२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगियाे

तस्बिर: प्रसन गरुङ/नागरिक

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि फरार भएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ।

काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो।

रायमाझी बुढानीलकण्ठ पासीकोटस्थित नारायण पौडेलको निवासबाट पक्राउ परेका हुन्। 

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष ब्युरोको टोलीले बुढानीलकण्ठस्थित पौडेलको घरमा लुकेर बसेको अवस्थामा रायमाझीलाई पक्राउ गरेको जानकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए। रायमाझी शनिबार काठमाडौं आएको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र पारेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले रायमाझीलाई पक्राउ गर्न यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।  

पक्राउ पुर्जी जारी हुँदाको दिन रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए। सोही दिन अर्घाखाँचीबाट सभामुख घिमिरेसँगै बुटवल झरेका रायमाझी गौतम बुद्ध विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम थियो। तर उनी काठमाडौं आएनन्।

विमानस्थलबाटै पक्राउ पर्ने डरले टिकट रद्द गरी उनी फरार भएका थिए। सुरुमा रायमाझीले नेपाल प्रहरीका उच्च अधिकारीसँग सम्पर्क गरी काठमाडौंमा हाजिर हुने आश्वासन दिएका थिए। तर उनी प्रहरीको सम्पर्कमा आउनुको साटो फरार भएका थिए। रायमाझीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो। 

रायमाझीको खोजीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीसमेत परिचालन गरिएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौं आएका थिए। रायमाझीले नै यो प्रकरणमा गिरोहका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीसँग मिलेर ‘राजनीतिक निर्णय’ गराउन भूमिका निर्वाह गरेको आरोप छ।

प्रकाशित: १ जेष्ठ २०८० ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App