइतबार सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको निवासमै आयोजित बुथ निर्धारणसम्बन्धी बैठक स्थगित गरिएको छ।

 प्रारम्भको आधा घन्टापछि नै उक्त बैठक स्थगित भएको सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टी सप्तरीका अध्यक्ष शतिसकुमार सिंहले जानकारी गराए। 'हामी चुनावको पक्षमा छैनौ, चुनावको विपक्षमा हामी सक्दो शक्तिको प्रयोग गर्छौं,  राजनीतिक समस्याको समाधान नगरी हुन लागेको चुनावको कुनै औचित्य छैन', सिंहले भने, 'बैठक सुरु हुनेबित्तिकै हामीले स्थगित गर्न आग्रह गर्‍यौं र त्यही भयो।'

 बैठकमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका अध्यक्ष/प्रतिनिधिलाई बोलाइए पनि कांग्रेस र एमाले भने उपस्थित भएन्। मोर्चा सम्मलित दलबाहेक माओवादी केन्द्र, राप्रपालगायत दलका प्रतिनिधि उपस्थित भए पनि उनीहरूले समेत आफूहरूको अजेन्डामा सहमति जनाएको मोर्चाका नेताको  दाबी छ। 

 बैठकमा सहभागी मोर्चाका नेताले निर्णाय पुस्तिकामा हस्ताक्षर नरेको मोर्चा सप्तरी संयोजक दिनेशकुमार यादवले जानकारी गराए। उनले आफूहरू कुनै पनि हालतमा बैठक हुन नदिने सोचकै साथ उपस्थित भए पनि अन्य राजनीतिक दलसमेतले मोर्चाको मागप्रति सहमति जनाएको बताए। उनले भने, 'कांग्रेस र एमाले प्रतिनिधि बैठकमा उपस्थित हुनुभएन, बाँकी सबैजसो दलका प्रतिनिधि बैठक नगर्नेमा सहमत हुनुभयो।'

माओवादी केन्द्र सप्तरीका असर्र्फी सदाले सहमति जुटन नसकेकाले बैठक स्थगित गरिएको बताए। उनले भने, 'मतदान केन्द्र निर्धारणसम्बन्धी बैठक थियो तर उपस्थित राजनीतिक दलका प्रतिनिधिबीच सहमति नै हुन सकेन, बैठक स्थगित गरियो।'

 सप्तरीका प्रजिअ कटुवालले राजनीतिक दलबीच सहमति जुट्न नसकेकाले बैठक स्थगित भएको जानकारी गराए। मोर्चाको विरोधका कारण चुनावको तयारी चुनौतीपूर्ण बन्न गएको उनले बताए। 'मतदान केन्द्र निर्धारण भएपछि हामीले अन्य व्यवस्था मिलाउने हो', कटुवालले भने, 'आज (आइतबार) को बैठक स्थगित भए पनि हामीले प्रयास भने जारी राखेको छौं।' अर्को बैठक कहिले राख्ने तय  नभइसकेको उनले बताए।

 यसैबीच मोर्चाका नेता–कार्यकर्ताले सप्तरीस्थित सबै गाउँपालिका र नगरपालिका कार्यालयमा आइतबार बिहान ताला लगाइदिएको छ।

मोर्चा सप्तरी संयोजक यादवका अनुसार कञ्चनरुप, बोदेवर्साइन, डाक्नेश्वरी, खडग, शम्भुनाथ, सुरुंगा र हनुमाननगर कंकालिनी नगरपालिकामा ताला लगाइएको छ। तालाबन्दी गर्न पुगेका मोर्चा नेता–कार्यकर्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको बोर्डसमेत तोडफोड गर्दै आगजनी गरेका छन्।

यसैगरी कृष्णसवरण, महदेवा, छिन्नमस्ता, सप्तकोसी, तिरहुत, तिलाठी–कोइलाडी, रुपनी, बेल्ही चेपना र विष्णुपुर गाउँपालिकामा पनि तालाबन्दी गरिएको जानकारी यादवले दिए। यसअघि बिहीबार मोर्चाका कार्यकर्ताले जिल्ला समन्वय समिति लेखिएको बोर्ड मेटाएर जिल्ला विकास समिति नै कायम गरेका थिए। मोर्चाले सोही दिन स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलको कार्यकक्ष र प्रशासन शाखामा ताला लगाएको थियो। राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्ष र प्रशासन फाँटमा पनि मोर्चाले सोही दिन ताला लगाइदिएको थियो।

रौतहटमा पनि स्थानीय तह निर्वाचन मतदान केन्द्र निर्धारणसम्बन्धी बैठक मधेसी मोर्चाको अवरोधका कारण   स्थगित भएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटमा बैठक डाकिएको थियो।

मोर्चाले निर्वाचन बहिष्कार गरिरहेको भन्दै रौतहटमा कुनै पनि कार्य हुन नदिने अडान राखेपछि मतदान केन्द्र निर्धारणसम्बन्धी बैठक स्थगित भएको जानकारी निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी दिए।

प्रकाशित: ७ चैत्र २०७३ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App